Comments Add Comment

बन्चरेडाँडालाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएका छन् : राज्यमन्त्री मानन्धर

१४ माघ, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधीन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइटलाई मेलम्ची बनाउन खोज्नेहरु सल्बलाएको टिप्पणी गरेका छन् ।

नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडामा निर्माण कार्य रोकिएपछि सोमबार अनुगमन गर्न पुगेका उनले राज्यको लगानीमाथि खेलवाड गर्नेहरुलाई कारबाही गरिछाड्ने बताएका छन् ।

यो आयोजना तोकिएकै समयमा सक्नुको विकल्प नभएको बताउँदै मन्त्री मानन्धरले आयोजनालाई दुहुनो गाई बनाउन खोज्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छ ।

‘मेलम्ची खानेपानी आयोजना सकिन कति वर्ष लाग्यो ? यस अघि दर्जनौं सरकार आए, तर कम्युनिस्ट सरकारहरु नै जनताप्रति उत्तरदायी भएर काम गरेको इतिहास छ, मन्त्री मानन्धरले भने, ‘वञ्चरेडाँडालाई पनि मेलम्चीकै हालतमा पुर्‍याउन खोज्नेहरु सलबलाइरहेका छन् । अब मेलम्चीको पानी काठमाडौंमा आउन रोक्नेहरुको र बन्चरेमा फोहर व्यवस्थापनमा अवरोध गरेर उपत्यकालाई सर्वसम्पन्न सहर निर्माण हुन नदिनेहरुको दिन सकिए ।’

मन्त्रीसहितको टोली पुग्दा निर्माण स्थलमा क्रसर उद्योगले गिटी, बालुवा र ढुंगा पैठारी गरिरहेको पाइएको छ । ल्याण्डफिल्ड साइट निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागको हेलचेक्र्याईंका कारण निर्माणस्थलमा अवरोध आएको स्थानीयले आरोप लगाएका छन् ।

आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ रहेको छ । आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्ड साइट निर्माणको लागि सरकारले स्थानीयको १७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment