
१९ माघ, कैलाली । कैलालीमा अवरुद्ध सडक खुलाउने क्रममा झडप हुँदा ९ जना प्रहरी घाइते भएका छन् ।
शनिबार पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना भई २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए।
मृतकका आफन्त तथा स्थानीयबासीले सवारी साधनले ठक्कर दिएर चौधरीको मृत्यु भएको भन्दै सडक अवरुद्ध पारेका थिए । ठक्कर दिने सवारीको पहिचान गरी कारबाही गरिनुपर्ने भन्दै आइतबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लम्कीमा सडक अवरुद्ध पारिएको थियो ।
प्रहरीले सडक सुचारु गर्न खोज्दा झडप भएको हो । झडपमा परी सशस्त्र प्रहरीका चार जना र नेपाल प्रहरीका पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।
‘सडक खुलाउन खोज्दा स्थानीयले ढुङ्गा मुढा गरेपछि केहीबेर स्थिति तनावग्रस्त भएको थियो’ उनले भने, ‘स्थानीयको आक्रमणबाट ९ जनाप्रहरी घाइते भएका छन् ।’
झडपलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्याँस प्रहार गरिएको उनले जानकारी दिए । अहिले सडक सुचारु भइसकेको उनले बताए ।
प्रहरीले ठक्कर दिएको आशङ्कामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । ‘घटनाको अनुसन्धानका लागि मोरकेर सेवा समाज लम्कीले सञ्चालन गरेको एम्बुलेन्स नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘तर, घटना अनुसन्धानकै क्रम छ ।’
अहिले इलाका प्रहरी कार्यालय लम्किमा घटनाका विषयमा सर्वदलीय बैठक भइरहेको छ ।
प्रतिक्रिया 4