Comments Add Comment

‘युएईले बाँडेको मुस्कान’ पढेपछि

म स्वदेशमै गर्जो टार्न मुस्किल परेपछि वैदेशिकका लागि अन्तिम विकल्पका रूपमा युएई आएकी सर्वसाधारण नेपाली नारी हुँ । म दैनिक केही लेखिरहन्छु । तर, सार्वजनिक गर्दिनँ । मेरी प्यारी छोरी आशिकालाई सम्बोधन गर्दै मैले कति डायरीहरु भरेकी छु, त्यो अहिलेसम्म मलाई मात्रै थाहा छ । म लेखक त हुँदै होइन । तर, असल पाठकचाहिँ हुँ । असल पाठकले पढ्नुपर्छ । त्यसैले म नेपालबाट पुस्तक मगाएर केही न केही पढिरहेकी हुन्छु ।

अहिले त अनलाइनमै सुन्न थालेकी छु । अनलाइनमै सुन्ने भनेपछि रेडियो नेटवर्कको श्रुतिसंवेग र अच्युत घिमिरे बुलबुलको नाम अग्रपंक्तिमा आउँछ । उनै अच्युत घिमिरेले परिकल्पना गरेको पुस्तक युएईले बाँडेको मुस्कान युएईबाट सार्वजनिक हुने खबर युएईको नेपाली समुदायमा भाइरल भएको थियो ।

सन्दर्भ युएईले दिएको मुस्कानको हो । यो पुस्तकले युएईमा रहेका हरेक नेपालीहरुको जीवन, जगत, परिवेश, वातावरण, विगत र वर्तमान अवस्थालाई प्रष्ट र सरल शब्दमा उतारेको छ भन्नेमा म केही समय अगाडि नै विस्वस्त थिएँ । त्यही भएर आफ्नो डयुटीको बाबजुत पनि समय व्यवस्थापन गरेर १४० किलोमिटर टाढा रहेको अलएनबाट विमोचन समारोहमा नेपाल एम्बेस्सी पुगेर नै यो पुस्तक हात पार्न सफल भएँ । यो पुस्तक वितरणमा पनि केही योगदान गर्न पाएँ । विमोचन कार्यक्रम सकेर कम्पनीको आवासगृहमा फर्किंदा करिब २ घन्टा लामो बसयात्रामा केही जीवनकथाहरु पढ्न थालेँ ।

यो पुस्तकको अध्ययन गरेपछिको समीक्षा गर्ने हैसियत त मेरो छैन । तर, यो पुस्तक पढेपछि जानी नजानी केही लेख्ने हिम्मत गरेकी छु । यो हिम्मत पनि यही पुस्तक पढेर नै आएको हो । जति पढ्दै जान्छु, उति कथाहरुले तान्दै लान थाले । आफ्नै अवस्थासँग कथा मिलेपछि यस्तो त मेरो जीवनमा पनि भएको थियो नि भन्ने भावना आउन थाले ।

पुस्तक पढिसकेपछि मलाई पनि आफ्नो जीवनका केही भोगाइ राख्न मन लाग्यो ।

अफजल हुसेन जस्ता प्रतिभाशाली इन्जिनियरलाई नेपाल सरकारले चिन्ने हो भने नेपालले हाइड्रोपावरको क्षेत्रमा कायापलट ल्याउन सक्ने रहेछ । नजाने कति अफजल हुसेनहरु आफ्नो प्रतिभाको कदर नभएर विदेशमा गुमनाम छन् ।

अशोक चापागाईंको कथामा भनेजस्तो सोचेजस्तो हुन्न जीवन । मेरो जीवनमा वहाँको कथाले मेल खायो ।

म पनि सानैदेखि गाउँमा बस्न मन पराउने तर म २० वर्षको उमेरमा कसैकी बुहारी तथा श्रीमती बन्न पुगेँ । बाल्यकाल हुँदा मेरो बुवाआमाको दुखद सङ्घर्षपूर्ण जीवन मलाई यो पुस्तकले स्मरण गराइदियो । नारीले केही गर्न सक्दैन भन्ने समाजका ब्याक्तिहरुको अभिब्याक्तिहरुले मेरो मनमा ईख पलाइसकेको थियो । त्यो बेलादेखि नै म पुरुष सरह काम गरेर देखाउँछु भन्ने इख बोक्थेँ।

मेरो मान्यता के थियो भने प्रकृतिले नारीलाई दिएको शक्ति, वरदानलाई नेपाली समाजले बुझ्न सकेको छैन । नारीलाई कमजोर ठान्ने मानिस स्वयम नारीको कोखबाटै जन्म भएको हो भन्ने कुरा किन बिर्सन्छ ? नेपाली संस्कार सभ्यताले नारीलाई उपेक्षापूर्ण नजरले हेर्छन् ? यो पुस्तकमा भएका ३ नारीका कथाहरुले हरेक महिलाहरुलाई ऊर्जा दिन सफल छन् ।

तारा भुसाल, एलिसा राई र लक्ष्मी शर्मा त उदाहरण र बिम्ब बनेर यो पुस्तकमा समेटिएका छन् । यो कथा बिदेसिएका, बिदेश जान तयार हरेक नेपाली नारीहरुको कथा हो । जहाँ गए पनि नेपाली नारीले आफ्नो जिम्मेवारी नारीले पूरा गर्नुपर्छ ।

म हरेक दिदीबहिनीलाइ यो भन्छु कि तपाईको श्रीमानले तपाईलाई झापड हान्न खोज्नुहुन्छ भने तपाई बदलामा झापड होइन, वहाँको हात समाएर रोक्नुहोस र प्रतिवाद गर्नुहोस् र कथाकार तारा भुसालको जस्तो गतिलो उदारण बन्नुहोस् । नारी शक्तिशाली हुन्छन् । नारी सक्षम र आत्मनिर्भर हुनुपर्छ भन्ने सोच राख्नेलाई कथाकार एलिसा राइको कथाले गतिलो प्रेरणा दिनेछ ।

यस पुस्तकका ३७ जना कथाकार हरुमध्येमा कथाकार राम ढुगेलको जीवन कहानी मर्मस्पर्शी र उत्प्रेरक छ । युएईको नेपाली पत्रकारितामा जबर्जस्त उपस्थिति जनाउने उहाँको क्षमता, धैर्य, लो प्रोफाइलमा रहेर आफ्नो कामलाई मात्रै फोकस गर्ने वहाँलाई मैले संस्थागत कामको सिलसिलामा चिनेकी थिएँ । वहाँले पुस्तकमा भने जस्तो म पनि क्षमता भएर पनि ठाउँ नपाइ बस्न बाध्य छु ।

म जे गर्न चाहान्थेँ, सो पूरा गर्न १५ वर्षे काठमाडौंको बसाइमा पनि सकिनँ । मेरो जागिर त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा थियो । युएईले बाँडेको मुस्कानमा भनिए जस्तै दिनमा हजारौं सुटकेसहरुसँगै खुसीले भरिएका अनुहारहरुको आगमन हुन्थ्यो भने २/४ राता बाकस र २/४ मानसिक सन्तुलन गुमाएका महिलाहरु तथा ८/१० वर्ष परदेशमै जेल जीवनयापन गरेर फर्किने आगन्तुक देख्नु पर्थ्यो ।

यो पनि पढ्नुहोस युएईले मुस्कान छर्ने नेपालीहरुको कथा

मेरो दिमागमा हजारौँको खुसी भन्दा पनि २/४ को दुःखी अनुहारले बैदेशिक रोजगारीप्रति नै नकारात्मक सोच पलाएको थियो । जो कोठामा पाहुनाको रुपमा बसेर बिदशिनेहरुलाई हामी श्रीमान्-श्रीमती सल्लाह दिन भ्याइहाल्थ्यौं । विदेश जानुहुन्न, नेपालमै केही गर्नुपर्छ । तर, कथाकार अशोक चापागाईंले शीर्षकमै भनेजस्तै सोचेजस्तो हुन्न जीवन । अरुलाई विदेश जानुहुन्न भनी सुझाव दिने म आफै मुस्कानको खोजीमा युएई आएको ६ वर्ष हुन लागेछ ।

कथाकर जे सागरले भन्याजस्तो जीवन सोचेजस्तो सजिलो भए सुख, खुसी र मुस्कानलाई नै चिन्न नसकिने रहेछ । सुख चिन्न पनि दुःखसँग साक्षात्कार गर्नुपर्ने रहेछ । यसैमा रहेछ जीवनको मज्जा । चुनौतीका अग्ला पहाडहरु छिचोल्दै अगाडि जानुपर्ने रहेछ जीवन । चुनौती छ र त मजा छ जीवन जस्तो लाग्न थालेको छ । यो पुस्तक पढ्दै जाँदा कुनै-कुनै कथामा आˆनै भोगाइ मिलेको भेटिन्छ । मेरो पनि त कथा यस्तै त थियो नि भन्ने अनुभूति हुन्छ ।

यो पुस्तक पढिरहँदा म पनि यति त लेख्न सक्दो रहेछु नि आत्म विश्वास पलायो मलाई । मेरो जीवनमा पनि मुस्कानका लेखकहरुको जस्तो परिवारमा सन्तानको आगमनसगै जागिरले दैनिक जीवन धान्न मुस्किल हुन थाल्यो हाम्रो परिवारमा । मेरो श्रीमान फेसन डिजाइनर भएको हुनाले हामीले गार्मेट स्थापना गरेका थियौं काठमाडौंमा । तर, कथाकार प्रकाश कोइरालाले भने जस्तो नेपालमा बिज्नेसमा स्थापित हुन सजिलो थिएन । फलस्वरुप ऋण लाग्यो । म सामान्य मजदुर थिएँ । व्यापाररव्यावसाय गर्न रिन पनि मजदुर साथीहरुबाट लिएकी थिएँ । दुःख गरेर जम्मा गरेको पैसा सदुपयोग गरेर मैले केही प्रगति गरोस भनेर उहाँहरुले दिनु भएको थियो रिन ।

तर सोचेजस्तो हुन सकेन । राजनीति अस्थिरता र थोरै पुँजीले गर्दा गार्मेण्ट्मा घाटा ब्यहोर्नुपर्ने भो । मलाई मेरो ब्यापारको घाटा भन्दा पनि साथीहरुको रिनको चिन्ता थियो । यस्तै अवस्थामा मात्रै नेपालीको अन्तिम विकल्प वैदेशिक रोजगारी बन्न पुग्छ ।

यो अवस्थामा मेरो श्रीमानले विदेश जाने सोच गर्नुभयो । तर, मैले चलिरहेको आफ्नो गार्मेन्ट बन्द गर्न चाहिनँ । वहाँ फेसन डिजाइनको क्षेत्रमा २० वर्षदेखि काम गरेको मानिस । यति दक्ष मानिस परदेशमा सम्बन्धित क्षेत्रमा काम पाए त ठीक हुन्छ । तर, मासिक ३०/३५ हजार त नेपालमै कमाउन सक्ने मानिस । फेरि म एक्लैले गार्मेन्ट चलाउन पनि गारो हुने भएकाले म नै बिदेश जानुपर्छ भन्ने मैले अठोट गरें । यो विषयमा हामीबीच लामो छलफल भयो । महिलाको लागि खाडी असुरक्षित भन्ने मान्यता पहिले अति नै थियो । तर, त्यो गलत धारणा थियो ।

मलाई के लाग्छ भने महिलाले आˆनो सुरक्षा आफै गर्नुपर्ने हुन्छ । बिग्रन खोज्नेलाई खाडी आइरहनु पर्दैन । यहाँ महिलाको उच्च सम्मान हुन्छ भन्ने कुरामा मेरो श्रीमान कन्भिन्स भएपछि मैले पनि त्यही बाटो रोजेँ सन् २०१४ मा । र, युएई आएकी हुँ ।

परदेशमा नेपाली महिला, के होला ? कस्तो होला ? काम गर्न सकिएला कि नसकिएला ? बासस्थान कस्तो होला ? यी विविध प्रस्न्हरु एकैपटक आउथे मनमा । तर मैले अलेनको अर्धसरकारी स्कुलमा काम गर्ने अवसर पाएँ । कम्पनीले सप्लाइमा पठाएको हो । नेपालमा कुरा बुझ्न सक्दैनन्,सप्लाईको काम सबै खराव हुँदैनन् । यहाँ अधिक कम्पनीमा जनशक्ति सप्लाई गरेर नै काम लिइन्छ । एक दुई जनाले दुस्ख पाए भन्दैमा सबैले दु:ख पाएका छन् भनेर बुझनु गलत हो ।

मैले पनि यही काम गरेर मेरो व्यापारलाई सन्तुलनमा ल्याएकी छु । घरब्याबहार मिलाएकी छु । परिवारलाई हासिखुसी राख्न सकेकी छु । छोरी आशिकालाई मुस्कुराउने बनाएकी छु । श्रीमानले झापामा गार्मेण्ट विस्तार गर्ने क्रममा हुनुहुन्छ । युएईले मलाई लक्ष्मी शर्माजस्तै माइनसबाट प्लसमा ल्याएको छ ।

पुस्तकमा मेरो कथा छैन । तर, हरेक कथाहरुसँग मेरो कथा मिल्न जान्छ । त्यसैले यो पुस्तक मेरो पनि हो । अनि हो यो पुस्तक युएईमा कार्यरत करिब ३ लाख नेपालीहरुको पनि । जसले आफू, आफ्नो परिवार, समाज र देशकै जीवनमा मुस्कान र खुसी दिइरहेका छन्, समृद्धि दिलाएका छन् । छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाएका छन् । कोठामै टाक्सिएर बस्न विवश आफ्नो परिवारलाई एउटा सुन्दर घर दिलाएका छन् ।

यी सबको पछि परदेशको भुमिका छ । त्यसैले परदेशमा पासो मात्रै होइन, समृद्धिका आधारहरु पनि छन् । परदेशलाई गाली होइन, ताली दिनुपर्ने हुन्छ । यो पुस्तकले पनि त्यही खुसीको खोजी गरेको छ । सकारात्मक सन्देश लिएर आएको छ यो पुस्तक । विदेशिने हरेकले आफ्नो कथा, ब्यथा, अवस्था, विपन्नतादेखि सम्पन्नताको संघर्षको नालीबेली, अभावदेखि सम्पूर्णताको कहानी हरेकले इमानदारिपूर्वक सरल भाषामा वयान गरेका छन् ।

युएईमा करिब ८ वर्षदेखि आफ्नो कामसँगै पत्रकारिता र सामाजिक क्रियाकलापमा सक्रिय झापा स्थायी घर भएका पत्रकार रामप्रसाद ढुंगेल र युएईको नेपाली साहित्यलाई संस्थागत सक्रियता दिलाउन सफल सिन्धुपाल्चोकका जयराम पराजुली उर्फ जे सागरले संयोजन र संकलन गरेको यो पुस्तकको परिकल्पना रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले गर्नुभएको रहेछ ।

बुलबुल प्रकाशन प्रालिले बजारमा ल्याएको यो पुस्तक युएईको नेपाली समुदायमा धेरै खोजिने, चर्चा बटुल्न सफल पुस्तकको सूचीमा परेको छ । पुस्तकको सफलताको शुभकामना । यो पुस्तकले युएईको सुन्दर पक्षलाई उजागर गरेको छ । यसलाई अन्य भाषामा अनुवाद गर्न सके युएईको त इज्जत अझ उचो हुने नै छ, त्यसमा नेपालीहरुको त्याग, योगदान र परिवर्तित जीवनको स्पष्ट तस्वीर विश्वले पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment