Comments Add Comment

प्रियंका क्याम्पनाउमा, बार्सिलोनाको पेजमा तस्वीर–भिडियो

हालै थाइल्यान्डमा ब्याचलर पार्टी मनाएर फर्केकी नायिका प्रियंका कार्की अहिले फुटबल हेर्न स्पेनको बार्सिलोना पुगेकी छिन् । उनको साथमा छन्, प्रस्तावित श्रीमान आयूष्मान देशराज जोशी ।

ला लिगा अन्तरगत बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न उनीहरु त्यहाँ पुगेका हुन् । विश्वविख्यात फुटबल क्लव बार्सिलोनाले आफ्नो अफिसियल फेसबुक पेजमा प्रियंकालाई स्थान दिएको छ । ‘वि लभ नेपाल’ भन्दै उसले प्रियंकाको फोटो र भिडियो पोष्ट गरेको हो । यद्यपि, यो पोष्ट सिमित देशहरुमा मात्रै हेर्न सकिने बनाइएको छ ।

बार्सिलोनाले पोष्ट गरेको फोटोमा उनी क्याम्प नाउको रंगशालाभित्र मैदानछेउ एक युवतीका साथ देखिएकी छन् । सेतो पहिरनमा सजिएकी प्रियंकाले कालो ब्याग पनि बोकेकी छन् ।

प्रियंकाले आइतबार रातिको खेल सुरु हुनुअघि ‘ला लिगा’ को फेसबुक लाइभमार्फत छोटो प्रतिक्रिया दिएकी थिइन् । २० सेकेन्डको भिडियोमा उनले अंग्रेजी र नेपालीमा बोलेकी छन् ।

‘धेरै नेपाली यहाँ आउन चाहन्छन्, तर पाउँदैनन् । मैले सबैको लागि यो सपना बाँचिरहेको छु,’ उनले भनेकी छिन् ‘यहाँ यति रमाइलो भइरहेको छ । यो क्षण म जिन्दगीभर बिर्सिन सक्दिनँ ।’

अर्को भिडियोमा प्रियंकालाई खेलमा कति गोल हुन्छ भन्ने अनुमान गर्न लगाइएको छ । उनले फस्र्ट हाफमा दुई र सेकेन्ड हाफमा दुई गोल हुने भविष्यवाणी गरिन् । मध्यान्तरअघिको भविष्यवाणी मिल्यो तर मध्यान्तरपछिको मिलेन । बार्सिलोनाले २–१ को जीत हात पार्‍यो, जसमा दुवै गोल मध्यान्तरपूर्व गरिएका थिए ।

प्रियंकाले बार्सिलोनामा आफ्नो मनपर्ने खेलाडी मेस्सी भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘मलाई मेस्सी मन पर्छ किनभने उनी तेज छन् र उनको दाँजोमा अर्को कोही छैन ।’

प्रियंका आफ्नै खर्चमा बार्सिलोना पुगेकी भने होइनन् । बार्सिलोनाको भिडियो पोष्टमा ‘पेड पार्टरसिप’ लेखिएको छ । जसको अर्थ, उक्त भिडियो राख्न पैसा तिरिएको छ । तर, कसले उनलाई स्पोन्सर गरेको हो भन्ने खुलेको छैन । यसअघि उनको थाइल्यान्ड भ्रमणलाई खुकुरी रमले प्रायोजन गरेको थियो ।

प्रियंका र आयूष्मान कतार एयरवेजको बिमानबाट शनिबार बार्सिलोनातर्फ लागेका थिए । जाने क्रममा प्रियंकाले यो अवसर जुराइदिएको भन्दै ‘भाइबर’ लाई धन्यवाद दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment