Comments Add Comment

प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड फेब्रुअरी १४ बाट हुने

१४ माघ, काठमाडौं । प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड आगामी फेब्रुअरी १४, १५ र १६ गते उल्लिएन्स स्कूल, ललितपुरमा आयोजना हुने भएको छ । योङ्ग इकोनोमिस्ट सोसाइटी नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

ओलम्पियाडको लागि ७ वटै प्रदेशका आठ स्थानमा क्षेत्रीय छनोट हुनेछ । उपत्यकाको क्षेत्रीय छनोट फेब्रुअरी १ मा किङ्ग्स कलेज बिजुलीबजारमा हुनेछ । क्षेत्रीय छनोटबाट छानिएका ६० जना विद्यार्थीले ओलम्पियाडमा भाग लिन पाउनेछन् ।

कार्यक्रममा अर्थशास्त्र र बिजनेस एनलाइसेसमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसका साथै उत्कृष्ट ५ जनाले काजकिस्तानमा जुलाईमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा भाग लिने अवसरसमेत प्राप्त गर्नेछन् । विश्वभरबाट छनोट भइ आउने प्रतिस्पर्धीबीच उक्त प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

‘प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड’ अर्थशास्त्र र वित्तीय बिषयमा रुचि राख्ने विद्याथीको लागि महत्वपूर्ण अवसर भएको आयोजकको दावी छ । नेपालले अघिल्लो वर्ष रसियामा भएको कार्यक्रममा पनि सहभागीता जनाएको थियो । उक्त प्रतियोगितामा नेपालकी दीपशिखा श्रेष्ठले रजत पदक जितेकी थिइन् ।

आयोजक योङ्ग इकोनोमिस्ट सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन सापकोटाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । नेपालमा ११, १२ मा पढ्ने विद्यार्थीको लागि आफ्नोे क्षमता प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाललाई चिनाउने अवसर भएको उनले बताए ।

सापकोटा भन्छन्, ‘हाम्रा विद्यार्थी निकै मिहिनेति र अनुशासित छन् । केवल अवसर र राज्यले सहयोग गरे निकै ठुलो सफलता हात पर्न सक्छ ।’

सापकोटा अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलिम्पियाडको कार्यकारी सदस्यसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment