Comments Add Comment

सहिदलाई सम्झेर सुध्रिने अठोट गरौं !

राजनैतिक परिवर्तनको एउटा उर्जाशील चिनो र गौरवका रुपमा सहिद दिवस मनाइन्छ । व्यक्तिगत स्वार्थविना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत आहुती दिने व्यक्तिलाई सहिद भनिन्छ ।

जुन-जुन देशमा सामाजिक, आर्थिक र राजनीतिक क्रान्ति भएका छन्, त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि विनास्वार्थ देशका लागि थुप्रै मानिसले वलिदानी दिएका छन् । यसै सन्दर्भमा कवि भूपि शेरचनको रचना सम्झन लायक छ- हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपूत मरेर नगए ।

नेपालको प्रजातान्त्रिक आन्दोलन थुप्रै वीर सपुतहरुको वलिदानीगाथाले भरिएको छ । तिनै सपुतहरुको सम्झनास्वरुप हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा सहादत प्राप्त गर्ने पहिलो वीर सहिद लखन थापा हुन्, जसलाई राणा जंगबहादुरको विरुद्धमा प्रचारवादी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रुखमा झुण्ड्याएर मारिएको थियो । त्यसपछिका सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द ठाकुर र गंगालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई सहिद स्मृति दिवसका रुपमा मनाइन्छ ।

हामीले आज उपयोग गर्दै आएको स्वतन्त्रता, समानता र सार्वभौमसत्ताका लागि सहिदहरुले दिएको वलिदानी नेपालको इतिहासमा सुनौलो अक्षरले अंकित गरिएको छ । प्रजातन्त्र, लोकतन्त्र हुदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा सहिदको सपनाअनुरुप हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रको अनुभूति हिमाल, पहाड तराईका दुरदराजका गाउँमा बस्ने हरेक नेपालीले अनुभूति गर्नेखालको कामकारवाही र क्रियाकलाप गर्न सकेका छैनाैं ।

हरेक राजनीतिक दल चाहे राज्य सञ्चालनको प्रकृया होस् वा विकास निर्माणको कार्यमा नै किन नहोस्, राजनीतिक भागवण्डा, विचार आस्थाभन्दा माथि उठ्न सकेका छैनन् । सहिदका सपना अनुरुप आफ्नो कार्यशैली र आचरणलाई पनि लोकतान्त्रिक गर्न सकेका छैनन् ।

वि.सं. २००७ सालदेखि २०६२/०६३ सालको नेपालको प्रजातान्त्रिक आन्दोलनमा थुप्रै ज्ञात अज्ञात सहिदहरुले सहादत प्राप्त गरे । वि.सं. १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याएको थियो भने धर्मभक्त माथेमालाई सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ दशरथ चन्दलाई शोभा भगवतीमा हत्या गरिएको थियो । सोही दिन राति गंगालाल श्रेष्ठलाई खम्बामा बाँधी गोली हानेर हत्या गरिएको थियो । यस्तै जिउँदो सहिदका रुपमा नेपालमा प्रजापरिषद नामक राजनैतिक पार्टी खोली प्रजातन्त्रिक आन्दोलनको सुत्रपात गर्ने टंकप्रसाद आचार्यलाई ब्राह्मण भएकाले मार्नुहुन्न भनी चार पाटा मुडेर सुँगुरको पाठो झुण्ड्याई कारावासको सजायँ गरिएको थियो ।

सच्चा सहिद छायामा

नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो त्याग तपस्या र वलिदान गरेका सच्चा सहिदहरु आज छाँयामा पर्न पुगे भने मुलुकमा पछिल्लो पटक झिना-मसिना र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाव दिने चलनले वास्तविक सहिदलाई चोट पुगेको छ ।

छातीमा गोली थाप्ने सहिदलाई हामीले वर्ष दिनमा एकचोटि मात्र सम्झना गर्‍यौं । तर, राजनीतिको आवरण बोकेर गुण्डा, अपराधी पनि सहिद हुँदा वास्तविक सहिदका परिवार र उनीहरुको त्याग र तपस्या वलिदानको अवमूल्यन हुन पुगेको छ । त्यसैले महान वीर सहिदहरुको त्याग र तपस्याको आधारमा हरेक राजनीतिक दल वा सरकारको नेतृत्व गर्ने नेतृत्वहरुले आफ्नो स्वाभाव आचरण र व्यवहारमा लोकतान्त्रीकरण गर्दै सच्चा सहिदलाई मात्र सहिद घोषणा गर्ने बाटोमा हिँडनु नै पर्दछ ।

सहिद सम्झेर सुध्रिने अठोट गरौं

नेपालमा परिवर्तन ल्याउन र देशको आयाम बदल्नका लागि वीर महान सहिदहरुले ज्यानको आहुती दिए । तर, ती सहिदहरुको सपना र त्यागलाई हामीले साकार पार्न सकेका छैनाैं भन्ने कुरा सरकार चलाउने र देश बनाउन लागेका राजनीतिक नेतृत्व गणले सोच्ने र सुधि्रने अठोट गर्ने बेला आइसकेको छ । प्रजातन्त्रको प्राप्ति र पुनः प्राप्तिका लागि सहिद भएका र सहिद परिवारका परिवारले अहिले पनि दुःख कष्ट झेलिरहेका छन् । उनको सम्मान हुन सकेको छैन ।

सहिदको आशीष छत्रछाँयामा हामीले प्रजातन्त्र भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । तर, राज्यले कहिल्यै पनि सहिदका आँसु पुछ्न सकेको छैन । राजनीति गर्ने हरेक नेताको शैलीमा कुनै परिवर्तन भएको छैन । गणतन्त्र नेपालको राष्ट्रपतिको शैली पनि पुरानै राजतन्त्रको जस्तो देखिन्छ । त्यसैले शासन पद्दति फेरियो, तर देशको फ्रेम र जनताको अनुहार फेरिएन । सहिदका सपना अधूरा नै भए ।

त्यसैले, सहिद दिवसका दिन सहिदलाई सम्झेर हरेक नेतृत्वगणले सुधि्रने अठोट गर्नु नै पर्दछ ।

सहिद दिवस कर्मकाण्डी मात्र

सहिद दिवसको दिनमात्र सहिदलाई सम्झने हाम्रो प्रवृत्ति छ । सहिदका नाममा दुई/चार ठाउँमा गेट बनाइदिँदैमा, सडक चौताराको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मान सम्मान कसरी हुन्छ ? किनकि सहिद दिवसको दिन देशभरि केही न केही कार्यक्रम हुने र मुलुकका प्रधानमन्त्रीले सहिद गेटमा फूलमाला अर्पण गर्ने परम्पराले मात्र सहिदप्रति सम्मान हुन सक्दैन ।

सहिद दिवसको दिन सहिदलाई सम्झिदै राज्य सञ्चालन गर्नेले आफूमा भएका कमी कमजोरी छन् भने सुधार्ने र राम्रा कामहरुको सुरुआत गर्ने दिनका रुपमा सहिद दिवस मनाइनुपर्छ । तर, सहिद दिवसको दिन केही कार्यक्रम गरी कर्मकाण्ड गर्ने काम मात्रै अहिले ज्वलन्त उदाहरणका रुपमा देखिन्छ ।

झन् अझ पछिल्लो समयमा नेपाली राजनीतिमा पृष्ठपोषकहरुले झिना मसिना घटनाक्रममा मारिएकाहरुका पनि राजनीतिक स्वार्थअनुरुप फेहरिस्त तयार गरी सहिद घोषणा गर्ने परम्पराले स्वतन्त्रताका लागि ज्यानको आहुती दिएका सहिदहरुको अपमान भएको छ ।

अझ पछिल्लो समयलाई हेर्ने भने सवारी दुर्घटना वा भीरबाट लडेर ज्यान गुमाएका अथवा अपराधिक घटनामा पनि संलग्न भएकालाई सत्ता र शक्तिका आडमा सहिदको टोकरीमा राख्ने प्रवृत्तिले वास्तविक सहिदको अपमान भएको छ । त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहिदहरुको निस्वार्थ अतुलनीय योगदानलाई राज्यले कदर गर्नै पर्दछ ।

सहिदको नमन नै देश र जनताको सम्मान

नेपालको प्रजातान्त्रिक आन्दोलन सहिदहरुको रगतले लत्पतिएको छ । त्यो रगतले आज निमुखालाई न्याय, दुरदराजमा लोकतन्त्रको अनुभुति, घर-घरमा समृद्धि, सुशासन र पारदर्शिता जगमा राष्ट्रको निर्माण, देशमा शान्ति सुरक्षा, लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण, संविधानको कार्यान्वयन गर्दै देश विकासको बाटोमा जनताको सर्वोत्तम हितका लागि समर्पित भएमा मात्र सहिदप्रति नमन र वास्तविक श्रद्धाञ्जली हुनेछ ।
तर, नेपाली जनताको अधिकारका लागि योगदान दिने सहिदहरु आज उपेक्षित भएका छन् भने सहिद दिवस औपचारिकतामा मात्र सीमित भएको छ । हाल मुलुकका सहिदको नाम र कामको परिभाषा नै गोलमोल हुने अवस्था आएको छ । नेपाली जनताको हक अधिकार तथा नागरिक स्वतन्त्रताका लागि आफ्नो प्राण त्याग्ने व्यक्तिलाई मात्र असली सहिदका रुपमा सहिद घोषणा गर्ने कार्य हामीले गर्नु नै पर्छ । नत्रभने, सहिदको आँसु हामीलाई सराप्न सक्छ ।

सहिदले आफ्नो प्राणको आहुती दिँदा र लोकतन्त्रका लागि निरंकुश राणाको विरुद्धमा लड्दा उनका भावनाले सीमा छुट्टाएको थिएन, जातजाति तोकिएको थिएन, पहिचानको साँघु बनाएको थिएन । हिमाल पहाड तराई वा मधेसजस्ता सीमा छुट्टाएर भौगोलिक विखण्डतामा लगेको थिएन । हरेक दललाई सत्ताको आडमा भागवण्डा गरी खानका लागि मात्र सहादत प्राप्त गरेका थिएनन् । त्यसैले सहिदको सम्मान र नमन नै देश र जनताको सम्मान हुने गरी जनताको भावनाअनुरुप हिँड्न र नयाँ नेपाल बनाउन सकेनौं भने फेरि देशले अर्को परिवर्तन खोज्न सक्छ । किनकि सहिद एउटा मर्यादा, विश्वास, आदर्श, बलिदान र देश भक्ति पनि हो । (सांसद संग्रौला कांग्रेस केन्द्रीय सदस्य हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment