Comments Add Comment

‘ग्रेटर लुम्बिनी’ सरकारको प्राथमिकतामा छ : मन्त्री भट्टराई

२१ माघ, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर (ग्रेटर) लुम्बिनीको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले लुम्बिनीको मात्र नभइ यससँग सम्बन्धित तिलौराकोट र रामग्रामलाई जोडेर ‘ग्रेटर लुम्बिनी’को विकास गरिने बताए ।

बुहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ‘ग्रेटर लुम्बिनी’को विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने बताए ।

‘मायादेवी मन्दिर क्षेत्र, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर अव बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने छ,’ मन्त्री भट्टराईले भने, ‘बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिनेछ ।’

मन्त्री भट्टराईले मायादेवी मन्दिर क्षेत्रको विकासले मात्रै लुम्बिनीको बृहत्तर विकास हुन नसक्ने बताउँदै देवदह, सैनामैना, तिलौराकोटलगायतका क्षेत्रहरुलाई पनि एक अर्कासँग जोड्नुपर्ने बताए ।

लुम्बिनी क्षेत्रमा रहेका सबै ठाउँहरुको आ-आफ्नो महत्व रहेको बताउँदै उनले घुम्न आउने विदेशी पर्यटक वा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई एक साता यहाँ बिताउन सक्ने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

कोरियाली प्रोफेसर क्वाकले अघि सारेको लुम्बिनी विकासको योजनालाई पनि सरकारले प्राथमिकतामा राखेको र यसलाई पनि कार्यान्वयन गर्नु आवश्यक रहेको उनले बताए ।

लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेको पनि मन्त्री भट्टराईले बताए । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई प्राथमिकतामा राख्नुको कारण बृहत्तर लुम्बिनीको विकासका लागि नै हो,’ मन्त्री भट्टराईले भने, ‘अब विमानस्थल सञ्चालनमा आएसंगै लुम्बिनीमा पर्यटक आगमनले पनि फड्को मार्छ ।’

कार्यक्रममा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बृहत्तर लुम्बिनीको गुरुयोजना कार्यान्वयन आवश्यक रहेको र यसका लागि प्रदेश सरकारले पनि प्राथमिकता दिएको बताए ।

लुम्बिनीको विकासको नेतृत्व प्रदेश सरकारलाई दिन पनि उनले आग्रह गरे । लुम्बिनी आसपासमा ओझेलमा परेका सम्पदा र क्षेत्रहरुको संरक्षणको जिम्मा सम्बन्धित पालिकाहरुलाई दिनुपर्ने मुख्यमन्त्री पोखरेलको सुझाव थियो ।

उनले तिलौराकोट र रामग्रामको गुरुयोजना अनुसार विकास गर्न जग्गा प्राप्ति महत्वपूर्ण हुने भएकाले त्यसमा ध्यान दिन सुझाए ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सफल पार्न लुम्बिनीमा पर्यटक बढाउने खालका गतिविधि जरुरी रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी २० प्रतिशत कामका लागि अन्तर्राष्ट्रय परामर्शदाता नियुक्त भइसकेको बताए ।

कार्यक्रममा प्रदेश सांसद फकरुद्धिन खान, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईलगायतले बृहत्तर लुम्बिनीको विकासमा तीन तहकै सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

सन् १९७८ मा जापनिज वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्रोफेसर क्वाकले शान्ति शहरको गुरुयोजना बनाएका थिए ।

उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

पाँच वर्गमाइल क्षेत्रभित्र लुम्बिनी वरिपरिका गाउँ समेटिनेछन् । लुम्बिनी गुरुयोजनाका बाँकी काम सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ ।

ग्रेटर लुम्बिनी अन्तर्गत रामग्राम स्तुप क्षेत्रको विकासका लागि ७ अर्ब अनुमानित लागतको गुरुयोजना बनिसकेको छ भने तिलौराकोटको गुरुयोजना बनाउन जग्गा पहिचानलगायतका काम अघि बढेको लुम्बिनी विकास कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment