Comments Add Comment
नेकपा बैठकको समिक्षा :

हामीले बिर्सिसक्यौं, कोट्याएर नसम्झाउनुहोला !

‘गुट निर्मूल गर्ने सन्दर्भमा यो बैठक एउटा कोसेढुंगा हो’

२० माघ, काठमाडौं । नेकपाले आइतबार राष्ट्रिय सभागृहबाट घोषणा गरेको एमसीसी अध्ययनसम्बन्धी तीन सदस्यीय कार्यदलमा पूर्वमाओवादीका एकै जना नेता पनि परेनन्, तीनैजना पूर्वएमालेबाट छानिए ।

कार्यदलमा झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवालीको नाम घोषणा भइरहँदा फ्लोरबाट महासचिव विष्णु पौडेललाई एउटा कागजको चिर्कटो आयो ।

चिर्कटो पठाउने नेता साबिक पूर्वएमालेका केन्द्रीय सदस्य थिए । त्यसमा लेखिएको थियो, ‘तपाईहरुले प्रस्तावित गरेको कार्यदलका तीनैजना नेताहरु त साविक एमाले खण्डका पर्नुभयो नि, माओवादी खण्डका एक–दुईजना मिसाउनुपर्दैन ?’

महासचिव पौडेलले चिर्कटो मनमनै पढे र खल्तीमा हाले ।

केन्द्रीय कमिटीको बैठक समापन भएपछि सचिवालयका नेताहरु बैठक सफल भएकोमा प्रशन्न चित्त बनाएर समीक्षात्मक मुडमा चियापानमा जुटे । चिया पिइरहेका ठाउँमा महासचिव पौडेलले चिर्कटोको प्रशंग कोट्याए ।

महासचिवका कुरा सुनेपछि अध्यक्ष प्रचण्डले झसंग हुँदै भने, ‘ए हो त है, मैले पनि यो कुरा त ख्यालै गरेको थिइनँ !’

साढे चार सयजनाको बैठक आयोजना गरेको अनुभव थिएन । व्यवस्थितरुपमा बैठक कसरी सम्पन्न गर्छौं भन्ने प्रश्न थियो ।

प्रचण्डले आफ्नो पूर्वसमूहलाई बिर्सेको उदाहरण दिँदै पौडेल अनलाइनखबरसँग भन्छन्, ‘यसले के बताउँछ भने अब हामी त्यो पूर्वसमूहको सम्झनाबाट माथि उठिरहेका छौं ।… तपाईले स्मरण गर्नुभएका कैयौं कुराहरू हामीले बिर्सिसक्यौं । फेरि त्यसलाई कोट्याएर सम्झाउन उत्प्रेरित नगर्नु होला ।’

महासचिव पौडेलले केन्दीय कमिटी बैठक सफलतापूर्वक सम्पन्न भएको र गुटहरुको अन्त्यका लागि कोशेढुंगा सावित भएको दाबी गरे । उनले थपे, ‘यो कुरा म फेरि दोहोर्‍याएर भन्न चाहन्छु–गुट निर्मूल गर्ने सन्दर्भमा यो बैठक कोशेढुंगा हो ।’

नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकको सेरोफेरोमा केन्द्रित रहेर महासचिव पौडेलसँग अनलाइनखबरले गरेको गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

नेकपाको दोस्रो पूर्ण बैठक दुबै अध्यक्षका लागि ‘विन–विन’ भएको हो ?

दुईजना अध्यक्ष आपसमा लड्नुभएको भए एउटाले जित्ने र अर्को हार्ने सम्भावना हुन्थ्यो । उहाँहरूले आपसमा होइन, चुनौतीका विरुद्ध लड्ने सामूहिक अठोट गर्नुभएको हो । त्यसकारण यो बैठकमा एउटा अध्यक्षले जित्ने र अर्कोले हार्ने कुनै सम्भावना नै थिएन । कि दुबैले हार्नुपथ्र्यो, कि दुबैले जित्नुपथ्र्यो । दुबैले जित्नु भयो । दुईजना अध्यक्षले मात्रै होइन, सिंगो केन्द्रीय कमिटीले जितेको छ । सारमा भन्ने हो भने समस्त पार्टीले जितेको छ ।

नेकपाको दोस्रो पूर्ण बैठक कहीँ न कहीँ अन्तरविरोधको भुँवरीमा फस्ला र त्यहाँनेर बल्छी थाप्न पाइएला, भूक हाल्न पाइएला भन्ने शक्ति÷प्रवृत्तिहरू यतिबेला निराश छन् । मिहिनेत त गरियो, तर नतिजा आएन भनेर निराश छन् ।

हाम्रा लागि भने बैठक यसरुपमा नै सम्पन्न हुन्छ भन्ने पूर्वानुमान थियो । सफल तथा प्रभावकारी आयोजना गरेर सार्थक निश्कर्षमा पुग्छौं, एकतावद्ध ढंगले बैठक आयोजना गरेर पार्टी र जनसमुदायलाई हाम्रो एकताले नयाँ उचाई चुम्दै गरेको सन्देश दिन्छौं भन्ने पूर्वानुमानित विषय नै थियो ।

जस्तो– मिलेनियम च्यालेन्ज कर्पोेरेसन (एमसीसी) मै बैठक कुनै निश्कर्षमा पुग्न नसकेर कार्यदल नै बनाउनुपर्‍यो । बैठकले प्राप्त गरेको सफलताचाहिँ केमा हो ?

जुन उद्देश्यका लागि बैठक आयोजना गरिएको थियो, त्यो प्राप्त गर्न सफल भयौं । हामीले चाहेको पहिलो कुरा के थियो भने पार्टी एकतादेखि आजसम्मको यात्राको संक्षिप्त समीक्षा गर्न चाहेका थियौं ।

हाम्रा सामूहिक अभिभाराहरू के हुन् भन्ने यकिन गर्न चाहेका थियौं । ती अभिभारा पूरा गर्नका लागि समयवद्ध र चरणवद्ध योजना बनाउन चाहेका थियौं । यी कामहरू गर्न बैठक सफल भएको छ ।

त्यसका साथसाथै राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्न चाहेका थियौं । त्यसमा पनि सर्वसम्मतिले एक ठाउँमा पुगेका छौं । कार्यसूचीमा सफल र सार्थकताका साथ निर्णयमा पुगेका छौं ।

साढे चार सयजनाको बैठक आयोजना गरेको अनुभव थिएन । किनभने पहिलो पूर्ण बैठक एकताको उत्साहमा केहीघण्टामै सम्पन्न गरेका थियौं । व्यवस्थितरुपमा बैठक कसरी सम्पन्न गर्छौं भन्ने प्रश्न थियो ।

एकातिर सहभागीहरूलाई कार्यसूचीमा पर्याप्त छलफल गर्न दिनु थियो । अर्कोतर्फ, निर्धारित समयमा बैठक सम्पन्न गर्नु पनि थियो । यो जटिलताका वाबजुत सबै सहभागीहरूलाई यथेस्ठ छलफल गर्ने समय उपलब्ध गरायौं । निर्धारित समयमा सुरु गरेर निर्धारित समयभन्दा १५ मिनेट अगाडि बैठक सम्पन्न गर्‍यौं ।

अन्तरपार्टी लोकतन्त्रको दृष्टिकोणले पनि यो बैठक एउटा अनुकरणीय बैठक हो । कार्यसूची र कार्यविधिसमेत बैठकबाट पारित गर्‍यौं । अर्थात बैठक कसरी सञ्चालन हुन्छ भन्ने कुरा पदाधिकारी वा अध्यक्षले मात्रै गर्ने स्थिति रहेन । बैठकमा के–के छलफल गर्छौं भन्ने कुरा पनि बैठकले नै तय गर्‍यो । बैठक स्वयं आफैंले निर्धारण गरेको कार्यविधि र कार्यसूची अनुसार अगाडि बढ्यो र तोकिएको समयमा सम्पन्न भयो ।

निर्णय थोपर्ने होइन, कम्युनिष्ट पार्टीमा सामूहिक निर्णय लिइन्छ भन्ने कुरा यो बैठकले स्थापित गरेको छ ।

यो कुरा म फेरि दोहोर्‍याएर भन्न चाहन्छु– गुट निर्मूल गर्ने सन्दर्भमा यो बैठक कोशेढुंगा हो ।

एमसीसी संसदबाट अनुमोदन गर्नुपर्छ, गर्नैहुँदैन वा सुधारसहित अनुमोदन गर्नुपर्छ भन्ने तीनखाले विचार बैठकमा देखिएका थिए । यसमा महासचिवको दृष्टिकोणचाहिँ के हो ?

पार्टीले औपचारिक ढंगले कार्यदल बनाएर, १० दिनको समय लिएर अध्ययन गर्न लागेको हुनाले अहिले नै मैले निजी धारणा व्यक्त गर्नु सुल्टो हुँदैन । तर, एमसीसी के हुन्छ भन्ने कुराको अनुमान तपाईहरूलाई पनि छ, हामीलाई पनि छ ।

जहाँसम्म कार्यदल गठनको कुरा छ, त्यो पनि हारजितको विषय होइन । अझै गहिराई पुगेर अध्ययन गरौं र निर्णय गरांै भनेर सर्वसम्मतिले कार्यदल गठन गरेका हौं ।

झलनाथ खनाल र भीम रावलले एमसीसीको विरोध गर्दै आउनुभएको छ । कसैले कार्यदलमा बस्न अनिच्छा व्यक्त गर्नुभएन ?

साथीहरूले हार्दिकतापूर्वक नै जिम्मेवारी ग्रहण गर्नुभएको छ ।

सरकारको कामलाई हेर्ने विषयमा पनि पार्टीभित्र दुईखाले दृष्टिकोणहरु देखिए । यसको संश्लेषण कसरी गर्नुहुन्छ ?

सरकारले राम्रो काम गरेको छ, अझै राम्रो काम गर्नुपर्छ भन्ने सन्देश हो । कामका दौरान कमीकमजोरी छन् भने सच्याएर अघि बढ्नुपर्छ भन्ने नै हो ।

यती होल्डिंग्सको विषयमा रक्षामन्त्रीबाट श्वेतपत्र आउने कुरा थियो नि ?

हो । त्यो सबै कुरा आउँछ ।

पार्टीभित्र माथिदेखि नै गुट झाँगिएका छन् भन्ने बैठकमा आवाज उठेको थियो, यसमा के उपलब्धी भयो ?

हामी एकतावद्ध पार्टी निर्माण गर्ने उद्देश्यमा छौं । यसको अन्तरनिहीत अर्थ के हो भने गुट भत्काएर मात्रै एकताबद्ध पार्टी निर्माण गर्न सक्छौं । कि हामीले एकता रोज्नुपर्छ, कि गुट । गुट रोज्ने हो भने एकता सम्भव छैन । एकता रोज्ने हो भने गुट सम्भव छैन ।

हामीले आफ्नो जीन्दगी दिएका पार्टी विघटन गरेर अर्को पार्टीसँग एकता गरेका हौं । त्यसकारण भनिरहनु नपर्ला, हाम्रो छनोट गुट होइन, पार्टी हो । विभाजन होइन, एकता हो ।

एकताको हिसाबले हामी पूर्वसमूहको सम्झनाबाट धेरै माथि उठिसकेका छौं । गुट निर्मूल गर्ने सन्दर्भमा यो बैठक एउटा कोशेढुंगा हो । यो कुरा म फेरि दोहोर्‍याएर भन्न चाहन्छु– गुट निर्मूल गर्ने सन्दर्भमा यो बैठक कोशेढुंगा हो ।

यहाँले बैठक कोशेढुंगा हो भन्नुभयो । तर, सचिवालयमै गुट देखिएको थियो । जस्तो– भैंसेपाटी बैठक…..

कहिलेकाँही घटनाहरू घट्छन् र ती चीजहरू विस्मृतिमा गइरहेका हुन्छन् । तपाईले स्मरण गर्नुभएका कैयौं कुराहरू हामीले बिर्सिसक्यौं । फेरि त्यसलाई कोट्याएर सम्झाउन उत्प्रेरित नगर्नु होला भन्ने मेरो आग्रह हो ।

हामी साँच्चै एकताबद्ध भइसकेका छौं । अहिलेको नेतृत्वको जुन टीम छ, यहाँ धेरै कोशिस गर्दा पनि विभाजनका रेखा भेट्न गाह्रो हुन्छ । किनभने, विभाजनका रेखाहरूलाई राम्रैसँग मेटाइसकेका छौं । नेतृत्व र सिंगो पार्टीपंक्तिलाई एकतावद्ध गरेका छौं । पार्टी र नेतृत्वमा सर्वसम्मति थिएन भने यस प्रकारको बैठक आयोजना र यस प्रकारको सफलता सम्भवै थिएन ।

यो बैठकबाट सिक्नुपर्ने पाठचाहिँ के हो ? बैठकमा केही कमीहरु पनि त देखिए होला नि ?

केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक अहिलेको बैठकभन्दा नराम्रो गर्न पाउँदैनौं भन्ने सन्देश दिएको छ । सक्छौ भने योभन्दा अझै राम्रो गर्दै जाउ भन्ने पाठ सिकाएको छ ।

यसपटक दस्तावेजहरू केन्द्रीय कमिटीको बैठक प्रारम्भ भएसँगै वितरण गर्‍यौं । आगामी बैठकमा कार्यसूची र दस्तावेजहरू अग्रिमरुपमै पठाउँछौं ।

बैठकमा पेश भएका प्रतिवेदनहरु पनि अलि हतारमै बनेजस्तो लाग्दैन ?

हतारमै बनायौं । त्यसमा लुकाउनुपर्ने केही पनि छैन । पार्टीका दस्तावेज बैठकका निम्ति सर्वाधिक महत्वका विषय हुन् । त्यसको तयारीमा अपेक्षित समय विनियोजन गर्नुपर्छ ।

दुईवटा पार्टी एकीकरण भएर बनेको ठूलो कमिटीको बैठक लामो समयमा बस्दा कतिपय केन्द्रीय सदस्यबीच नै चिनजान थिएन होला…..

त्रिशुली र सेतीको पानी मिसिए पनि अलि तलसम्म सेतो र नीलो देखिन्छ । करिब–करिब सेतो र नीलो छुट्याउन नसक्ने गरी अन्तरघुलन भइसकेको छ ।

अब पार्टीले सञ्चालन गर्ने भनेको राष्ट्रिय अभियान कसरी अगाडि बढ्छ ? अभियानको उद्देश्य के हो ?

यो अभियान तीन महिना सञ्चालन हुन्छ । अभियान फागुन १ देखि बैशाख मसान्तसम्म चल्छ ।

सदस्यता विस्तार र नवीकरणका कामलाई तीव्रताका साथ अगाडि बढाएका छौं । पार्टीका नेता, कार्यकर्ता सदस्यहरूलाई पार्टी कमिटीमा वा सम्वद्ध संगठनहरूमा संगठित गर्छौं । विकास निर्माण र समृद्धिसँग जोडेर पार्टी पंक्तिलाई परिचालित गर्छौं । जननिर्वाचित संस्थाहरूलाई पनि त्यस ढंगले परिचालित गर्छौं ।

र, विभिन्न प्रकारका खराबीहरू, जस्तो– भ्रष्टाचार, अनियमितता, चुहावट, छाउपडी, बोक्सी प्रथा जस्ता सामाजिक विकृतिविरुद्ध पनि पार्टीपंक्तिलाई परिचालित गर्छौ । नेकपा हाम्रो सेवक बनेर आएको छ भन्ने जनताले अनुभूत गर्ने गरी योजनावद्ध, एकीकृत ढंगले जनतासँग जोड्ने गरी यो अभियान सञ्चालन गर्न लागेका हौं ।

अब समस्त पार्टी काममा केन्द्रित हुन्छ । पार्टीभित्र काम नहुँदा गुनासो गर्ने स्थिति पनि थियो । ठूलो कार्यशक्तिलाई काम दिएर खटाउन चुकिरहेका थियौं । अब हामी पार्टीका प्रत्येक सदस्य, कार्यकर्ता र नेतालाई आवधिक काम दिन्छौं । अभियानको काम सकिएलगत्तै उहाँहरू आ–आफ्ना नियमित काममा लाग्नुहुन्छ ।

तस्वीरहरु : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment