Comments Add Comment

भारतमा हिन्दु महासभाका अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या

काठमाडौं । अखिल भारतीय हिन्दु महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान गोली हानी हत्या भएको छ ।

आफ्ना भाइसँगै बिहानको पैदल यात्रा गरिरहेको समयमा बच्चनको लखनउको पाश इलाका हजरतगंजमा गोली हानी हत्या भएको हो । गोली प्रहारबाट रंजितका भाइ समेत घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोड़ाका अनुसार, ‘रणजीत बच्चन आइतबार बिहान ६ बजे आफ्ना भाइसँग बिहानको पैदल यात्रामा बाहिर निस्किएका थिए । हजरतगंज क्षेत्रको सीडीआरआईको नजिकै मोटरसाइकलमा सवार व्यक्तिहरूले उनलाई टाउकोमा गोली प्रहार गरे । गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो । उद्दार गर्न आएका उनका भाइलाई पनि गोली लागेको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको ।’

रणजीत बच्चनको हत्या भएको क्षेत्र लखनउ शहरको अति महत्त्वपूर्ण क्षेत्र हो । यस क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी कार्यालयहरू बाहेक अधिकारी र मन्त्रीहरूको बस्ने ठाउँ पनि छ ।

अतिरिक्त सीपी नवीन अरोड़ाले भने, ’अपराध शाखाका आठ टोली घटनाको अनुसन्धानमा खटिसकेका छन् । पारिवारिक विवाद बाहेक अन्य विषयमा पनि अनुसन्धान भइरहेको छ । रञ्जित बच्चनका परिवारका सदस्यहरूसँग कुनै संवाद भएको छैन र उनीहरूका आफन्तहरूको तर्फबाट पनि प्रहरीमा कुनै उजुरी दर्ता भएको छैन । ’

प्रहरीका अनुसार रणजीत बच्चन हजरतगंजको ओसीआर भवनको बी–ब्लाकमा बस्दै आएका थिए । उनी गोरखपुरका बासिन्दा थिए । समाजवादी पार्टीको शासनकालमा उनी राज्यमन्त्री समेत थिए । राज्यमन्त्री बनेदेखि नै उनी ओसीआरको सरकारी निवासमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment