Comments Add Comment

कैलालीमा मोटरसाइकल चालक मृत भेटिए

१८ माघ, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-६ गुलरामा एकजना मोटरसाइकल चालक मृत फेला परेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत गुलरा सडकखण्डमा से २ प १८५० नम्बरको मोटरसाइकलसँगै लोहारपुर घर भएका २२ वर्षीय मायाराम चौधरी मृत फेला परेका हुन् ।

चौधरीलाई मृतावस्थामा देखेपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए ।

चौधरीको मृत्यु भएको खबर पाएलगत्तै उनका आफन्तहरुले शनिबार बिहान करिब ३ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । मृतकका आफन्तले कुनै गाडीले ठक्कर दिएको हुनसक्ने भन्दै छानबिन र क्षतिपूर्तिको माग गरेका छन् ।

चुहामा व्यापार गर्दै आएको चौधरी लम्कीबाट घर जाने क्रममा शुक्रबार राति करिब १२ बजेतिर दुर्घटनामा परेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

ट्रकसँग जुध्दा ट्याक्टर चालकको मृत्यु

यसैबीच वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सुब्बा कुनामा ट्रक र ट्याक्टर जुध्दा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भे १ त ७५८९ नम्बरको ट्याक्टरका चालक वीरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

सो ट्याक्टरलाई वीरेन्द्रनगर नगरपालिका-११ स्थित गंगा पेट्रोलपम्प नजिक लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका ट्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका-२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।

ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका-१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment