
१५ माघ, बुटवल । साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएको भैरहवा-लुम्बिनी-तौलिहवा सडक समयमा काम नसकिँदा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष प्रभावित भएको छ । साथै संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० पनि प्रभावित हुने निश्चित छ ।
सडक निर्माणमा ढिलाइ र कामका क्रममा धुलो र हिलोले पर्यटकमा नकारात्मक असर परेको छ भने यात्रामा कठिनाइ भएको छ ।
प्रदेश सरकारले चार करोड खर्च गरेर भ्रमण वर्ष मनाए पनि लगानीको तुलनामा लुम्बिनी आउने पर्यटकको संख्या गत वर्षको तुलनामा खासै बढ्न सकेका छैनन् । त्यति मात्र होइन, सडक निर्माण समयमा नसकिँदा २३ करोड रुपैयाँ लागत भार थपिएको छ ।
पुरानो सडकलाई स्तरोन्नती गर्ने गरी २०७४ असार २५ मा सम्झौता भएको सडक निर्माणको लागत थप भएपछि सडक निर्माणको लागि दुई अर्ब १६ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।
आयोजनाको सुरुको लागत एक अर्ब ९३ करोड छ लाख ३६ हजार २२७ रुपैयाँ भए पनि दुई पटकको कामको अन्तरपछि लागत बढेर दुई अर्ब १६ करोड ८५ लाख पुगेको हो ।
निर्माण कम्पनीको माग, कन्सल्टेन्टको रिपोर्ट र आयोजनाको निरीक्षणमा २३ करोड ७८ लाख भेरिएसन रकम आयोजना निर्देशनालयको सिफारिसमा स्वीकृत गरी थपिएको हो ।
कूल लागत रकमकोे १२.३ प्रतिशत भेरिएसन भएको छ । सम्झौता अवधि यही पुस २७ मा सकिए पनि सडक निर्माण करिब ६० प्रतिशत मात्रै पूरा भएको छ ।
तौलिहवातर्फ केही किलोमिटर कालोपत्रे गरिए पनि बाँकी सडकमा निर्माण जारी छ । निर्माणाधीन अवस्थामा रहेका दुईवटा पुलसमेत अलपत्र अवस्थामा छन् । पुल निर्माणका लागि अहिले बल्ल संभाव्यता अध्ययन हुँदै छ ।
समयमा निर्माण नसकिएपछि भैरहवा-लुम्बिनी-तौलिहवा सडक आयोजनाले चार महिना म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर सागर पोखरेलका अनुसार कन्सल्टेन्टको प्रतिवेदनका आधारमा म्याद थपको प्रक्रिया अघि बढाइएको हो ।
राष्ट्रिय प्राथमिकतामा परेको यो आयोजनाको काम गावर कन्स्ट्रक्सन लिमिटेड गुणगाँव भारतले गरिरहेको छ । निर्माण कम्पनीले १५ महिनाको थप समय मागेकोमा आयोजनाले चार महिनाका लागि समय थप्ने प्रक्रिया अघि बढाएको हो ।
सडक निर्माणमा भएको ढिलासुस्तीले प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ र नेपाल सरकारकोे नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रत्यक्ष असर गरेकोे लुम्बिनी पर्साचोकस्थित ग्राण्ड कस्मो लुम्बिनी होटलका सञ्चालक अक्रम खानले बताए ।
समयमै नसकिनु र डिजाइनमा परिवर्तन भएकाले पनि सडक निर्माणको लागि २३ करोड भन्दा बढी थपिएको इन्जिनियर पोखरेलले बताए ।
निर्माण कम्पनीले अहिलेसम्म ४५ प्रतिशत भुक्तानी पाएको छ । पहिलो पटक कल्भर्ट र दुई लेन सडकको बजार क्षेत्रमा स्थानीयको मागअनुसार चार लेन बनाएकाले १६ करोड थप गरेको छ भने दोस्रो पटक दुर्घटना न्यूनीकरणका लागि नयाँ जक्सन डिजाइनसहितको संरचना र त्रुटिरहित डिजाइन परिवर्तन गरेकाले काममा भेरिएसन भएपछि सात करोड बढी थपेको हो ।
निर्माणाधीन सडकमा ८५.५ प्रतिशत एडीबीको ऋण लगानी छ भने बाँकी १५.५ प्रतिशत लगानी नेपाल सरकारले गरेको छ ।
आयोजनाका सूचना अधिकारी पोखरेलले गत वर्ष निर्माण कम्पनीले कच्चा पदार्थ नपाएको र रुपन्देहीमै एकै पटक ठुल्ठुला विकास निर्माणका काम भएकाले पनि निर्माणमा केही ढिलाइ भएको भन्दै अव भने त्यो समस्या नभएकाले ढिलाइ नहुने बताए ।
४१ किलोमिटर लामो यो सडक खण्ड अन्तर्गत भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्म ६ लेन, विमानस्थलदेखि लुम्बिनी पर्सा चौराहसम्म ४ लेन र त्यहाँबाट तौहिवासम्म दुई लेनको सडक बनाउने काम जारी छ ।
प्रतिक्रिया 4