Comments Add Comment

उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्न गृहकार्य

उपाध्यक्षको संख्या बढाएर ४ पुर्‍याउने तयारी

१५ माघ, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन गर्ने गृहकार्य शुरु भएको छ ।

कात्तिक महिना अघिसम्म निकै चर्चाको विषय बनेको महासंघको विधान संशोधनको विषय पुनः शुरु हुने भएको छ ।

विधान संशोधनको विषयलाई लिएर महासंघका ठूला नेताहरुको तीब्र आलोचना समेत भएको थियो जसका कारण त्यो प्रक्रिया नै स्थगित भएको थियो ।

त्यसबेला महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल नेतृत्वमा विधान संशोधनको तयारी शुरु गरिएको थियो । गत दशैंमा शुभकामना आदान-प्रदान भन्दै सो समूहले विधान संशोधनको वकालत गरेको थियो ।

जसमा हालका ३ जना उपाध्यक्षहरु चन्द्र ढकाल, उमेश श्रेष्ठ र किशोर प्रधान एकैकित्तामा उभिएका थिए । महासंघको आगामी चैत्र २९ गते चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा उपाध्यक्षमध्ये ढकाल र श्रेष्ठ एक कित्तामा उभिएका छन् भने अर्को कित्तामा प्रधान ।

यो पनि पढ्नुहोस उद्योग वाणिज्य महासंघको चुनाव : २ उपाध्यक्ष एकै कित्तामा

अहिले विधान संशोधन गर्ने तयारी भने ढकाल समूहले गरेको हो । विधान संशोधन भए पनि यसपाली भने आलोचना नहुने ढकाल समूह निकटका एक व्यवसायीले अनलाइनखबरलाई बताए ।

यसपाली भने विधान संशोधन गर्नुको मुख्य कारण उपाध्यक्षको संख्या बढाउनु भएको ती व्यवसायीले बताए । अहिले एशोसिएट, वस्तुगत र जिल्ला-नगरका तर्फबाट गरेर ३ जना उपाध्यक्ष रहेका छन् ।

यसलाई विधान संशोधन गरेर ४ पुर्‍याउने ढकाल समूहको तयारी छ । यसरी विधान संशोधन हुँदा अन्य समूहका व्यवसायीहरुले पनि कुनै विरोध नगर्ने ती व्यवसायीको दाबी छ ।

पहिले वरीष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था संशोधन गर्न खोजिएको भन्दै आलोचना भएको तर यसपाली भने त्यो विषयले प्रवेश नपाउने भएकाले आलोचना नहुने समेत उनले बताए ।

‘पहिले शेखर गोल्छालाई अध्यक्षबाट रोक्न यस्तो प्रपञ्च गरियो भनेर विरोध भएको हो, अहिले त्यो हुँदैन’ उनले भने, ‘जिल्ला नगरमा २ वटा उपाध्यक्ष आवश्यकता नै छ, यसमा सबैको सहमति हुनेछ ।’

आगामी चुनाव भन्दा अगाडि भने विधान संशोधन नहुने ती व्यवसायीले बताए । चुनावकै बेला अर्थात चैत्र २९ गते नै विधान संशोधन हुन सक्ने उनले बताए ।

‘यदि २९ गते संशोधन भए भइहाल्यो, नत्र केही समय पछि विशेष साधारण समाभा बोलाएर अन्य विषयहरु समेत समेटेर संशोधन हुन्छ ।’

महासंघमा ११० जिल्ला तथा नगर समितिहरु छन्, जसबाट एकजना उपाध्यक्ष छानिनु पर्नेछ । अन्य थप ४५ वटा जिल्लानगर संगठनहरु पनि महासंघमा आवद्ध हुँदैछन् । यसो हुँदा ठूलो संख्या हुने र २ जना उपाध्यक्ष चाहिने ढकाल समूहको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment