Comments Add Comment

हानले होटेलहरुलाई भन्यो : मापदण्ड अनिवार्य पालना गर

१३ माघ, काठमाडौं । होटेल संघ नेपाल (हान)ले आफ्ना सदस्य होटेल तथा रिसोर्टलाई सरकारले तोकेको मापदण्ड अनिवार्य र पूर्णपालना गर्न आग्रह गरेको छ ।

दामनस्थित एभरेष्ट पानोरमा होटेलमा ८ जना भारतीय पर्यटकको निधनप्रति चासो राख्दै हानले मापदण्ड अनिवार्य पालना गर्न सबै होटेल तथा रिसोर्टलाई आग्रह गरेको हो । पर्यटकको ज्यान गएको एक सातापछि मात्र हानले चासो देखाएको हो ।

हानले राजपत्रमा प्रकाशित पाँच तारे डिलक्स होटलदेखि होमस्टेहरुको वर्गीकरण र मापदण्ड निर्धारणको पूर्ण रुपमा परिपालना गरी पाहुनाहरुको सुरक्षा सम्बन्धी सम्पूर्ण संयन्त्र अपनाउन सबै सदस्य होटेल तथा रिसोर्टलाई अनुरोध गरेको हो ।

मकवानपुरको थाहा नगरपालिका ४, सिमभञ्ज्याङ, दामनमा अवस्थित एभरेष्ट पानोरमा रिसोर्ट हानको सक्रिय सदस्य रिसोर्ट हो । यो रिसोर्टमा बास बसेका ८ जना भारतीय पर्यटकको २०७६ साल माघ ७ गते कोठामा सुतिरहेकै अवस्था निधन भएको थियो  । एसी नभएका कारण चिसोले  हिटर बालेरै सुत्नुपर्ने बाध्यताकाबीच कोठामा झ्याल ढोका नखोली सुत्दा पर्यटकले ज्यान गुमाएका थिए ।

के छ मापदण्ड ?

सरकारले गत पुसमा सबै होटेल, रिसोर्ट तथा लजका लागि नयाँ मापदण्ड ल्याएको छ । एकतारे होटेलदेखि पाँचतारे डिलक्ससम्मका होटेल, पर्यटकीय लज, रिसोर्ट र बुटिक होटेलका लागि समेत मापदण्ड तोकिएको छ ।

खासगरी होटेलका कोठाको सन्दर्भमा सबै क्षेत्रमा पर्याप्त व्यवस्था भएको र आवश्यकता अनुसार विद्यूत आपूर्ति एवमः वैकल्पिक व्यवस्था भएको हुनुपर्छ । एकतारे देखि पाँचतारे होटेलमा सुत्ने कोठा, सभा हलमा सेन्ट्रल वा स्पलीट एयर कन्डिसन वा वातावरण अनुकूलनको व्यवस्था र स्वच्छ हावा प्रवाहको व्यवस्था भएको हुनुपर्छ ।

यो सबै तहका होटेलमा अनिवार्य गरिएको छ । सबै तहका होटेलमा एट्याच्ड बाथरुमको व्यवस्था हुनुपर्ने छ । हेरिटेज र बुटिक होटेलमा समेत सोही मापदण्ड लागु हुने भएको छ । साधारणदेखि लक्जरी रिसोर्ट सबैले सुत्ने कोठा र सभा हलमा एयर कन्डिसन अनिवार्य जडान गरेको हुनुपर्छ ।

देशको प्रचलित स्वास्थ्य सम्बन्धी नियमको पालना भएको प्रमाणपत्र प्राप्त हुनुपर्ने मापदण्ड तोकिएको छ । रिसोर्टहरुमा २४ सै घण्टा रुम सर्भिस उपलब्ध हुनुपर्छ ।

सबै प्रकारका होटेल, लज तथा रिर्सोटमा आधारभूत औषधी तथा प्राथमिक उपचारको व्यवस्था हुनुपर्छ । खासगरी अत्याधुनिक रिसोर्टहरुले सम्भव भएसम्म रिसोर्ट भित्रै २४ सै घण्टा चिकित्सकद्धारा स्वास्थ्य परिक्षण गर्न सकिने व्यवस्था मिलाउनुपर्छ ।

साधारण स्तरका होटेल, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेक फास्टले समेत मौसम अनुकूल हुने गरी गरी सुत्ने कोठाको व्यवस्था गर्नुपर्छ ।

सुत्ने कोठा, रेष्टुरेन्ट तथा लबीमा एयर कन्डिसन वा हिटर र पङ्खाको व्यवस्था गर्नुपर्ने गरी मापदण्ड तोकिएको छ । बेड सफा र आरामदायी हुनुपर्छ ।

पर्यटन विभागका अनुसार नयाँ मापदण्ड आइसकेपछि अब होटेल, रिसोर्ट तथा सबै प्रकारका आतिथ्य सेवा दिने कम्पनीले अनिवार्य मापदण्ड पुरा गर्नुपर्छ ।

मापदण्ड आउनुअगाडी नै खुलेका होटेल तथा रिसोर्टले यी मापदण्ड पुरा नगरेको भए ६ महिना भित्र अनिवार्य रुपमा पुरा गर्नुपर्ने पर्यटन विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment