Comments Add Comment

प्रदेश ५ : दुई वर्ष बित्यो नाम र राजधानी टुंग्याउनै सकस

२१ माघ, बुटवल । प्रदेश ५ को प्रदेशसभा गठन भएको मंगलबार दुई वर्ष पूरा भएको छ । यस अवधिमा नाम र राजधानी दुबै टुंगो लगाउन नसक्ने एकमात्र प्रदेश यही बनेको छ ।

नाम र राजधानी टुंगो लगाउने जिम्मा प्रदेशसभाको हो तर यस अवधिमा प्रदेशसभामा १ सय १७ वटा बैठक बसे पनि प्रदेशको नाम र राजधानीको विषयमा गम्भीरतापूर्वक छलफल नै हुन सकेको छैन ।

दुई वर्षमा नाम र राजधानी टुंगो लगाउन नसक्दा प्रदेश सरकारसँग नागरिक असन्तुष्ट छन् । बरू, प्रदेश सरकार आर्थिक अनियमिततामा फस्दै गएको छ । प्रदेश सरकार र प्रदेससभाले खरिद गरेका १३ वटा गाडीमा अनियमितता भएको प्रदेश सार्वजनिक लेखा समितिले ठहर गरेको छ ।

त्यस्तै प्रदेशको कृषि मन्त्रालयले वितरण गरेको कृषि अनुदानको ७० प्रतिशत रकम दुरूपयोग भएको देशको कृषि, वन तथा वातावरण समिति अनुगमनबाट फेला परेको थियो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय र प्रादेशिक स्वास्थ्य आपूर्ति त्यस्तै व्यवस्थापन केन्द्रले खरिद गरेका उपकरणमा लेखा समितिमा गुनासो परेपछि अनुगमन गरेको थियो ।

नेपाल प्राध्यापक संघका अध्यक्ष प्रा. डा. बुद्धबहादुर थापाले संविधान प्रदत्त प्रदेशको नामाकारण र केन्द्र तय हुन नसक्दा जनतामा निराशा छाएको बताउँछन् ।

नामाकरण र राजधानीको विषयमा अलमल हुँदा पछिल्लो समय बांके र बर्दिया कर्णाली प्रदेशमा मिलाउनुपर्ने आवाज समेत उठेको छ ।

अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्रीले रिजल्ट दिने गरी काम गर्न नसकेको आरोप लगाए । ‘राजधानी र नामाकरण टुंगो लगाउन नसक्दा संघीयता आवश्यक छैन भन्नेहरूलाई बल पुग्दै गएको छ । अब प्रदेश सरकारप्रति प्रश्न नउठला भन्न सकिन्न्न’ उनले भने ।

प्रदेशसभाको नामाकरण र स्थायी राजधानी तय गर्न गठित विशेष समिति पनि डेढ वर्ष लगाएर अपुरो प्रतिवेदन प्रदेशसभामा बुझाएको छ ।

५० लाख रुपैयाँभन्दा बढी खर्च गरेको समितिले स्थायी राजधानीका लागि बुटवल पश्चिम (सैनामैना), कपिलवस्तुको (बुद्धभूमि) र दाङको (लमही) क्षेत्र राजधानी बनाउन सकिने भनी प्रतिवेदन बुझाएको छ ।

भर्जिन ल्यान्डमा प्रदेशको केन्द्र संभव होला ?

मुख्यमन्त्री दाङ जिल्लाका भए पनि दंगालीहरू राजधानी दाङ आउनेमा कम आशावादी छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले अहिले पहिलोजस्तो नाम र राजधानीको विषयमा बोल्न छाडेका छन् । उनी भर्जिन ल्याण्डमा राजधानी बनाउने भन्दै बुटवलबाट थोरै भए पनि बाहिर राजधानी बनाउन चाहन्छन् ।
तर बुटवलमा जति भौतिक संरचना प्रदेश ५ का अन्य ठाउँमा छैनन् । नेकपा संसदीय बोर्डका सचिव भोजप्रसाद श्रेष्ठले हिउँदे अधिवेशनबाटै नाम र केन्द्रको निचोड निकाल्नुपर्ने बताए ।

बहुसंख्यक मन्त्री बुटवलकै पक्षमा

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले राजधानी बुटवल नै हुने र प्रदेश ३ को नजिरलाई हेरेपछि सहज हुने बताए । ८७ सदस्यीय प्रदेशसभामा नेकपाका ६१ सांसद छन् । त्यसैले नेकपाले जे निर्णय ग¥यो त्यो प्रदेशसभाबाट पारित हुनेछ ।

प्रदेश सरकारका ६ मन्त्रीमध्ये बहुसंख्यक मन्त्री रुपन्देही नै केन्द्र बनाउनुपर्नेमा दृढ छन् । नाम ‘लुम्बिनी’ राख्नेमा मन्त्री र प्रदेश सांसद लगभग सहमत छन् ।

प्रदेशसभा कांग्रेसको संसदीय दलका सचेतक निर्मला क्षेत्रीले बुटवल भन्दा अन्य स्थानमा केन्द्र लैजान सम्भव नरहने बताइन् । समाजबादी पार्टीका नेता सन्तोष पाण्डेले नाम लुम्बिनी र राजधानी रुपन्देही नै हुनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment