Comments Add Comment

झलनाथको अध्यक्षतामा एमसीसी कार्यदलको पहिलो बैठक बस्यो

२० माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप  ज्ञवालीको उपस्थिति थियो ।

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो ।

कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको स्रोतले बतायो ।

बैठकले एमसीसी सम्झौतासम्बन्धी के-कस्ता सन्दर्भ सामाग्रीहरु अध्ययन गर्ने भन्नेबारेमा छलफल गरेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तरगत नेपालले विद्युत र सडकमा ५५ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर नेकपाभित्र विवाद छ । यही विवादका कारण मन्त्रिपरिषदले पारित गरिसकेको एमसीसी कम्प्याक्ट संसदमा पेश हुन सकेको छैन ।

अब खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि बल्ल प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् ।

एमसीसीको अध्ययन गर्ने तीन सदस्यीय समितिमा दुईजना एमसीसीका आलोचक र एकजना मात्र पक्षधर रहेकाले समितिले कस्तो निष्कर्ष प्रस्तुत गर्ला भन्ने विषयमा अहिले नै बताउन सकिने स्थिति छैन ।

कार्यदलका संयोजक खनाल र सदस्य रावलले यसअघि एमसीसीको आलोचना गर्दै आइरहेका छन् । तर, परराष्ट्रमन्त्री ज्ञवाली यो पारित हुनुपर्छ भन्ने पक्षमा छन् ।

एमसीसीका बारेमा अब के होला भन्ने अनलाइनखबरको प्रश्नमा नेकपा महासचिव विष्णु पौडेल भन्छन्, ‘यस सम्बन्धमा अहिले हाम्रो पार्टीले औपचारिकरुपमा कार्यदल बनाएर अध्ययनका लागि जिम्मा दिएको र १० दिनको समयावधि तोकेको हुनाले अहिले मैले आफ्नो निजी धारणा व्यक्त गर्नु सुल्टो हुँदैन । तर, अब के हुन्छ भन्ने कुराको अनुमानचाहिँ तपाईंहरुलाई पनि छ र हामीलाई पनि छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment