Comments Add Comment

“तिमीलाई लाग्छ, मलाई भूतले समात्यो ?”

नाम्चे पुग्दा अन्धकार भएको थियो । गुम्बाको ढुङ्गा र माटो कोठामा लगेर एउटा प्लास्टिकमा पोको पारेर एउटा कपडामा बेरें र सुरक्षितसाथ झोलामा राखें । नुवाइधुवाइ गरेर शृङ्गारिएर म तल ओर्लिएँ । मेरो त्यो रुप देखेर ल्हाक्पा र सूर्यजी छक्क परे ।
मैले भनें, “डिस्को जाऊँ ।” दुवैले मुखामुख गरे ।

“आराम गर्नुस् आज । थकाइ पनि लाग्यो होला ।”, सूर्यजी मलाई आराम गर्न सुझाइरहेका थिए ।

म मानिनँ । ल्हाक्पा पनि मलाई देखेर छक्क पर्दै थियो ।

“साँच्चै जाने हो र दिदी ?”

“तिमीले लाने भए जाने हो । यहाँको राम्रो डिस्को मलाई देखाउँदैनौ ?”

ल्हाक्पाले सूर्यजीको अनुहार हेरिरहृयो ।

“त्यो माथिको राम्रो छ, त्यहीं जाऔं न त !” ल्हाक्पा र म पछि लाग्यौं ।

मेल्बर्नको भन्दा कम रहेनछ नाम्चेको डिस्को । टन्नै विदेशीहरू नाचिरहेका थिए । म साइडको कुनाकोे सोफामा बसें । चुरोट र वाइनको चुस्की लगाउँदै । सूर्यजी र ल्हाक्पा नाच्न गए । मैले ती नाचिरहेका सबैलाई नियालिरहें ।

दोस्रो ग्लास वाइन खाएपछि म सूर्यजी र ल्हाक्पा भएकोतिर नाच्न गएँ ।

निरु त्रिपाठी

डिजेसँग बेस्ट कलेक्सन रहेछ गीतहरूको । म मस्तले नाचिरहे । पेरिसकी मीरा बनेर म झुमिरहें, उसको प्रेमरागमा म घुलिइरहें । मलाई म वृन्द्रावनमा भएको झल्को लागिरहृयो । “बाँसुरी पेरिस बजाइरहेछ र म मस्तमगन भइरहेछु ।”, यस्तै सोच आइरहेछ । म आँखा चिम्लेर नाचिरहें । ध्यानमग्न, मन्त्रमुग्ध भएर निर्धक्क नाचिरहें ।

मेरो यो रुप देखेर ल्हाक्पा र सूर्यजीलाई शायद धेरै प्रश्नहरू सोध्न मन लागेको थियो होला तर कसैले केही सोधेनन् । म पसिनैपसिना भएर फेरि त्यही सोफामा गएर बसें । यसरी पेरिसकी मीरा भई झुमेपछि मलाई कुनै नशाको जरुरी भएन । म पेरिसको प्रेमले लठ्ठ भएकी थिएँ । उसको प्रेमको मात वाइन र चुरोटको भन्दा बढ्ता लागेको थियो । वास्तवमा प्रेमको लत र नशा, वाइन र चुरोटको भन्दा कडा हुन्छ । मलाई होटलसम्म छाडिदिन ल्हाक्पालाई आग्रह गरें । ल्हाक्पा र सूर्यजीले मेरो हात समात्दै मलाई कोठासम्म छाडिदिए ।

साबिकभन्दा म ढिलो उठें । भोलि बिहान मेरो र सूर्यजीको काठमाडौं फर्किने ˆलाइट थियो । तर, म गइनँ । दुई-तीन दिन यतै बस्ने भएँ म । मलाई ल्हाक्पाको जिम्मा लगाएर सूर्यजी काठमाडौं फर्किए ।

……………..

“ल्हाक्पा, म नुवाइधुवाइ गर्छु । तिमी एउटा लामा लिएर आऊ न ल !”

“किन दिदी ?”

“म फेरि आज त्यही गुम्बामा गएर मुण्डन गर्न चाहन्छु । मलाई सेतो वा पहेंलो, सुन्तला रङको जस्तो भए पनि एउटा वस्त्र ल्याइदेऊ !”

“अब्बुई दिदी आनी पो बन्ने ?”, ल्हाक्पाले सोध्यो ।

“धर्मको होइन, पेरिसकी आनी बन्ने ल्हाक्पा ! त्यति गरिसकेपछि पेरिसको काजक्रिया गर्न चाहन्छु म । उसको आत्मालाई शान्ति होस् भनेर कामना गर्न चाहन्छु । उसको आत्मा नभड्कियोस् भनेर प्रार्थना गर्न चाहन्छु ल्हाक्पा !”

“तर दिदी लामा ल्याउनुभन्दा अगाडि हजुर एकचोटि झाँक्रीकोमा जाने कि ?”

“किन ?”

“कसैकसैले भनेको अलि अबेर बस्यो भने त्यो गुम्बामा भूत पनि लाग्छ रे !”

“तिमीलाई लाग्छ, मलाई भूतले समात्यो ?”

“होइन होइन दिदी, हिजो डान्स बारमा पनि त्यसरी नाच्नुभयो । अनि फेरि एक्कासि कपाल खौरने कुरा पनि आयो नि त !”

“मेरो यो निर्णय होसमा हो । बरु छिटो गर ।”

नुवाइधुवाइ गरेर ल्हाक्पाको बाटो कुरेर बसें । ल्हाक्पाले त्यस्तै एक घण्टाभित्र लामालाई लिएर आयो ।

“दिदी, सेतो पाइयो, त्यही ल्याइदिएको छु ।”

म तुरुन्तै तयार भएर बाहिर निस्किएँ ।

लामा, ल्हाक्पा र म गुम्बातिर लाग्यौं ।

“नानी, तिमीलाई म एउटा कथा सुनाउँछु ल !”, हिंड्दै गर्दा लामाले भने ।

मैले टाउको हल्लाएँ ।

“एक दिन एक जना स्वास्नीमान्छे आफ्नो मृत सन्तानलाई लिएर बुद्धकहाँ पुगिन् । ध्यान गरिरहेका बुद्धको काखमा राखिदिएर आˆनो सन्तानलाई ब्युँताइदिन रोइकराइ गरिन् । बुद्धले आँखा उघारे र काखको बच्चालाई आफ्नो अँगालोमा लिए र त्यस स्त्रीलाई भने, कसैको पनि मृत्यु नभएको घरबाट रायोको दाना ल्याउनू, म तिम्रो सन्तानलाई जिउँदो बनाइदिन्छु । उनीलेे घरघर चहारिन्, गाउँगाउँ पुगिन् । तर, कुनै घर भेटिनन्, जहाँ परिवारमध्ये कसै न कसैको मृत्यु नभएको होस् । आखिर उनी बुद्धको शरणमा आइन् र मृत्युको अपरिहार्यता बुझनि्, शिर निहुर्‍याइन् र क्षमा माग्दै आफ्नो मृत सन्तानलाई लिएर बिदा भइन् । नानीलाई पनि ठूलो चोट परेको रहेछ । ल्हाक्पाले भन्दै थियो ।”

बाटोभरि लामाले मलाई जीवन र मृत्युबारे विविध ज्ञानहरू सुनाए । मलाई शोकबाट निकाल्न र मेरो विचलित मनलाई शान्त तुल्याउन उनले विभिन्न उदाहरण दिएर कथा सुनाउँदै शान्त तुल्याउँदै थिए । म उनको स्नेहप्रति कृतज्ञ भएँ ।

“नानी, यो संसारमा सबै कुरा परिवर्तन हुन्छन्, केही स्थायी हुँदैन । संसारमा कष्ट अपरिहार्य छ । मृत्यु जीवन-चक्रको एक प्राकृतिक लीला । सबैले यसलाई स्वीकार्नु पर्छ । साथीहरू र परिवारले मर्ने व्यक्तिका गुणहरूलाई व्यवहारमा उतार्नुपर्छ । यसो गर्दा उसको पुनर्जन्म हुनेछ र उसले अर्को अवतारमा शक्ति पाउनेछ ।”

“म पेरिसको आत्माले शान्ति पाओस् भन्ने चाहन्छु तर पुनर्जन्म होस् भन्ने चाहन्नँ । म पुनर्जन्ममा विश्वास गर्दिनँ । ऊ कुनै अर्को मानव, वनस्पति वा पशुपंक्षी कुनैमा पनि परिवर्तित भएर नआओस् । अरू कुनै रुप उसले धारणा नगरोस् । संसारले देख्दा उसको शरीर छैन । उसको मृत्यु भयो तर ऊ त हरघडी मभित्र जीवित छ । म भित्र जीवित मान्छेलाई म कसरी पुनर्जन्म होस् भनेर प्रार्थना गरौं गुरुवर ?”

मेरो कुरा सुनेर लामा मुसुक्क हाँसेर मलाई सोधे, “त्यति धेरै प्रेम गथ्र्यौ उसलाई ?”

“गर्थें होइन गुरुवर, गर्छु । गर्नेछु । ऊ भौतिकरुपमा हरायो होला, मेरो मनबाट हराएको छैन ।” मेरा आँखा रसाए ।
प्रेम, जगत्, मृत्यु, जीवनको कुरा गर्दागर्दै गुम्बा हामी आइपुग्यौं ।

म गुम्बानजिकको त्यही खोल्सो नजिक गएँ । ल्हाक्पा पनि मेरो पछिपछि आयो र भन्यो, “दिदी बिस्तारै है, अलि वर आउनू !”

“लामा, खोल्सा, गुम्बा र यो ठाउँ मेरो सपनामा बारम्बार आउँछ । पेरिस हराउनुभन्दा अगाडि यतैतिर थियो । उसको अहिलेसम्म केही खबर छैन । तर ऊ सपनामा बारम्बार आएर यही गुम्बामा बस्छु भन्छ । प्लीज गुरुवर, मेरो आत्माको एक भाग म यही गुम्बामा छोड्न चाहन्छु । यस्तो पूजापाठ गर्नुस् कि म मेरो एक अंश यही छोडेर जान सकूँ । मेरो पेरिसले मलाई यहीं भेटोस् !”

“ल्हाक्पा, मेरो त्यो झोला ल्याऊ त !”

ल्हाक्पाले लामाको झोला लिएर आयो । झोलाबाट लामाले एउटा किताब, दियो बत्ती, कलश, चामल, मयुरको प्वाँख, पानी, खादा, रङ्गीविरङ्गी प्रार्थनापताकाहरू र मुण्डन गर्ने रेजर निकाले ।

“ध्यान गरेर बस्नू नानी ! जुन भगवान्को मन लाग्छ, नाम जपेर बस्नू !” मेरो मनले पेरिसपेरिस जपिरहन्छ ।

लामा मन्त्र पढ्दै गुम्बामा पूजा गरिरहेका छन् । बेलाबेलामा मेरो शरीरमा पानीले छम्कदैं, चामलका दानाहरू फ्याँक्दै , मयुरको प्वाँखले छुँदै उनी मेरो वरिपरि घुम्छन् ।

“ल्हाक्पा अब कपाल खोरिने है त !”

ल्हाक्पाले हातमा रेजर लियो ।

“बिस्तारै गर है बाबू ! बीचबाट चारैतिर बाट्दै जाऊ है ?”, लामाले अह्राए जसरी नै ल्हाक्पाले कतै नबिगारी जतनले मेरो पूरै केश खौरिदियो ।

भुइँभरिको केश उठाएर लामाले त्यही खोल्सामा फ्याँकिदिन अह्राए । म केश बोकेर खोल्सातिर जाँदै थिएँ । मेरो पछिपछि पानी छर्कंदै मन्त्र पढ्दै लामा आइरहेका थिए । एकछिन त्यही खोल्सा नजिकै उनले प्रार्थना गरे र हामीलाई पनि गर्न लगाए ।

“पेरिस, तिमी कतै नभड्किऊ ल ? जति भड्किन्छौ मेरै मनमस्तिष्कमा भड्क ल !”, मलाई यसो भन्न आएछ, यही प्रार्थना गरें ।
कर्मकाण्ड सिद्धियो, हावा पनि चल्न थाल्यो । र, हामी ढिला नगरी नाम्चे बजारतिर लाग्यौं ।

लामाले बाटोभरि मलाई जन्म र मृत्युका बारेमा ज्ञान दिंदै आए । आठ बजे हामी हाम्रो होटेलमा आइपुग्यौं । मैले लामालाई हृदयदेखि नै धन्यवाद दिएँ, ढोगें र आफू उनको सदा कृतज्ञ रहने र आजन्म ऋणी रहने कुरा सुनाएँ । लामा मुस्कुराए । उनको अनुहारमा मन छुने आभा देखें मैले । त्यस्तो आभा मैले कुनै आममान्छेमा आजसम्म देखेकी थिइनँ ।

सुत्नुभन्दा अगाडि मैले आफ्नो मुडुलो शिर ऐनामा हेरें । मलाई आफ्नै रुप एकदमै अनुपम लाग्यो । पेरिसले भनेको सम्झिएँ, “तिम्रो कपाल लामो होस् वा छोटो, पाल वा खौरिऊ, तिमी सबैमा सुन्दर हुनेछौ मेरा लागि ।” मलाई आफू संसारको सबैभन्दा सुन्दर महिला महसुस भयो ।

निरु त्रिपाठीको उपन्यास ‘पेरिस्कानो : एक अलौकिक गाथा’ को एक अंश । बुकहिलले प्रकासित गरेको उपन्यास भोलि सुक्रवार लोकार्पण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment