१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् ।
जसअनुसार अध्यक्षमा ४६ वर्षीय राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ ।
सुनसरी घर भएका राजीव विगतमा प्रदीप पौडेल नेतृत्वको नेविसंघ कमिटीमा उपाध्यक्ष बनेका थिए । ११ औं महाधिवेशनमा ढुंगाना अध्यक्षको दाबेदार थिए । तर, नैनसिंह महर अध्यक्ष चुनिए ।
यस्तै मनोज वैद्य नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष एवम् पशुपति क्याम्पसका तत्कालीन स्ववियु सभापति थिए ।
यस्तै पाल्पाकी महेश्वरी कुँवर पद्मकन्या क्याम्पसको तत्कालीन स्ववियु उपसभापति एवम् नैनसिंह महर नेतृत्वको नेविसंघमा सहमहामन्त्री थिइन् ।
२०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला नेविसंघको स्थापना भएको थियो । विपिन कोइराला नेविसंघको पहिलो अध्यक्ष बने ।
२०५९ मा तत्कालीन नेविसंघका अध्यक्ष विश्वप्रकाश शर्माले समयमा महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यसपछिका अध्यक्षले समयमा अधिवेशन गर्न सकेका छैनन् ।
विपिन कोइराला, शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौर, महेन्द्र शर्मा र रञ्जीत कर्णले सर्वसम्मत तथा महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गरेका थिए ।
यस्तै विमलेन्द्र निधि, एनपी साउद, गुरु घिमिरे, प्रदीप पौडेल र नैनसिंह महरले भने निर्वाचनबाट अध्यक्ष जिते पनि महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न भने सकेनन् ।
नेविसंघको ११ औं महाधिवेशनबाट नैनसिंह महरको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । तर, यो कार्यसमितिले १२ औं महाधिवेशन गराउन सकेन र नेतृत्व हस्तान्तरण पनि भएन । विधानअनुसार भदौ २ गते नै हुनुपर्ने महाधिवेशन हुन नसकेपछि पार्टीले पटक पटक गरी पाँच महिना म्याद थपिदिएर कार्यकाल माघ २ गतेसम्म लम्बायो । त्यसपछि पनि महाधिवेशन हुन नसकेपछि नेविसंघ एक वर्षसम्म नेतृत्वविहीन भयो ।
तदर्थ समितिले १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउनेछ ।
त्यस्तै तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् । यसअघि कायम रहेको नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउने नेपाली कांग्रेसले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4