Comments Add Comment

इभेन्टसको संसार

रातको ९ बजेको थियो । फेसबुकको न्युजफिड हेर्दै थिएँ । मेरो आँखा एउटा इभेन्टमा पर्‍यो । उक्त इभेन्ट झापाको दमक पब्लिक लाइब्रेरी (डी.पी.एल.) ले आयोजना गर्न लागेको थियो । त्यस रात इभेन्टबारे सोच्दा-सोच्दा राम्ररी सुत्न पनि सकिन ।

भोलिपल्ट कलेजको पढाई छोडेर भए पनि इभेन्टमा जाने निर्णय गरेँ । ५०-६० किलोमिटर दूरीको यात्रा गरेर म दमक पुगेँ ।

त्यसबखत मेरा लागि दमक नौलो ठाउँ थियो। बल्लतल्ल इभेन्ट हुने ठाउँमा पुगेँ। मेरा लागि यो पहिलो अनौपचारिक इभेन्ट थियो। इभेन्ट हलका अगाडी डी.पी.एलका संस्थापक भेषराज न्यौपाने व्हीलचेयरमा थिए।

भेषराज दाईले मुस्कानका साथ स्वागत गर्नु भएको थियो । अझै पनि त्यो मुस्कान मानसपटलमा ताजा छ। हामी गफ गर्दै गर्दा दाइले हामी त बन्धु पो रहेछौ भन्नु भएको थियो।

इभेन्टका धेरैजसो वक्ताहरूको नाम मलाई अहिले याद छैन । तर कवि मनु मन्जिलको कविताहरू र भेषराज दाइको सेसनको धेरै जसोकुराहरू अझै पनि याद छन् । कवि मनु मन्जिलको “ल्याम्प पोस्ट” कविता सबैभन्दा प्रिय लागेको थियो। त्यस इभेन्ट पश्चात् कवि मनु मन्जिललाई भेट्ने मौका जुरेको छैन ।

नेपाली समाजमा इभेन्टमा जाने अनि अरूको कुरा सुन्ने कल्चर युवापुस्तामा पातलो छ

तर उनको हाँसो भने अझै सम्झनामा छ । कति प्रिय हाँसो । हर कोहीलाई मन पर्छ होला ।

मेरा लागि भेषराज दाईको सेनानी ट्रेनिङदेखि, व्हीलचेयर र डी.पी.एल सम्मको यात्रा, सपना र सङ्घर्षको कथा प्रेरणाको श्रोत बनेको छ। केहीवर्ष पश्चात् डी.पी.एलको एउटा इभेन्टमा कर्ण शाक्य वक्ता थिए । कर्ण शाक्यको खोज किताब मेरो जीवनको एउटा परिवर्तनको बिन्दु बनेको छ ।

म कर्ण शाक्यलाई सुन्न भनेर उक्त इभेन्टमा गएँ । भेषराज दाईसँग बोलौँ की भनेँ तर खोइ किन हो शाहस नै जुटेन ।

के भनेर बोल्ने? के विषयमा कुरा गर्ने ? भन्ने बारे म अनविज्ञ थिए । त्यस बखत मेरो मनको इच्छालाई दिमागमा भएको डरले जितेको थियो ।

भेषराज दाईसँग त्यस दिन पश्चात् पुनः भेट्ने मौका मिलेको छैन । म जस्ता सयौँ युवाहरू हरेक इभेन्टमा भेट्ने भेषराज दाईले अहिले मलाई त बिर्सिसक्नु भयो होला । तर भेषराज दाई र वहाँको कथा मेरा लागि मार्गदर्शक बनेको छ ।

काठमाडौँको तुलनामा मुलुकको अन्य ठाउँहरूमा इभेन्ट वा प्रोग्रामहरू न्यून हुन्छन् । झापामा हुँदा इभेन्टमा उपस्थित हुनका लागि म लामो दूरीको यात्रा गरेर पनि पुग्थेँ ।

तर, काठमाडौँमा भने हरेक दिन जसो इभेन्ट हुन्छ। स्नातक अध्ययनका लागि काठमाडौँ आएको सुरुका दिनहरूमा म जस्ता सुकै इभेन्टहरूमा जान्थे। तर, बिस्तारै आफूलाई मन पर्ने इभेन्टहरूमा मात्र जान थाले ।

अचेल कलेजहरूले आयोजना गर्ने इभेन्ट, बिजनेस इभेन्ट, मार्टिन चौतारी जस्ता पुस्तकालयको इभेन्ट, राजनीतिक विचार मन्थन मलाई प्रिय लाग्छ । वास्तवमा भन्ने हो भने इभेन्टमा आफू जस्तै सोच्ने र आफू जस्तै सपना भएका धेरै मानिसहरू भेट्न सकिन्छ ।

 एक दिन एकजना दाईले “भाई तिमी जुन इभेन्टमा म पनि त्यही इभेन्टमा हो की ? म जुन इभेन्टमा तिमी पनि त्यही इभेन्टमा हो ?” भनेर ठट्टा गर्नु भएको थियो। अचेल म आफू जाने धेरै जसो इभेन्टहरूमा परिचित अनुहारहरू देख्ने गर्छु।

हिजोआज म कुन इभेन्टमा जाने भनेर पूर्वतयारी गरेर बस्छु। त्यस दिनका सबै जसो कामहरू अरु दिनका लागि सुम्पिन्छु। किताब यात्राको फेब्रुअरी १ मा बानेश्वरको एभेरेष्ट होटलमा भएको “किताब जात्रा” र के.एम.सी. नेटवर्कका कलेजहरूले फेब्रुअरी ७ मा कमलादीको प्रज्ञा प्रतिष्ठानमा गर्न लागेको “काठमाडौँ युथ कन्क्लेभ २०२०” लिस्टमा छ ।

किताब जात्रामा आफूलाई प्रिय लाग्ने वक्ताहरूको कुरा सुनेर थप ऊर्जा मिलेको छ। किताब पढ्न रुचि भएता पनि कुन किताब? कस्ता किताब? कस्को किताब? किन पढ्ने ? लगायतका विषयहरूमा भने म अनविज्ञ थिए। तर किताब यात्रामा गए पश्चात् भने मैले यसबारे धेरै कुराहरू जान्न र बुझ्ने मौका जुर्‍यो।

वर्षौँ अघि भेटेको कवि मनु मन्जिललाई देख्दा र सुन्दा खुसी लाग्यो। उनको हाँसो हेर्न म आतुर थिए। अस्मिता सिंह भनेर पत्रकार दिलभुषण पाठकले मानुषीयमी भट्टराईलाई बोलाउँदा त छक्क परेको थिए।

दिलभुषणले उनलाई सबैभन्दा पहिला पढेको पुस्तक कुन हो? भनेर सोध्दा उनले “कार्टुनमा भएको लेनिनको आत्मकथा”  भनेकी थिइन। सुन्दा अचम्म लागेको थियो। मैले त लेनिन भन्ने व्यक्ति १७ वर्ष उमेरको हुँदा मात्र चिनेको थिए।

नेपालका एक मात्र  “बिल्यनर” विनोद चौधरी, बैंकर अनिल केशरी शाह, पत्रकार टिकाराम यात्री, आहुति, सुधीर शर्मा लगायत अन्यलाई सुनेर धेरै कुराहरू सिक्ने र जान्ने मौका मिलेको थियो। किताब जात्रामा एम.सी.सी लगायत अन्य समसामयिक विषय साथै किताबबारे विचार विमर्श समेत भएको थियो।

देशमा नै बसेर सङ्घर्ष गरेर आफ्नो करियर बनाएका सन्दीप लामिछाने, निश्चल बस्नेत लगायत अन्यको कथा र यात्रा सुनेर जिन्दगीको नयाँ आयाम सुरु हुनसक्छ

काठमाडौँ युथ कन्क्लेभ २०२० (के.वाई.सी ) म जस्तै युवाहरूले आयोजना गर्न लागेको इभेन्ट हो । इभेन्टमा ३००० बढी विद्यार्थीको उपस्थिति हुन्छ । स्वदेशमा नै विश्व स्तरीय शिक्षा दिन नेपालका कलेजहरू सक्षम छन् भनेर २०१९ देखि यस इभेन्टको सुरुवात भएको थियो ।

के.वाई.सी २०१९ मा अरूलाई सधैँ हँसाउने सन्दीप क्षेत्रीको सङ्घर्षका कथा, क्रिकेटका माध्यमबाट सारा मुलुकलाई एकजुट बनाउने तत्कालीन नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको यात्रा, शृङ्खला खतिवडा, सिसन बानियाँलगायतका कथाले जिन्दगीमा थप ऊर्जा प्रदान गरेको थियो ।

के.वाई.सी २०२० मा क्रिकेटर सन्दीप लामिछाने, निश्चल बस्नेत, डा. भगवान कोइराला, आयेशा शाक्य, बैंकर अनिल केशरी शाह लगायत अन्यलाई सुनेर जीवनमा थप ऊर्जा थप्न आतुर छु । यस इभेन्टमा खाना स्टल, गेमजोन, साङ्गीतिक प्रस्तुति हुनुका साथै वक्ताहरूसँग अन्तरक्रिया कार्यक्रम पनि हुन्छ ।

‘इभेन्ट’ शब्द १६ औ शताब्दीमा ‘इभेनटस्’ भन्ने ल्याटिन शब्दबाट उत्पत्ति भएको थियो। इभेनटसको अर्थ रिजल्ट अर्थात् नतिजा हुन्छ। मेरो विचारमा अर्थ जस्तै इभेन्टमा उपस्थित हुनाले अवश्य पनि त्यसबाट सकारात्मक नतिजा आउँछ ।

कुनै पनि इभेन्ट मानिसको जीवनमा “टर्निङ् पोईन्ट” हुन् सक्छ। इभेन्टमा गएर आफू जस्तै अरू के के गर्दै छन् भनेर जान्न पाईन्छ। आफ्नो ‘कम्फर्ट जोन’ बाट बाहिर आउन इभेन्टले ठूलो मद्दत गर्छ।

तर नेपाली समाजमा इभेन्टमा जाने अनि अरूको कुरा सुन्ने कल्चर युवापुस्तामा पातलो छ। उनीहरू इभेन्टमा जान भन्दा कोठामा बसेर फोन चलाउन बढी रुचाउँछन्। यस्को कारण धेरै जसो इभेन्टहरूको इन्ट्री महँगो भएकाले पनि हुनसक्छ।

तर धेरै जसो युवापीडी देश र समाजमा के हुँदै छ भन्नेबारे पनि अनविज्ञ छन्। मेरो विचारमा वर्षौँ लगाएर कक्षा कोठामा सिकिने ज्ञान एउटा इभेन्टमा गएर सिक्न सकिन्छ। त्यसैले इभेन्टमा उपस्थित हुनाले समयको बर्बादी नभएर सही सदुपयोग हुन्छ।

रोजगारी, पढाई साथै अन्य सिलसिलामा विदेश पलायन हुने नेपाली युवाहरू सङ्ख्या बढ्दो छ। तर देशमा नै बसेर सङ्घर्ष गरेर आफ्नो करियर बनाएका सन्दीप लामिछाने, निश्चल बस्नेत लगायत अन्यको कथा र यात्रा सुनेर जिन्दगीको नयाँ आयाम सुरु हुनसक्छ ।

साँच्चै युवाले चाहने हो भने सन्दीप लामिछानेले जस्तै क्रिकेटमा, निश्चल बस्नेतले जस्तै फिल्म क्षेत्रमा, रन्जु दर्शना जस्तै राजनीतिमा, गौरिका सिंह जस्तै खेलकुदमा आमूल परिवर्तन ल्याउनुका साथै अन्य हजारौँ युवापीडिलाई उक्त क्षेत्रमा आउन प्रेरणा दिनुका साथै मार्गदर्शक बन्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment