+
+
Shares

कोरोना भाइरसको असर चितवनको पर्यटन व्यवसायमा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १८ गते ९:४१

१८ माघ, चितवन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण चितवनको पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीले बताएका छन् । देशकै तेस्रो पर्यटकीय गन्तब्यका रुपमा रहेको चितवनमा चिनियाँ पर्यटक आउने क्रम निकै कम भएको छ ।

क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरस संक्रमणको असर सौराहामा परेको बताए । ‘धेरैजसोले बुकिङ रद्द गरेका छन्,’ अध्यक्ष भट्टराई भन्छन्, ‘चिनियाँ मात्र होइन, भारतलगायतका अन्य मुलुकका पर्यटक पनि आएका छैनन् ।’

उनका अनुसार जनवरीदेखि अपि्रल महिनासम्म धेरै चिनियाँ पर्यटकहरु सौराहा, मेघौलीलगायतका चितवनको पर्यटकीय क्षेत्र घुम्न आउँछन् । सौराहा आउने विदेशी पर्यटकमध्ये चिनियाँको संख्या सबैभन्दा धेरै रहने गरेको छ । सौराहामा दैनिक ५ सयदेखि ७ सयसम्म चिनियाँ पर्यटकहरु घुम्न आउने गरेको व्यवसायीहरु बताउँछन् । ३१ डिसेम्वरमा चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि नै चिनियाँ पर्यटकको संख्यामा कमि आएको व्यवसायीहरुको भनाइ छ ।

क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले चिनियाँ पर्यटकहरु आउन कम भए पनि ठप्पै भने नभएको बताए । ‘चीनका केही शहरबाट रोकिएका छन्, सबैबाट होइन,’ घिमिरेले भने, ‘गत वर्ष यो समयमा चिनियाँ पर्यटक बढी आएका थिए, चीनमा नयाँ वर्ष हालै मात्रैं परेकाले यो समयमा बढी पर्यटक घुम्न नेपाल आउँथे ।’

सौराहामा अहिले आन्तरिक पर्यटकहरुको संख्या बढी छ । विभिन्न संघसंस्था र निकायहरुले सौराहामा गर्ने कार्यक्रमहरुले व्यवसाय धानिएको उनीहरुको भनाइ छ ।

विगतका वर्षहरुमा चितवन आउने कूल पर्यटकहरुमध्ये चिनियाँ पर्यटकहरुको संख्या ३० प्रतिशतभन्दा माथि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?