Comments Add Comment

जब प्रधानमन्त्रीले गीत गाउँदै (?) सारंगी रेटे (भिडियोसहित)

ओलीको संगीतमोह : बाँसुरीदेखि तबलासम्म बजाउन सिपालु

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत तीननेताले बाँसुरी र सारंगी बजाएको फोटो निकै अहिले चर्चामा छ । धेरैका मनमा प्रश्न हुन सक्छ, नेताहरुले साँच्चै बजाएका हुन् कि अभिनय मात्रै गरेका हुन् ?

यो प्रश्नको उत्तर खोज्नुअघि मंगलबारको विशेष क्षण कसरी जन्मियो भन्नेमा जाउँ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरुः सारंगी साँझ’ कार्यक्रम राखिएको थियो । सारंगीको धून मन पराउने प्रधानमन्त्रीकै चाहनामा उक्त कार्यक्रम राखिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मौलिक तथा लोपोन्मुख सारङ्गी, मुर्चुङ्गा, बिनायो लगायतका नेपाली बाजाहरुको मौलिक अर्केस्ट्रा बनाइरहेको छ । यही थाहा पाएर प्रधानमन्त्री ओलीले बालुवाटारमै सारंगीवादन कार्यक्रम राख्न लगाएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले बताए ।

यो पनि पढ्नुहोस बालुवाटारमा बाँसुरी बजाउँदै प्रधानमन्त्री !

कार्यक्रममा नेकपाका सचिवालय नेताहरु र मन्त्रीहरुलाई पत्नीसहित डाकिएको थियो । नेकपा अध्यक्ष प्रचण्ड भने पोखरामा भएकाले त्यहाँ उपस्थित भएनन् । वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनाल तथा महासचिव विष्णु पौडेल कार्यक्रममा पुगेका थिए ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री वर्षामान पुन, नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ लगायत नेताहरु पत्नीसहित सहभागी भए । प्रचण्डकी बुहारी खानेपानी मन्त्री विना मगर पनि गएकी थिइन् । सोही दिन प्रधानमन्त्रीसँगको अन्तर्क्रियामा सहभागी केही सम्पादक पनि उक्त कार्यक्रममा बसेका थिए ।

बेलुकी साढे ५ बजेलाई निम्तो गरिएको भए पनि साढे ६ बजे प्रधानमन्त्री आएपछि कार्यक्रम सुरु भयो । कार्यक्रममा उद्घोषण दिनेश डीसीले गरेका थिए । अन्य वक्ता कोही पनि थिएनन् । कलाकारहरुले ११ प्रकारका सारंगी धून पस्केका थिए ।

कार्यक्रमको बीचमा उद्घोषणका क्रममा डीसीले माइकबाटै भने, ‘मैले प्रधानमन्त्रीज्यूको निवासमा सारंगी झुण्डिरहेको देखेको छु । के यहाँलाई सारंगी बजाउन पनि आउँछ ?’

ओलीले मुस्कुराउँदै भने, ‘अँ अलिअलि बजाउँछु ।’

त्यसपछि डीसीले आग्रह गरे, ‘आज एक पटक कलाकारहरुलाई प्रोत्साहन गरिदिनुहुन्छ कि ?’

प्रधानमन्त्रीले कार्यक्रम सकिएपछि बजाउने संकेत गरे । तर, नेकपा महासचिव विष्णु पौडेलले ‘हामी पनि सुन्न चाहन्छौं’ भन्दै हौस्याए । त्यसपछि प्रधानमन्त्री तयार भए ।

प्रधानमन्त्रीको हातमा सारंगी थमाइयो । तर, नेताहरुले प्रधानमन्त्रीलाई अगाडि मञ्चमै गएर बजाउन आग्रह गरे ।

प्रधानमन्त्री मञ्चमा गएर कुर्सीमा बसे । त्यसपछि त कार्यक्रमको माहोल नै फेरियो । अघिसम्म सारंगीको धुनमा मन्त्रमुग्ध भएर उँघिरहेकाहरु जागाज्योति बने । हलभरि हाँसो फैलियो ।

प्रधानमन्त्रीले सारंगी रेट्न थाले । हल्लीहल्ली गीत गाउँदै सारंगी रेटे पनि उनको आवाज केही सुनिएन । त्यसपछि ओलीले भने, ‘खोई मैले पनि आफ्नो आवाज सुनिनँ । साउन्ड सिस्टम बिग्रियोजस्तो छ ।’

तर, डीसीका अनुसार प्रधानमन्त्रीले गीत गाएको नभई मुखमात्रै चलाएका हुन सक्छन् । हल्लाखल्ला धेरै भएकाले धेरैले केही मेसो पाएनन् ।

त्यसपछि ओलीले दर्शकदीर्घामा रहेका माधव नेपाल र झलनाथ खनाललाई ईंगित गर्दै भने, ‘एक्लै बजाउन त के मजा भयो र, म अगाडिको पङ्तिका नेता साथीहरुलाई पनि मलाई मद्दत गर्न आग्रह गर्छु । सामुहिक नै गरौं न ।’

त्यसपछि हलमा हाँसोको फोहोरा छुट्यो । झलनाथ खनाल र माधवले मुखामुख गरे । नेपालले ‘यहीँ बसेर ताली पड्काउँछु नि’ भन्दै ईशारा गरे । तर, दर्शक दीर्घाबाट दबाव आएपछि डीसीले उनीहरुलाई मञ्चमै लगे ।

खनाल र नेपाल दुबै नेता ओलीका दायाँबायाँ बसे । प्रधानमन्त्रीले बाँसुरी समाए भने नेपाल र खनालले सारंगी । प्रधानमन्त्रीले औंला नचाउँदै बाँसुरी बजाए । हल्ला धेरै भएकाले प्रधानमन्त्रीले सुरमा बजाए कि बेसुरमा भन्ने धेरैले मेसो पाएनन् ।

डीसी भन्छन्, ‘उहाँले सम्भवतः सुरमै बजाउनुभएको थियो । तर, के धुन हो भन्ने मैले खुट्याउन सकिनँ ।’

खनाल र नेपालले बच्चाले नयाँ खेलौना पाएजसरी जथाभावी सारंगी रेट्न थाले । कार्यक्रम हाँसोमय बन्यो ।

तीनै नेताहरुको ‘संक्षिप्त प्रस्तुति’ सकिएपछि फेरि कलाकारको प्रस्तुति सुचारु भयो ।

एकघण्टा सांगीतिक कार्यक्रमसँगै थप एक घण्टा रात्रीभोज चल्यो । राति करिब ९ बजे सबैजना बालुवाटारबाट बिदा भए ।

प्रधानमन्त्रीको संगीतमोह

प्रधानमन्त्री केपी ओलीलाई नजिकबाट चिनेकाहरुलाई थाहा छ, उनको संगीतमोहका बारेमा । ओलीले बालकोटको आफ्नो घरमा सारंगी, मुर्चुङ्गा, तबला, हार्मोनियम, भायोलिन लगायत धेरै वाद्यवादनका सामाग्री संकलन गरेर राखेका छन् । उनी तीमध्ये केही बाजा बजाउन पनि सिपालु छन् ।

प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ बजगाई भन्छन्, ‘उहाँ बाँसुरी र तबला राम्ररी बजाउनुहुन्छ । तर, केही समयअघि बायोप्सी गर्दा हातका औंलाहरु कमजोर भएकाले अहिले तबला चाहिँ बजाउन सक्नुहुन्न ।’

बालकोटमा हुँदा ओली फुर्सदका बेला ती बाजाहरु बजाउने गर्थे । उनले बाजा बजाउन कसरी सिके भन्नेचाहिँ कसैलाई थाहा छैन । तर, जे कुरामा पनि रुची राख्ने र त्यसमा प्रयास पनि गरिहाल्ने स्वभाव उनको भएको निकटवर्तीहरु बताउने गर्छन् ।

प्रधानमन्त्रीले बेलाबखत आफ्नो निवासमा कलाकर्मीहरुको जमघट गराइराख्छन् । यसबारे दिनेश डीसीले एउटा किस्सा सुनाए ।

गत वर्ष नयाँ वर्षका अवसरमा ओलीले बालुवाटारमै सांगीतिक कार्यक्रम राखेका रहेछन् । त्यसमा विशिष्ट व्यक्तित्वहरुलाई मात्रै निम्त्याइएको थियो । राष्ट्रपति विद्या भण्डारीसमेत त्यहाँ उपस्थित थिइन् । उद्घोषण उनै डीसीले गरेका थिए ।

कार्यक्रम सकिएर कलाकारहरु हिँडे । तर, प्रधानमन्त्री ओली नयाँ वर्षको स्वागतमा मध्यरातसम्मै माहोल गुलजार बनाउन चाहन्थे । त्यसपछि उनले दिनेश डीसीलाई भने, ‘अहिल्यै सुत्न जाने होइन, अब तपाईं गीत गाउनुस् ।’

डीसी पनि के कम । गाउन तयार भइहाले । उनले कनीकनी ३/४ वटा पुराना गीत गाए । त्यही क्रममा आफूले ‘घुम्तीमा नआउ है..’ बोलको गीत गाउँदा ओली एकाएक भावुक बनेको डीसी सम्झन्छन् ।

‘त्यो गीतसँग ओलीको छुट्टै स्मृति रहेछ, उहाँले जब आफ्नो पुराना प्रसंग निकाल्नुभयो, हामी सबै भावुक बन्यौं,’ डीसीले भने ।

के थियो त्यो स्मृति ?

डीसीका अनुसार माइक्रोफोन दिएपछि प्रधानमन्त्रीले आफ्नो जेलको अनुभव सुनाउन थाले । दुई फिट अग्लो, ३ फिट लामो केजमा सुताएका, बिरामी भएर मरणासन्न भएका कुराहरु सुनाएपछि पोखरा जेलको एउटा स्मृति यसरी सुनाए :

‘मलाई पोखराको जेलमा थुन्दाखेरिको कुरा हो । एउटा सानो कोठामा मलाई राखिएको थियो । दिनमा दुईपटक मात्रै त्यो कोठाको ढोका खुल्थ्यो । बिहान र बेलुकी खाना ल्याउँदा ।

खाना लिएर एकजना हवल्दार सा’ब आउँथे । हामी जुंगे हवल्दार भन्थ्यौं । उनी मलाई धेरै माया गर्थे । म चाहिँ उनलाई बारम्बार गीत सुनाउन लगाउँथे । र, जतिपटक पनि उनले एउटै गीत गाउँथे, ‘घुम्तिमा नआउ है ।’ त्यो गीत उनको स्वरमा सुन्दा मेरो शरीरमा एकप्रकारको कम्पन सिर्जना हुन्थ्यो । त्यसैले यो गीतको मेरो जीवनमा ठूलो प्रभाव छ ।’

केही दिनअगाडि कलाकारको एउटा समूहले प्रधानमन्त्रीलाई भेटेको थियो । भेट्नेको टोलीमा प्रेमध्वज प्रधान पनि थिए । प्रधानमन्त्रीले प्रेमध्वजलाई छुट्टै लगेर त्यो बेलाको प्रसंग सुनाएका थिए ।

अर्को एउटा रमाइलो प्रसंग रामशरण बजगाईंको मुखबाट सुनौं ।

‘एकपटक प्रधानमन्त्री अस्वस्थ भएर बालुवाटारमा आराम गरिरहनुभएको थियो । एक दिन म त्यहाँ पुग्दा उहाँ बाहिर चरालाई चारो खुवाइरहनु भएको थियो । मलाई यता आउ भनेर बोलाउनुभयो । अनि भित्र भुईंतल्लाको कोठामा लैजानुभयो । त्यसपछि माथि रहेका सुरक्षाकर्मी, सहयोगी सबैलाई तल डाक्नुभयो । सबैजना भेला भएपछि मलाई भन्नुभयो, ‘लु, गीत सुनाउ ।’

मैले भनेँ, मलाई आउँदैन त ।

तर, मैले सुख पाइनँ । ठसठस कन्दै ‘मायालु हजार हुन्छन्…’ सुनाएँ ।

त्यसपछि उहाँले सोध्नुभयो, ‘तपाईं कति सालमा जन्मेको ?’ मैले आफ्नो जन्ममिति बताएपछि भन्नुभयो, ‘तपाईं जन्मेको सालतिर मैले यो गीत निकै सुन्थेँ ।’

मेरो गीत सुनिसकेपछि प्रधानमन्त्रीले निवासकै एक सुरक्षाकर्मीलाई पनि गाउन लगाउनुभयो । बिरामी अवस्थामा पनि उहाँको यस्तो रसिलो मुडले मलाई त चकितै बनायो ।’

गत मंसिरमा एपेन्डिक्सको शल्यक्रिया गरेर प्रधानमन्त्री ओली लामो समय अस्पताल बसेका थिए । डिस्चार्ज भएपछि उनले सञ्चारकर्मीलाई अस्पतालमा बस्दा आफूले नविन भट्टराईको ‘ए झरी… बोलको गीत धेरै सुनेको बताएका थिए ।

निकटस्थहरुका अनुसार ओली आफैं पनि गीत लेख्छन् । उनले आफूले रचेका दुई गीत रेकर्ड भएको कुरा डीसीलाई सुनाएका थिए । तर, त्यो गीत सुन्न नपाएको डीसीले बताए ।

भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा…’ ओलीको सबैभन्दा प्रिय गीत हो । यसैगरी नारायण गोपालको ‘अल्झेछ क्यारे पछ्यौरी… ’ पनि उनका फेभरेट गीत हुन् ।

ओली दोहोरी गीत पनि चाख लिएर सुन्ने गर्छन् ।

गीत–संगीतप्रति प्रधानमन्त्रीको रुची पहिल्यैदेखिको हो । उनी बालकोटमा बस्दा विभिन्न सन्दर्भमा कलाकर्मीहरुलाई निवासमा डाकिरहन्थे । बालकोटमै घर भएका हास्यव्यंग्य कलाकार मनोज गजुरेल भन्छन्, ‘कलाकारितामा उहाँको विशेष मोह छ । राजनीतिकर्मीसँग कतिबेर बिताउनुहुन्छ थाहा छैन, तर कलाकार भेट्नुभयो भने घन्टौं गफ गरेर बस्नुहुन्छ ।’

प्रधानमन्त्री भएर बालुवाटार गएपछि भने आफ्नो सम्पर्क टुटेको गजुरेलले बताए ।

ओली बेलाबखत विभिन्न कलाकारलाई भेट्न उनीहरुको घरमै समेत पुग्ने गरेका छन् । उनले भक्तराज आचार्यलाई उनकै घरमा पुगेर भेटेका थिए । यसैगरी केही समय अगाडि भारतको टीभी रियालिटी शो ‘सारेगमप’मा भाग लिएका दुई नेपाली बालक आयुष केसी र प्रितम आचार्यलाई उनले बालुवाटारमै बोलाएर भेटेका थिए ।

नेताको कलाप्रेम वाहियात हो ?

प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रियाहरु आए । कतिपयले देश अस्तव्यस्त रहेका बेला प्रधानमन्त्री बाँसुरी बजाएर बसेको भन्दै आलोचना गरे ।

‘रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेको’ पुरानो कहावत पनि अहिले चर्चामा ल्याइएको छ । तर, कतिपयले चाहिँ ‘नेताहरुको पनि मनै त हो’ भन्दै प्रधानमन्त्रीको संगीतप्रेमलाई सकारात्मक रुपमा पनि लिएका छन् ।

प्रधानमन्त्रीले बाँसुरी बजाएको सन्दर्भमा नेकपा केन्द्रीय सदस्य तथा संस्कृति विभागका इञ्चार्ज विजय सुब्बाले फेसबुकमा लेखेका छन् ः

‘..सारंगी साँझमा उहाँहरुको निकटता र घुलमिलले फुरुङ्ग परेका छौं । तर, यति कुरालाई सामाजिक सञ्जालमा नकारात्मक अर्थमा लेखिएको पाउँदा खुशी हुनु हाम्रो गल्ती भएछ कि क्या हो ? मेरो प्रश्न छ, के त्यस्तो लेख्ने साथीहरुले मनोरञ्जन गर्नुहुन्न ? यी नेताहरुले सधैं झोक्र्याइरहनुपर्ने हो ?’

कला र संगीतलाई देशको गहना मानिन्छ । त्यसैले देशको प्रधानमन्त्रीले यसमा झुकाव देखाउनु किमार्थ अनुचित मान्न सकिँदैन । हामीले राजा महेन्द्रको उदाहरण लिन सक्छौं । उनी राजा भएर पनि कला–संगीतका लागि समय निकाल्थे । यसको अर्थ राजकाजमा ध्यान दिँदैनथे भन्ने होइन । महेन्द्रकै कार्यकालमा नेपालमा सबैभन्दा बढी विकासका काम भएका छन् ।

विश्वमा पनि धेरै कलाप्रेमी नेताहरु छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तबला बजाएको देखि लिएर अमेरिकी राष्ट्रपतिले भायोलिन बजाएकोसम्म हामीले देखेका छौं ।

रुची जे–जेमा राखे पनि आफ्नो मूल जिम्मेवारीमा खरो उत्रिनु सबैभन्दा अहम् कुरा हो । प्रधानमन्त्री ओलीले धेरैभन्दा धेरै जनताको चित्त बुझाएर राज्य सञ्चालन गर्न सकेमा यस्ता झिना–मसिना कुरामा विवाद उठ्दैनन् । साथै आफू कलाप्रेमी भएर उनले नेपाली कला–साहित्यका लागि के गरे भन्ने प्रश्नको पनि सन्तोषजनक जवाफ भेटिँदैन ।

कलाकार गजुरेल भन्छन्, ‘उहाँ कलाप्रेमी भएको नाताले कलाक्षेत्रले उहाँबाट धेरै आशा राखेको छ । भित्र के–कस्ता योजनाहरु बनिरहेका छन् थाहा भएन । तर, बाहिर हेर्दा यस क्षेत्रलाई माथि उठाउने ठोस कार्यक्रम सरकारबाट आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment