Comments Add Comment

सरस्वती पूजाको प्रसाद खाँदा ६७ जना बालबालिका बिरामी

१९ माघ, सप्तरी । सप्तरीको एक विद्यालयमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाने ६ दर्जनभन्दा बढी बालबालिका बिरामी परेका छन् ।

जिल्लाको सुरुङ्गा नगरपालिका ७ स्थित राष्ट्रिय प्राथमिक विद्यालय हरिपुरमा आयोजना गरिएको सरस्वती पूजाको प्रसाद खाँदा ती बालबालिका बिरामी परेको स्थानीय रामनाथ साहले जानकारी दिए ।

उनले विद्यालयमा निर्माण गरिएको मूर्ती सेलाएपछि बालबालिकालाई श्रीपञ्चमकै दिन तयार पारिएको बुनियाँ (मिठाई) बाँडिएको बताए । बुनियाँ खाए लगत्तै शनिबारदेखि नै बालबालिका बिरामी पर्न थालेका छन् । आइतबार दिउँसोसम्म ६७ जना बालबालिका बिरामी परेका छन् ।

प्रसादको रुपमा बाँडिएको बुनियाँमा फुड् प्वाइजनका कारण उनीहरु बिरामी भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

बिरामी भएपछि बालबालिकामध्ये कतिपयको राजविराज त कतिपयको लहानमा उपचार भइरहेको साहले जानकारी दिए ।

आइतबारदेखि नगरपालिका कार्यालय र वडा कार्यालयको समन्वयमा सोही विद्यालयमा बिरामीको उपचार गर्न शिविरको आयोजना गरिएको छ ।

नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले बालबालिका बिरामी भएपछि शिबिरै राखेर उपचार थालिएको बताए । उनका अनुसार बिरामी परेकामध्ये सबैको अवस्था खतरामुक्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment