Comments Add Comment

प्रदेश सभा स्थापना दिवसको कार्यक्रममा बहुसंख्यक सांसदको अरुची

२१ माघ, बुटवल । प्रदेश ५ को प्रदेशसभा स्थापना दिवस मूल समारोहमा आधा बढी सांसद अनुपस्थित भएका छन् । ८७ जना सदस्य रहेको प्रदेशसभाको दोस्रो स्थापना दिवसा ३४ जना सांसद मात्र उपस्थित भए ।

प्रदेशसभा सचिवालयले आयोजना गरेको समारोहमा आधा भन्दा धेरै सांसद अनुपस्थित हुँदा मूल समारोह नै खल्लो बन्यो । ६ जना मन्त्रीमध्ये मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल मात्र उपस्थित भए ।

भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी र सामाजिक विकास मन्त्री सुदर्शन बराल भने अनुपस्थित रहे । सात वटा संसदीय समितिमध्ये दुईवटा समितिका सभापति मात्र प्रदेश स्थापना दिवसमा उपस्थित भए ।

अर्थ, उद्योग तथा पर्यटन समिति सभापति दधिराम न्यौपाने र विशेषधिकार समिति संयोजक कमलराज श्रेष्ठ मात्र उपस्थित भए । बांकी ५ जना आएनन् । समारोहमा प्रदेशसभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको उपस्थिति पनि नगण्य मात्र थियो । विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन पछि हाल प्रदेशसभामा ८६ जना सांसद छन् ।

शुरुमा १२ बजे शुरु गर्ने भनिएको कार्यक्रम १ घण्टा ढिलो हुन पुग्यो र १ बजे मात्र शुरु भयो । प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई नेपाल प्रहरीले सलामी दिएपछि कार्यक्रम शुरु भयो ।

कार्यक्रम सञ्चालन भएको १ घण्टा ३८ मिनेट पछि प्रदेश प्रमुख र सभामुखले प्रदेश सभाले सञ्चालन गरेका विभिन्न विधाका कार्यक्रमका .सहभागीलाई प्रमाण पत्र वितरण गरिरहेका बेला मुख्यमन्त्री शंकर पोखरेल २ बजेर ३८ मिनेटमा आइपुगे ।

मुख्यमन्त्रीलाई स्वागत गर्न जाने कि प्रमाण पत्र वितरण गर्ने अलमलमा सभामुख पूर्णबहादुर घर्ती देखिन्थे । पछि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्रीलाई स्वागत गर्दै स्टेजसम्म ल्याए । कार्यक्रममा बोलाइएका उपमहानगरपालिका तथा नगरपालिकाहरुका प्रमुखमध्ये एकजना पनि आएनन् ।

सभामा उपस्थित सांसदहरु आपसी गफगाफमै व्यस्त थिए । ‘सबै माननीय, समितिका सभापति र मन्त्रीज्यूलाई निमन्त्रणा गरिएकै हो तर के कति कारणले आउनुभएन त्यो उहाँहरुले जान्ने कुरा हो’ प्रदेशसभा सचिवालयका एक कर्मचारीले भने ।

साना दललाई आसन ग्रहण गराइएन

प्रदेश सभामा पाँच वटा दलको प्रतिनिधित्व भए पनि राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनता पार्टीलाई आसन ग्रहणसमेत गराइएन । दुबै दलका एक एक जना सांसद छन् । ‘हामीलाई त एक जना सांसद छन् भनेर दल नै मान्दैनन्’ राष्ट्रिय जनमोर्चाकी सांसद तारा जीसीले भनिन् ‘उहाँहरुको वहुमत छ, जे गरे पनि हामीले गुनासो गरेर अर्थ छैन ।’

प्रदेशसभा र प्रदेश सरकारप्रति संघीयता पक्षधर दलका नेताहरुकै अरुचि प्रदेश सभा स्थापना दिवसमा देखिएको बहुमत अनुपस्थितिले पुष्टि गरेको सांसद जीसीले तर्क गरिन् ।

माया पिरतीका गीत र नृत्य

प्रदेश सभा स्थापना दिवसमा सांस्कृतिक कार्यक्रमलाई बढी नै महत्व दिइयो । समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेश सांसदहरुमाझ किशोर–किशोरीले माया पिरतीका गीत र नृत्य प्रस्तुत गरे । यद्यपि नेवारी, थारु र मगर संस्कृति झल्कने गीत र नृत्यहरुसंगै देशभक्तिका गीतहरु पनि गाइए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment