Comments Add Comment

कोरोना प्रभाव : चाइना साउदर्नले उडान घटायो, हिमालयका सबै रद्ध  

२० माघ, काठमाडौं । यात्रु अभाव भएसँगै चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले काठमाडौं ग्वाङझाउ उडान कटौती गरेको छ । दैनिक दुई उडान गरिरहेको कम्पनीले एक उडान ८ दिनका लागि झिक्ने निर्णय लिएको त्रिभुवन विमानस्थल कार्यालयका निर्देशक देवचन्द्रलाल कर्णले जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको त्रासका कारण चीनबाट नेपाल आउने यात्रु घटेसँगै कम्पनीहरु क्रमशः उडान कटौती गर्ने मुडमा पुगेका छन् । यद्यपी अन्य वायुसेवा कम्पनीले भने विमानस्थललाई उडान कटौती तथा रद्ध गर्ने सम्बन्धमा जानकारी गराएका छैनन् ।

‘आजसम्म चाइना साउदर्नले एक उडान घटाउनुबाहेक अन्य कम्पनीले विमानस्थललाई उडान तालिका परिवर्तन भएकोबारे जानकारी गराएका छैनन्’, उनले भने ‘चाइना साउदर्नले ८ दिनका लागि एक उडान झिक्ने गरी हामीलाई तालीका दिएको छ ।’

आइतबारदेखि एक उडान झिकेको चाइना साउदर्नले १० फेब्रुअरीसम्म एक मात्र उडान गर्ने गरी तालिका लिएको छ । चाइना साउदर्नले यात्रुहरुलाई भने २४ फेब्रुअरीसम्म नै एक उडान रद्ध हुने जानकारी गराएको छ ।

चीनमा नेपाली कम्पनी हिमालय एयरलाइइन्सले सबै उडान तत्कालका लागि रद्ध गरिसकेको छ । एक साता अगाडि नै कम्पनीले उक्त जानकारी गराएको थियो । हिमालयले चीनका अधिकांश शहरमा प्रवर्द्धनात्मक उडान गरिरहेको थियो ।

सोही समयमा कोरोना भाइरस फैलिएपछि अपेक्षित यात्रु नपाउने देखिएपछि हिमालयले उडान रद्ध गरेको हो । अन्य एयरलाइन्सहरूले भने नियमित उडान गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । अन्य कम्पनीबाट  नेपालमा हुने उडान कतौतीको सूचना प्राप्त नभएको निर्देशक कर्णले जानकारी दिए ।

नेपालमा चीनका ५ वटा एयरलाइन्सले उडान गर्छन् । चीनबाट चाइना साउदर्न, चाइना इस्टर्न, एयर चाइना, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्सले चीनका आधा दर्जन शहरमा उडान गरिरहेका छन् । हिमालय एयरलाइन्सले समेत ५ गन्तब्यमा उडान विस्तार गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment