Comments Add Comment

प्रधानमन्त्रीले भने – भ्रष्टाचार बढेको होइन, कारवाही गरेकाले देखिएको हो

१९ माघ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार बढेको नभई सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै बाहिर आएको बताएका छन् ।

नेकपा केन्द्रीय कमिटी बैठकमा समापन मन्तव्य दिने क्रममा पार्टी अध्यक्ष समेत रहेका ओलीले विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताए ।

‘मैले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेको छु’ उनले भने, ‘खासमा अहिले भ्रष्टाचारीहरु पक्राउ परेका छन् । त्यस्ता काण्डहरु बाहिर ल्याइएको छ । विगतमा गुपचुप हुन्थ्यो । अहिले सरकारले कारवाही गरेपछि भ्रष्टाचार बढेको ढंगले प्रचार गरिएको छ ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट बच्न पार्टी नेता कार्यकर्ताले जनतामा सामाजिक अभियान चलाउनुपर्ने बताए । त्यसक्रममा उनले कोरोनाबाट कसरी बच्ने भनेर जानकारी समेत दिएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकका क्रममा केही सञ्चार माध्यमले पूर्वाग्रही भएर गोठ छुट्याउने काम गरेको समेत बताए ।

उनले तीनै तहका सरकार पार्टीको नीति निर्देशनअनुसार चल्नुपर्ने भन्दै बैठकले दिएका सुझाव र निर्देशनहरु कार्यन्वयन हुने बताए । प्रधानमन्त्रीले बैठक सौहार्द्धपूर्ण रहेको भन्दै खुसी व्यक्त गरेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment