
१५ माघ, हेटौंडा । मकवानपुर प्रहरीले गोली प्रहार गरी ३२ किलो गाँजासहित तस्करीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार राति साढे १२ बजेतिर हेटौंडा–११, थाना भर्याङमा भारतीय नम्बर प्लेटको बीआर ०६जी ४४५७ नम्बरको कारलाई रोक्न खोज्दा भैरबडाँडातर्फ भागेपछि प्रहरीले कारको टायरमा गोली हानी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
मकवानपुरको मनहरीबाट लागूऔषध गाँजा बोकेर आएको सो कारलाई हेटौंडा–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी र लेवर्ट प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरु भागेर आएका थिए । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले थाना भर्याङमा नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको मकवानपुर प्रहरी उपरिक्षक शुशील सिंह राठौरले बताए ।
राठौरका अनुसार तस्करीमा संलग्नहरुले एक महिलालाई बिरामी बनाएर कारको पछाडि सिटमा राखी एकजना बिरामी कुरुवा बनेर लागूऔषध गाँजा तस्करी गरिरहेका थिए ।
प्रहरीले कारको चालकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका अजयमल हवारी, सञ्जीव पासवान र जाहेरा खातुन रहेका छन् । कारबाट ३२ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर फर्कने क्रममा वडा प्रहरी कार्यालयको प्रहरी भ्यानलाई बसले ठक्कर दिँदा प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित पाँच जना प्रहरी घाइते भएका छन् ।
काँकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना. ५ ख ५५८२ नम्बरको बसले प्रहरी भ्यानलाई ठक्कर दिँदा प्रहरी निरीक्षक भण्डारीको टाउकोमा चोट लागेको छ भने अन्य प्रहरी सामान्य घाइते भएका छन् । यस्तै गाँजा तस्करीमा संलग्न खातुन समेत घाइती भएकी छन् ।
प्रतिक्रिया 4