Comments Add Comment

विश्वकप लिग २ मा डेब्यु गर्दै नेपाल, यस्तो छ ओमान र अमेरिकासँगको विगत

२० माघ, काठमाडौं । ओमान र अमेरिका पछिल्लो समय विश्व क्रिकेटमा फड्को मारिरहेका टिम हुन् । दुवै टिममा आप्रवासी खेलाडीको बाहुल्य छ । ओमानले त टी २० विश्वकप पनि खेलिसकेको छ । अहिले दुवै टिमसंग वान डे इन्टरनेशन ओडीआई अर्थात आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता छ ।

नेपालले यी दुई टिम भन्दा अघि नै ओडीआई मान्यता पाएका हुन् । यही दुई टिम सम्मिलित त्रिकोणात्मक सिरिज घरेलु मैदानमा खेल्दै नेपालल आईसीसीको नयाँ साइकल विश्वकप लिग २ मा डेब्यू गर्दैछ ।

सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको लागि यो लिग रोडम्यापसमेत हो । लिग २ मा अमेरिका र ओमानले यसअघि दुई सिरिज खेलिसकेका छन् । नेपालको भने यो पहिलो सिरिज हो । अनि घरेलु मैदानमा पनि ओडीआई मान्यता पाएपछि यो पहिलो सिरिज हो ।

त्यसैले अहिले नेपाली क्रिकेट खेलाडीदेखि समर्थक सबै सिरिजको प्रतीक्षामा रहेका छन् । खेलाडी घरेलु मैदानमा दर्शकको अगाडि खेल्न उत्साहित छ भने दर्शकहरु क्रिकेटप्रेमी आफ्नै मैदानमा आफ्नै खेलाडीले ओडीआई मान्यता प्राप्त खेल खेलेको हेर्न उत्साहित छ ।

अर्को खुशीको विषय के छ भने नेपालको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानले पनि अब ओडीआई मैदानको मान्यता पाउँदैछ । त्यसैले धेरै अर्थमा नेपालको लागि यो सिरिज महत्वपूर्ण छ । सन् २०१८ मार्चमा जिम्बावेमा ओडीआई विश्वकप छनोट खेलेर पहिलो पटक ओडीआई राष्ट्रको मान्यता पाएको नेपालको लागि यो समग्रमा तेस्रो सिरिज हो । नेपालले यसअघि खेलेको दुई सिरिज हारेको छैन । त्यसैले पनि नेपालको लागि घरेलु मैदानमै सिरिज जित्दै लिग २ मा राम्रो शुरुवात गर्ने अवसर पनि छ ।

नेपालले नेदरल्याण्ड्ससंग खेलेको पहिलो ऐतिहासिक सिरिज १-१ ले बराबरी गरेको थियो भने युएईविरुद्ध दोस्रो सिरिज २-१ ले जितेको थियो । नेपालले दुवै देशमा गएर सिरिज खेलेको थियो ।

माघ २२ गते बुधबार नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र ओमानका कप्तान जिसन मक्सुद मैदानको बीच भागमा रहेको पिच नजिकै गएर टस गरेपछि टीयू मैदानले ओडीआई मैदानको मान्यता पाउनेछ । त्यसपछि घरेलु मैदानमा नेपालले पहिलो ओडीआई क्रिकेट खेल खेल्नेछ । अनि विश्वकप लिग २ मा पनि पहिलो खेल हुनेछ नेपालको लागि ।

दुई वर्षसम्म चल्ने यो लिगमा राम्रो शुरुवात गर्ने लक्ष्यमा नेपाल छ ।

के हो लिग २ ?

आईसीसीले सन् २०१८ को बैठकबाट विश्व क्रिकेटमा नयाँ साइकल शुरु गर्ने निर्णय गरेको थियो ।  सन् २०२३ मा भारतमा हुने ओडीआई विश्वकपको लागिसमेत रोडम्यापको रुपमा रहेको यस साइकलबाट विभिन्न चरणको छनोट खेल्दै जम्मा १० टिम विश्वकपमा छनोट हुनेछन् ।

लिग २ मा नेपालसहित कूल ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सन् २०१८ मा ओडीआई मान्यता पाएका नेपालसहित युएई र स्कटल्याण्ड अनि २०१९ मा भएको आईसीसी डिभिजन २ को उत्कृष्ट चार राष्ट्र अमेरिका, ओमान, नामिबिया र पपुवा न्यू गिनीले लिग २ खेल्नेछन् । यी सातवटै टिमसंग अहिले ओडीआई मान्यता छ ।

२०१९ देखि २०२२ सम्म हुने विश्वकप लिग २ बाट शीर्ष ३ टिम ग्लोबल क्वालिफायर पुग्नेछ । जहाँ १३ राष्ट्रको सुपर लिगमा पूछारका ५ टिम पनि हुनेछ । यस्तै लिग २ को पुछारका ४ टिमले लिग च्यालेन्जको शीर्ष २ टिमसहितको प्लेअफ खेल्नेछ । त्यसबाट पनि २ टिम ग्लोबल क्वालिफायर पुग्नेछ । जहाँ कूल १० टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट शीर्ष २ टोली २०२३ को विश्वकप पुग्नेछ ।

नेपालको लागि यो बाटो त्यही सहज भने पक्कै छैन । लिग २ मा नेपालले खेलिसकेका टिमहरु भए पनि चुनौतीपूर्ण नै छ । यदि नेपाल शीर्ष ३ मा परेमा सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछ । बटम ४ मा परेमा च्यालेन्जका उत्कृष्ट २ टिमसंग खेल्दै पुन: ग्लोबल क्वालिफायर पुग्ने अवसर बाँकी नै हुनेछ । प्लेअफमा शीर्ष दुईमा परेमा ग्लोबल क्वालिफायर पुग्नेछ।

जहाँ ५ टिमसंगै आईसीसीका १२ फुल मेम्बर र नेदरल्याण्ड्सहसित १३ टिमबीच हुने सुपर लिगको बटम ५ टिम पनि हुनेछ । टेष्ट मान्यता प्राप्त राष्ट्रहरु पनि त्यहाँ हुनेछ। जसमा नेपालको लागि थप चुनौती बन्न सक्छ ।

यसै वर्षको मे देखि २०२२ सम्म १३ राष्ट्रहरुको सुपर लिगका खेलहरु हुनेछ ।

उत्कृष्ट दुई विपक्षीसंग भिडन्त

सिरिज खेल्ने नेपाल बाहेकको दुई टिम अमेरिका र ओमानले लिग २ मा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अमेरिका ८ मध्ये ६ खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा छ । ६ खेलबाट ४ जीतसहित ८ अंक जोडेको ओमान चौथो स्थानमा छ । ७ टोली सहभागी लिगमा नेपालले मात्र खेल्न बाँकी छ । ओमानी राजाको मृत्युका कारण घरेलु मैदानमा भएको सिरिजको दुई खेल रद्ध भएकोले ओमानले २ खेल खेल्न पाएन ।

दुवै टिम अहिले लिग खेल्नेमध्ये उत्कृष्ट टिम रहेको र उत्कृष्ट विपक्षी रहेको नेपालका प्रशिक्षक उमेश पटवालले बताएका छन् । लिग २ मा राम्रो गर्नको लागि यस्तै खालको विपक्षीसंग नै राम्रो खेल्नुपर्ने कप्तान ज्ञानेन्द्रको धारणा छ ।

घरेलु मैदानमा २०१६ पछि पहिलो पटक एकदिवसीय क्रिकेट खेल्न लागेका निवर्तमान कप्तान पारस खड्का पनि निकै उत्साहित छन् । सबैभन्दा खुशीको कुरा हाम्रो मैदानले ओडीआई मान्यता पाउँदैछ । उनले भनेका छन् । लिग २ मा राम्रो गर्नका लागि पहिलो सिरिजबाटै राम्रो शुरुवात गर्नुपर्ने उनले बुझेका छन् ।

यस पटक नेपाली टिममा ज्ञानेन्द्र र पारससहित शरद भेषावकर र विनोद भण्डारीबाहेक सबै युवा खेलाडी छन् । भेट्रान स्पीनर बसन्त रेग्मी र प्रमुख फास्ट बलर सोमपाल कामी टिममा छैनन् । जसले गर्दा युवा खेलाडीहरु कुशल मल्ल र कमल सिंह ऐरीले टिममा स्थान बनाएका छन् । अलराउण्डर कुशलले यसअघि टी२० टिमबाट खेलिसके पनि ओडीआईमा पहिलो पटक परेका हुन् । कुशल र कमलसंगै अभिनाश बोहरा र सुशन भारीले पनि नेपालको लागि ओडीआईमा डेब्यु गर्न बाँकी छ ।

नेपाली सिनियर टिमको बेन्च बलियो पार्न यी युवा खेलाडीहरुको प्रदर्शनले सहयोग पुग्ने कप्तान ज्ञानेन्द्रले बताएका छन् । उनीहरुको क्षमता अनुसार खेलाउन सके राम्रो हुने मल्लको बुझाइ छ ।

यसअघि आईसीसीको साइकलको रुपमा रहेको विश्व क्रिकेट लिगमा नेपाल र अमेरिका नियमित प्रतिस्पर्धी जस्तै थियो । ओमानसंग पनि नेपालले यसअघिको विश्व क्रिकेट लिगमा खेलिसकेको छ । एक अर्थमा हेर्दा दुवै टिम नेपालको लागि परिचित नै हुन् । तर नेपालले २०१३ यता ओमानलाई ओडीआईमा हराउन सकेको छैन । अमेरिकासंग भने नेपालले ६ वर्षपछि खेल्दैछ ।

अमेरिकासंग २०१० को त्यो खेल

नेपाले अमेरिकासंग सन् २००८ मा डिभिजन ५ मा पहिलो पटक खेलेको थियो । त्यसको दुई वर्षपछि २०१० मा घरेलु मैदानमै भएको डिभिजन २ मा नेपालले अमेरिकासंग २ खेल खेलेको थियो । नेपाल र अमेरिका २००८ मा पहिलो पटक खेल्दाका तीन खेलाडी नेपाली टिममा छन् । २०१० मा खेल्दाका ४ खेलाडी नेपाली टिममा छन्न् । अमेरिकी टिममा कुनै खेलाडी बाँकी छैनन् ।

२०१० मा कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपाल र अमेरिकाबीच दुई खेल भएको थियो । लिग चरणमा अमेरिका विजय हुँदा फाइनलमा नेपालले बदला लिँदै अमेरिकालाई हराएर च्यम्पियन बनेको थियो ।

फाइनल खेल्नुअघि नेपाल लिग चरणबाटै बाहिरिने खतरामा समेत थियो । तर दर्शकले उपद्रो गर्दा नेपाली टिमलाई फाइदा पुग्‍यो तर त्यसपछिका केही वर्ष भने नेपाली क्रिकेट नै त्यो घटनाले घाटा पुग्यो ।

डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई हराएर उपाधि जितेको थियो । तर लिग चरणमा नेपाल र अमेरिकाबीचको खेलमा नेपाली दर्शकले अभद्र व्यवहार गर्दा आईसीसीले अनुसन्धान नै गर्नुपरेको थियो । दर्शकको खराब व्यवहारपछि नेपाल भाग्यमानी बन्दै सिंगापुरलाई रनरेटमा पछि पारेर फाइनल पुगेको थियो ।

लिग चरणको अन्तिम खेल अमेरिकाले जितेमा सिधै फाइनल पुग्ने थियो । नेपाल विजयी भएमा भने नेपाल र सिंगापुर फाइनल पुग्ने थियो । तर नेपाल पराजित भएको खण्डमा अमेरिका फाइनल पुग्थ्यो भने फाइनल पुग्ने दोस्रो टिमको निर्णय रनरेटमा हुन्थ्यो ।

यस्तो अवस्थामा नेपाल अमेरिकासंग हार्न लागेपछि नेपाल दर्शकले ढुंगा र बोतल मैदानमा फालेर खेललाई डिस्टर्व गरेका थिए । त्यसपछि ओभर घटाइएको खेलमा अमेरिका विजयी भए पनि नेपालले सिंगापुरलाई रनरेटमा पछि पारेको थियो ।

त्यस घटनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नराम्रो छवि बन्यो। साथै नेपालले आईसीसीको धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने अवसर पनि गुमाएको थियो ।

त्यसबेला खेलेको कुनै पनि खेलाडी अहिले अमेरिकन टिममा छैन् । अहिलेको अमेरिकी टिममा भारत, वेष्ट इन्डिजदेखि दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडीहरु समेत छन् । नेपाली टिममा भने २०१० मा डिभिजन खेलेका कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का शरद भेषावकर र विनोद भण्डारी गरी ४ जना छन् ।

ओमान र अमेरिकासंग नेपालको हेड टु हेड

नेपाल भर्सेज : ओमान हेड टु हेड

२००२ एसीसी ट्रफी : नेपाल १०५ रनले विजयी

२०१० एसीसी ट्रफी एलिट : नेपाल ६ विकेट विजयी

२०१३ डिभिजन थ्री : नेपाल २८ रनले विजयी

२०१४ एसीसी प्रिमियर लिग : ओमान २ विकेटले विजयी

२०१५ एसोसिएट टुर म्याच : ओमान ३ विकेटले विजयी

२०१८ डिभिजन टू : ओमान ६ विकेटले विजयी

२०१८ एसिया कप छनोट : ओमान ७ विकेटले विजयी

नेपाल भर्सेज अमेरिका : हेड टु हेड

२००८ डिभिजन ५ : शुरुको दुई खेल वर्षा कारण नो रिजल्ट, तेस्रो स्थानको खेलमा नेपाल ९६ रनले विजयी

२०१० डिभिजन ४ : वर्षाले खेल रद्ध, रिप्ले म्याचमा अमेरिका ५५ रनले विजयी

२०१० डिभिजन ५ : लिग चरणमा अमेरिका ५ विकेटले विजयी,फाइनलमा नेपाल ५ विकेटले विजयी

२०१२ डिभिजन ४ : लिग चरणमा नेपाल ३२ रनले विजयी, फाइनलमा नेपाल ८ विकेटले विजयी

२०१३ डिभिजन ३ : अमेरीका ९४ रनले विजयी

२०१४ डिभिजन ३ : नो रिजल्ट वर्षाले रद्ध, रिप्ले नेपाल डीएल मेथडमा मा १० रनले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment