Comments Add Comment

प्राधिकरणलाई २६ करोड नतिरी फिर्ता भए २० विदेशी वायुसेवा कम्पनी

विकसित मुलुकका कम्पनी समेत वक्यौता नतिरी फर्किए

१६ माघ, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले करिब साढे २ सय कम्पनी, निकाय तथा एजेन्सीबाट २ अर्ब २१ करोड ४२ लाख ६१ हजार २ सय ८० रुपैयाँ वक्यौता उठाउन बाँकी छ । त्यसमध्ये २० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले २६ करोड रुपैयाँ वक्यौता राखी नेपाल उडान बन्द गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल उडान बन्द गरी फिर्ता भएका २० वायुसेवा कम्पनीका नाममा २६ करोड १५ लाख ९९ हजार ९ सय १ रुपैयाँ वक्यौता राखेका छन् ।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ को अन्तिम (२०७६ असार मसान्त) सम्म २० अन्तराष्ट्रिय वायुसेवाका नाममा कूल २७ करोड २६ लाख ६६ हजार ८ सय ८१ रुपैयाँ वक्यौता थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनाभित्र १ करोड १२ लाख ९२ हजार ५ सय ६४ रुपैयाँ भने फिर्ता भएको छ । सोही कारण पुस मसान्तसम्म यी कम्पनीहरुबाट सवा २६ करोड रुपैयाँ उठाउन बाँकि रहेको कार्यालयले जनाएको छ ।

नेपाललाई करोडौं रुपैयाँ तिर्न बाँकी राखेर आफ्नो उडान नेपालबाट झिकिसकेका यी एयरलाइन्स कतिपय नेपालबाट उडान झिकेपछि अन्य देशमा नियमित सञ्चालनमा छन् भने कतिपय कम्पनी भने आफै टाट पल्टिएर बन्द भइसकेका छन् । प्राधिकरणले वायुसेवा कम्पनीहरुबाट जहाज अवतरण, पार्किङ, एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायता सेवा), विमानस्थल विकास शूल्क, घरभाडालगायत वापत यो रकम असुल गर्न बाँकि थियो ।

नेपाललाई करोडौं रुपैयाँ तिर्न बाँकी राखेर आफ्नो उडान नेपालबाट झिकिसकेका कतिपय एयरलाइन्स अन्य देशमा नियमित सञ्चालनमा छन् भने केही टाट पल्टिएर बन्द भएका छन्

धेरै नतिर्ने एयर एसिया

मलेसियाली कम्पनी एयर एसियाले २०७५ कात्तिकबाट नेपाल उडान बन्द गर्‍यो। तर, उसले प्राधिकरणलाई १८ करोड ८९ लाख २१ हजार ४ सय ५७ रुपैयाँ तिर्न बाँकस् राखेको छ । पछिल्लो ६ महिनामा यस कम्पनीले मात्र ५ लाख रुपैयाँ चुक्ता गरेको छ । यसबाहेक ठूलो रकम नतिरी नेपालबाट फिर्ता हुने कम्पनीमा भारतीय र बंगलादेशीको बाहुल्य छ ।

आर्थिक रुपमा टाट पल्टँदै गएपछि जेट एयरवेजले सम्पूर्ण उडान बन्द गरेको छ । यो कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई २ करोड २ लाख ८३ हजार ९ सय ४५ रुपैयाँ वक्यौता तिर्न बाँकि छ । यस कम्पनीले पछिल्लो ६ महिनामा २ लाख ३० हजार रुपैयाँ मात्र चुक्ता गरेको छ । जेटसँगै गल्फ एयरले समेत ठूलो रकम वक्यौता राखेको छ । तथ्यांक अनुसार यस कम्पनीले त्रिभुवन विमानस्थललाई २ करोड २२ लाख १३ हजार ५४ रुपैयाँ तिर्न बाँकी छ ।

जेट एयरवेज बन्द भएपछि भारतीय कम्पनी स्पाइस जेट एयरलाइन्स नेपाल आउने तरखरमा छ । साढे तीन वर्ष अगाडी नेपाल उडान रद्द गरेको यो कम्पनीले भने वक्यौता प्राधिकरणलाई तिरेर नेपाल उडानको तयारी गरेको छ । यस कमपनीले प्राधिकरणलाई १ करोड ५ लाख रुपैयाँ वक्यौता तिरेको छ ।

एयर साहारा जेट लाइट बजेट एयरलाइन्स हो । एयर साहारालाई जेट एयरवेजले खरीद गरेपछि यसको नाम एयर साहारा जेट लाइट राखिएको हो । मूख्य कम्पनी जेट एयरवेज बन्द भएपछि एयर साहारा जेट लाइटको समेत उडान बन्द भएको छ । यो कम्पनीले प्राधिकरणलाई ३४ लाख ७८ हजार १ सय २६ रुपैयाँ तिर्न बाँकि रहेको छ । भारतीय कम्पनी किंगफिसर एयरलाइन्सले १ करोड १५ लाख ९७ हजार ५ सय ६२ रुपैयाँ प्राधिकरणलाई तिर्नुपर्ने छ । तर, उक्त कम्पनी पनि टाट पल्टिएर बन्द भइसकेको छ ।

बंगलादेशको यूनाइटेड एयरवेजले स्न २०१६ बाट उडान बन्द गर्‍यो। आर्थिक अवस्था नसुध्रिएपछि टाट पल्टिएको यो कम्पनीले प्राधिकरणलाई १० लाख ११ हजार रुपैयाँ तिर्नुपर्ने छ । बंगलादेशकै जीएमजी एयरलाइन्सले सन् २०१२ देखि आफ्नो सेवा बन्द गर्‍यो। यो कम्पनीले पनि नेपालमा तिर्नुपर्ने उधारो बाँकि छ । जीएमजीबाट १ लाख ५९ हजार १ सय १ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ ।

विकसित मुलुकका कम्पनी समेत वक्यौता नतिरी फर्किए

विगतमा नेपाल उडान गरे पनि उडान फिर्ता लिएका कतिपय विकसित मुलुककै वायुसेवा कम्पनीले समेत नेपालको बक्यौता बाँकि राखेका छन् । जर्मन कम्पनी लुपथान्साले सन् २००५ बाट नेपाल उडान कटौती गर्‍यो । यो कम्पनीले समेत १० लाख ६३ हजार ६ सय ४४ रुपैयाँ बाँकी राखेर गएको छ । यूएईको कम्पनी राक एयरवेज सन् २०१४ मा उडान बन्द गर्‍यो। यो कम्पनीको प्राधिकरणसँग १९ लाख ७३ हजार ४ सय ८१ रुपैयाँ बाँकी छ । बेलायतको प्रतिष्ठित तुई एयरलाइन्सले ९ लाख ५८ हजार ४ सय ९८ रुपैयाँ बक्यौता राखेको छ ।

अष्ट्रियाको अष्ट्रियन एयरलाइन्सले ४३ हजार ६ सय रुपैयाँ प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता देखिएको छ । हङकङको हङकङ एक्सप्रेसले समेत १९ लाख ६२ हजार ९ सय ७८ रुपैयाँ बक्यौता तिरेको छैन । बहराइन एयरलाइन्सले २४ लाख ६३ हजार ३ सय ७१ रुपैयाँ तिर्न बाँकि छ । बर्मा एयरवेजले १ लाख ८६ हजार ८ सय ५० रुपैयाँ बाँकि नतिरेको देखिएको छ ।

ओरियन्टल थाई एयरलाइन्सले ५ लाख ८९ हजार ८ सय १३ रुपैयाँ बक्यौता बाँकी छाडेको छ । सिंगापुर एयरलाइन्सले समेत ५ लाख ५८ हजार १ सय २८ रुपैयाँ बाँकी राखेको देखिएको छ । पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २ सय ३८ रुपैयाँ तिरेको छैन ।

चल्दै गरेका वायुसेवाबाट पनि वक्यौता बाँकी

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका २७ अन्तर्राष्ट्रिय र १९ आन्तरिक वायुसेवा कम्पनीले समेत वक्यौता बाँकि राखेका छन् । सञ्चालनमा रहेका वायुसेवा कम्पनीबाट पुस मसान्तसम्म कूल ७१ करोड ३७ लाख ५८ हजार रुपैयाँ तिर्न बाँकि रहेको छ । आन्तरिक वायुसेवाबाट १ करोड ३१ लाख ७८ हजार रुपैयाँ वक्यौता छ । बन्द भइसकेका आन्तरिक वायुसेवा कम्पनीले भने ८ करोड ४३ लाख रुपैयाँ तिर्न बाँकी रहेको तथ्यांक छ ।

ठूलो वक्यौता उठाउन कूटनीतिक पहल भइरहेको छ : प्राधिकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ठूलो रकम तर नेपालबाट उडान झिकिसकेका वायुसेवा कम्पनीको वक्यौता उठाउने सन्दर्भमा कूटनीतिक पहलसमेत भइरहेको छ । जैट एयरवेज, एयर एसियालगायत कम्पनीको वक्यौता उठाउन मन्त्रालयबाट कूटनीतिक पहल भइरहेको प्राधिकरणका उपनिर्देशक त्रिलोचन पौडेलले जानकारी दिए । उनका अनुसार सञ्चालनमा रहेका कम्पनीले निश्चित अवधिमा वक्यौता तिरिरहेको भए पनि बन्द भएका कम्पनीबाट बाँकी उठाउन मुस्किल परिरहेको छ । सम्भव भएसम्म सम्बन्धित कम्पनीमा सम्पर्क गर्ने र सम्भव नभए सार्वजनिक सूचना जरी गरी ताकेता गरिरहेको उनले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment