Comments Add Comment

प्रणय-दिवस प्रेम एक अनुभूति 

प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया । हामीले यस्तै बुझेका छौं । हुन त प्रेमको आयमिक अर्थ र महत्व छ । आमा छोरा, भाई बहिनी, आफन्त, नातागोताबीच पनि प्रेम हुन्छ । तर, नवयौवनावीच खासगरी बिपरित-लिंगीमा हुने मानसिक आकर्षण र समपर्णभावलाई प्रेम भनेर बुझिएको छ । यस्तो प्रेममा त्याग हुन्छ ।

नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ । त्यसैले त भनिन्छ, प्रेम अन्धो हुन्छ ।

प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् । त्यहाँ न जातले छेक्छ, न भूगोलले रोक्छ । न धनले अड्चन ल्याउँछ, न रुपले तगारो लगाउँछ ।

तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ । त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्‍याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् ।

भनिन्छ, प्रेम स्वत हुने कुरा हो । तर, कुनै न कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ । प्रेम पोखिनुपर्छ । प्रेम पग्लिनुपर्छ । तब न प्रेम हुन्छ ।

एउटा अंग्रेजी भनाई छ, ‘वेल बिगन इज  हाफ डन ।’

अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो । प्रेमको सन्दर्भमा पनि त यो लागु हुन्छ । प्रेमको सुरुवात प्रस्तावबाट सुरु हुन्छ । तर, प्रस्ताव राख्ने भन्दैमा सोझै ‘आइ लभ यु’ भन्न सुहाउँछ त ?

निश्चय पनि यो सुहाउने कुरा होइन । कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ । यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक छ भने प्रस्ताव राख्न सकिन्छ । प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो । यसका विभिन्न माध्याम हुन्छन् । फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ । वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ ।

प्रणय दिवस किन मनाउन थालियो ?

अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन । प्रेमको कुनै सीमा हुँदैन । प्रेम सर्वव्यापी हुन्छ ।

संभवत यस्तै मान्यताले नेपालमा पनि प्रणय दिवस धुमधाम मनाइने गरिन्छ । किन मनाइयो त प्रणय दिवस ?  यसको सूत्रपात कसरी भयो ?

खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा प्रणय दिवस मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै प्रणय दिवस हो ।

प्रेम सप्ताह

पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई प्रणय दिवस भनिन्थ्यो । अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ । यसको सुरुवात रोज डेबाट सुरु हुन्छ । गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने र आखिरमा प्रणय दिवस मनाउने । यो सिलसिला फेब्रुअरी ७ बाट सुरु हुन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे र अन्य दिन एवं रितले मनाउने गरिन्छ ।

त, प्रेम दिवस सुरु भइसकेको छ । अतः फेबुअरी ७ देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ । अर्थात यसरी बुझौं, फेबु्रअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिने ‘वार्मअप’ सात दिनअघि नै सुरु हुन्छ । अतः सुरुको दिनदेखि हरेक दिन कुनै न कुनै दिवस मनाइन्छ ।

फेब्रुअरी ७

यो दिनलाई रोज डे भनिन्छ । अर्थात उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।

फेब्रुअरी ८

प्रपोज डे । अर्थात प्रेम प्रस्ताव राख्ने दिन । आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।

फेब्रुअरी ९

यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी-प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।

फेब्रुअरी १०

टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।

फेब्रुअरी ११

यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात बाचा गर्ने दिन । एक अर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।

फेब्रुअरी १२

अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।

फेब्रुअरी १३

यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।

फेब्रुअरी १४

यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यसलाई प्रणय दिवस अर्थात प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पुर्‍याउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment