Comments Add Comment

बैंकहरुको कृषि कर्जा लगानी उपत्यका आसपासमा नै धेरै

१६ माघ, काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रबाट कृषि क्षत्रेमा हुने कर्जा काठमाडौं उपत्यका र आसपासकै क्षेत्रमा सबैभन्दा धेरे लगानी हुने गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले ५७ जिल्लामा भएको कर्जा लगानी सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै सबैभन्दा धेरै काठमाडौं क्षेत्रमै कृषि कर्जा लगानी भएको देखाएको हो ।

राष्ट्र बैंकले अध्ययन रिपोर्ट सार्वजनिक गर्दै कृषि कर्जा बढ्ने क्रममा रहेको देखाएको छ । राष्ट्र बैंकका अनुसार बितेको आर्थिक वर्ष २०७५/७६मा १ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले कृषिमा लगानी गरेका छन् । सो आर्थिक वर्षको तुलनामा कृषि कर्जा ४२.२ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरुले ९२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गरेका थिए । बैंकहरुलाई राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत अनिवार्य लगानी गर्न निर्देशन दिएको छ ।

जसमध्ये १० प्रतिशत कृषि क्षेत्रमा अनिवार्य कर्जा लगानी गर्नुपर्ने हुन्छ । केहि बैंकहरुले १० प्रतिशत पुर्‍याएपनि अधिकांश बैंकहरुले कृषि कर्जामा १० प्रतिशत पुर्‍याउन सकेका छैनन ।

औसतमा कुल कर्जाको बैंकहरुले ५ दशमलव ७ प्रतिशत कृषि क्षेत्रमा कर्जा लगानी गरेको राष्ट्र बैंकले बताएको छ ।

कुन क्षेत्रमा कति ?

राष्ट्र बैंकको काठमाडौंसहित सबै प्रदेशमा कार्यालयहरु छन् । जसमा प्रदेश २ मा भने जनकपुर र विरगञ्ज्मा गरेर २ वटा कार्यालय छन् । राष्ट्र बैंकले आफ्ना ८ वटै कार्यालय अनुसार क्षेत्र बाँडफाँट गरी अध्ययन गरेको छ ।

राष्ट्र बैंकले काठमाडौं क्षेत्रमा सबैभन्दा धेरै कृषि कर्जा लगानी भएको बताएको छ । काठमाडौं क्षेत्र भनेर वागमती प्रदेशका ९ जिल्ला समेटेर काठमाडांै, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र दोलखा जिल्लामा अध्ययन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यी क्षेत्रहरुमा कूल कृषि कर्जा मध्येको २३.६ प्रतिशत कर्जा लगानी भएको छ  । यसैगरी प्रदेश २ को वीरगञ्ज २०.८ प्रतिशत कृषि कर्जा लगानी भएको छ भने प्रदेश नम्बर एकको विराटनगर क्षेत्रमा १६.३ प्रतिशत कर्जा लगानी भएको छ ।

उता प्रदेश ५ को भैरहवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले कुल कृषि कर्जाको १२.६ प्रतिशत र जनकपुर क्षेत्रमा ९.६ प्रतिशत कर्जा लगानी भएको राष्ट्र बैंकले बताएको छ । गण्डकी प्रदेशको पोखरा क्षेत्रमा ७.३ प्रतिशत र कणर्ाली प्रदेशकमा ५.८ प्रतिशत कर्जा लगानी भएको छ ।

सबैभन्दा कम भने सुदुरपश्चिममा कृषि कर्जा ३.८ प्रतिशतमात्रै लगानी भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकको तर्क

नेपालको कृषि उत्पादन हुने क्षेत्र भनेको तराई क्षेत्र हो । तर राष्ट्र बैंकको तथ्यांकले भने काठमाडौं क्षेत्रमा धेरै कृषि कर्जा लगानी भएको देखाउँछ । यसको मतलव वास्तविक किसानहरुले धेरे कर्जा लिएका छैनन् भन्ने हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बैंकहरुको प्रधान कार्यालय काठमाडौं भएका कारण यस्तो तथ्यांक आएको बताउछन् ।

‘तलको कार्यालयमा कर्जाको माग आए पनि कतिपय कर्जा मुख्य कार्यालयबाट स्वीकृति गर्नु पर्ने हुन्छ’ उनले भने, ‘ काठमाडौं हुने मुख्य कार्यालयबाट स्वीकृत गरेपछि काठमाडौं क्षेत्रमा धेरै लगानी भएको देखियो ।’

सबै बैंकको प्रधान कार्यालय काठमाडौंमै भएको र धेरै कर्जाहरु प्रधान कार्यालयहरुबाट स्वीकृत भएका कारण काठमाडौं क्षेत्रमा कर्जा धेरै गएको देखिएको प्रवक्ता भट्टको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment