
२२ माघ, ताप्लेजुङ । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनले ताप्लेजुङको ओलाङ्चुङ्गोला नाका बन्द पनि गराएको छ ।
कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै चीनले नाका आवातजावत बन्द गराएको हो ।
यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७, ओलाङ्चुङ्गोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिए ।
सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उनले बताए ।
‘आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध भएको छ र हाल आवतजावत पनि भएको छैन,’ वडाध्यक्ष शेर्पाले भने ।
नाका बन्द हुँदा एक–दुई महिनासम्म कुनै समस्या नहुने तर त्यो भन्दा पछि वर्षाको समयमा पनि बन्द नै रहे समस्या हुने गाउँपालिकाका प्रवक्तासमेत रहेका शेर्पाको भनाइ छ । वर्षाको समयमा याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँबजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरोलगायतका कारण त्यहाँका बासिन्दा सदरमुकाम फुङ्लिङ्सम्म आइपुग्न सक्दैनन् ।
प्रतिक्रिया 4