Comments Add Comment

ए डिभिजन लिगमा त्रिकोणात्मक उपाधि होड

क्लिनसिटमा तीन गोलकिपर

लिग तालिकाको शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबका खेलाडीहरु ।

७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७६ मा हुने ९१ मध्ये ६३ खेल सकिएको छ । अब २८ खेलपछि लिग विजेताको टुङ्गो लाग्नेछ ।

त्यो भन्दा अगाडि नै पनि कुनै टिमले लिगको उपाधि पक्का गर्न पनि सक्नेछ । अखिल नेपाल फुटबल संघ एन्फाले गत सिजन फुटबलको माहोल फर्काउन भन्दै रेलिगेसनविनाको लिग सञ्चालन गरेको थियो । जसबाट कुनै पनि टिम रेलिगेसनमा परेनन् । अन्तिमक दुई टिमको यस सिजन क्रमश: २ र १ अंक घटाइएको थियो ।

त्यसैमध्ये एक हो मछिन्द्र क्लब । गत सिजन १४ क्लबमा सहभागी लिगमा १३ औं भएको मछिन्द्रले यस सिजन १ अंक गुमायो । यस्तै अन्तिम भएको एनआरटीले यस सिजन २ अंक गुमायो । तर यस पटक मछिन्द्रले लिग जित्ने लक्ष्यसहित नाम चलेका खेलाडी भित्र्याएर आफूलाई उपाधि होडमा उभ्यायो । लिगअघिको प्रिम्याच कन्फ्रेन्समा पनि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले एक मात्र लक्ष्य उपाधि जित्ने बताएका थिए ।

अहिलेसम्म ए डिभिजन लिगको उपाधि जित्न नसकेको मछिन्द्र यस पटक शुरुदेखि नै उपाधि होडमा छ । लिगमा नवौं चरणसम्मको खेल सकिँदा मछिन्द्र १९ अंकसहित दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको त्रिभुवन आर्मीको २० अंक छ ।

मछिन्द्रले ९ खेलमा ६ जीत र २ बराबरी नतिजा निकालेको थियो भने हिमालयन शेर्पा क्लबसंग पराजित भएको थियो । मछिन्द्र जस्तै अहिलेसम्म लिग जित्न नसकेको त्रिभुवन आर्मी उपाधि होडमा अघि छ । ६ जीत, २ बराबरी र १ हारको नतिजासहित २० अंक जोडेर विभागीय टोली आर्मी अंक तालिकामा शीर्ष स्थानमा छ । आर्मीले एक मात्र हार साविक विजेता मनाङ मर्स्याङ्दी क्लबसंग ब्यहोरेको थियो ।

अनि त्यही मनाङ मर्स्याङ्दी भने यस सिजन अपराजित रहने एक्लो टिम हो । ९ खेल खेल्दा मनाङले ५ खेल जितेको छ भने ४ खेल बराबरी खेलेको छ । अंक तालिकामा मनाङले मछिन्द्र समान १९ अंक जोडेको छ । गत वर्ष लिग जित्दाका कप्तानसहित अधिकांश खेलाडीले क्लब छाडे पनि मनाङले उपाधि रक्षा गर्ने लक्ष्यका साथ लिग खेलिरहेको छ ।

यही तीन क्लब यस सिजन लिग उपाधि होडमा सबैभन्दा अगाडि छन् । आर्मीको प्रशिक्षकमा मनाङका पूर्व खेलाडी तथा प्रशिक्षक नवीन न्यौपाने छन् । उनी राष्ट्रिय टिमका पूर्व खेलाडी समेत छन् । मछिन्द्रका प्रशिक्षक प्रवेश पहिलो पटक ए डिभिजन लिगमा प्रशिक्षणको जिम्मेवारी सम्हालिरहेका छन् । यस्तै मनाङमा गत सिजनकै विदेशी प्रशिक्षक फुजा तोपे छन् ।

यद्यपी यस सिजन टिम लिस्टमा धनेश्वर प्रजापतिको नाम उल्लेख हुँदै आएको छ । गत वर्ष पनि फुजा मनाङको प्रशिक्षक थिए तर मनाङको टचलाइन सुमन श्रेष्ठले सम्हालेका थिए र मनाङले उपाधि जित्दा सुमन नै लिगको उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । गत सिजन पर्दा बाहिरका हिरो बनेका फुजा यस सिजन टच लाइनमा देखिँदै आएका त छन् तर टिम लिस्टमा धनेश्वरको नाम रहेने गरेको छ । धनेश्वरले भने गत सिजनको केही खेलमा मछिन्द्रको प्रशिक्षण सम्हालेका थिए । प्रशिक्षकहरु पनि टिम जस्तै उपाधि उचाल्न चाहन्छन् ।

यस पटक मनाङका धेरै खेलाडी मछिन्द्र जाँदा मनाङले भने मछिन्द्रकै प्रशिक्षक नै भित्र्यायो । तीनवटै क्लबका प्रशिक्षकले उपाधि होड कायम रहेको भन्दै जित्नका लागि अझै राम्रो खेल्नुपर्ने बताएका छन् ।

मनाङले मछिन्द्र र आर्मी दुवैसंग खेलिसकेको छ । अब उपाधि होडमा रहेको तीन मध्ये मछिन्द्र र आर्मीको खेल हुन बाँकी छ । एन्फाले शुरुमा निकालेको दशौँ चरणसम्मको खेल तालिकामा आर्मी र मछिन्द्रको खेल परेको छैन । बाँकी रहेको तीन चरणमध्ये कुनै एकमा आर्मी र मछिन्द्रको खेल हुनेछ । दशौँ चरणमा भने मछिन्द्रले अर्को विभागीय टोली एपीएफसंग खेल्नेछ भने विभागीय डर्बीमा आर्मीले पुलिससंग खेल्नेछ । आर्मीले अर्को विभगीय डर्बीमा एपीएफसंग भने खेल्न बाँकी नै छ । यस्तै मनाङले दशौँ चरणमा च्यासल युथ क्लबसंग खेल्नेछ ।

अब लिगमा मछिन्द्रले एपीएफ र आर्मीबाहेक संकटा  र सरस्वती युथ क्लबविरुद्ध खेल्न बाँकी छ । आर्मीले पुलिस, एपीएफ, मछिन्द्र र ब्रिगेड ब्वाइजसंग खेल्न बाँकी छ । मनाङले च्यासलसहित पुलिस, एनआरटी र जावलाखेलसंग खेल्न बाँकी छ ।

नवौं चरणमा मछिन्द्रसंग पराजित भएपछि थ्रीस्टार भने उपाधि होडबाट टाढिएको छ । ४ पटकको लिग विजेता थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले नै उपाधि होडबाट बाहिरिएको स्वीकार गरेका छन् ।

माघ १८ शनिबारदेखि माघ २१ सम्म दशौँ चरणका खेलहरु हुनेछन् । त्यसपछि ११ औं देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गर्ने लिग डिरेक्टर सन्जीव मिश्रले जानकारी दिए । उनका अनुसार एक दिनको विश्रामपछि ११ औं चरणका खेलहरु शुरु हुनेछन् । यस्तै आवश्यकता अनुसार एउटै समयमा दुई वटा खेलसमेत खेलाउन सकिने उनले बताए ।

क्लिनसिटमा पनि आर्मी, मछिन्द्र र मनाङका गोलकिपर अगाडि

गत सिजन मछिन्द्रको पोष्ट सम्हालेका दीप कार्की यस सिजन मनाङको पोष्ट सम्हालिरहेका छन् । उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरे पनि मछिन्द्रको कमजोर प्रदर्शनले उनको प्रदर्शन ओझेलमा पर्‍यो । यस सिजन उनले ५ गोल  खाएका छन् । आर्मीका प्रशिक्षक विकेश कुथुले सर्वाधिक कम गोल खाने गोलकिपर हुन् उनले जम्मा ३ गोल खाएका छन् । दीपसंगै मछिन्द्रका विशाल श्रेष्ठ, एनआरटीका अजित प्रजापति र जाउलाखेलका टेकेन्द्र थापाले समान ५ गोल खाएका छन् ।

मछिन्द्रका विशाल, आर्मीका विकेशसंगै मछिन्द्रका दिपले पनि सर्वाधिक ६ खेलमा क्लिनसिट राखेका छन् ।

आर्मीका विशेकले फ्रेण्ड्स, मनाङ र संकटा विरुद्ध १-१ गोल ब्यहोरेका थिए । मछिन्द्रका विशालले च्यासलविरुद्ध १ तथा मछिन्द्र र थ्रीस्टारविरुद्ध २-२ गोल छाडेका थिए ।  यस्तै मनाङका दीपले फ्रेण्ड्ससंग १ तथा मछिन्द्र र थ्रीस्टारसंग २-२ गोल छाडेका थिए ।

यस्तै एनआरटीका गोलकिपर अजित प्रजापतिले ५ खेलमा क्लिनसिट राख्दा ४ खेलमा गोल खाएका थिए । उनले संकटा, च्यासल र मछिन्द्र विरुद्ध १-१ गोल छाड्दा एपीएफ विरुद्ध २ गोल छाडेका थिए ।

जाउलाखेल युथ क्लबका टेकेन्द्र थापाले पनि ५ खेलमै क्लिनसिट राख्दा ४ खेलमा गोल बेहोरे । उनले संकटा, मछिन्द्र र आर्मी विरुद्ध १-१ गोल ब्यहोर्दा नेपाल पुलिस विरौध २ गोल छाडेका थिए । एपीएफविरुद्धको खेलमा जाउलाखेल १-० ले विजयी हुँदा भने टेकेन्द्रले ७१औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

लिगमा आर्मी, मछिन्द्र र मनाङको बाँकी खेल

मछिन्द्रले खेल्न बाँकी : एपीएफ, आर्मी, संकटा र सरस्वती

आर्मीले खेल्न बाँकी : पुलिस, एपीएफ, मछिन्द्र र ब्रिगेड ब्वाइज

मनाङका बाँकी खेल : च्यासल, पुलिस, एनआरटी र जाउलाखेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment