Comments Add Comment

हलमा दुई फिल्मको भिडन्त : कसले मार्छ बाजी ?

यस साताको शुक्रबारबाट दुई नेपाली चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन् । विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ्ग’ र विराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’ले आफ्नो प्रदर्शन सुरु गरेका हुन् ।

लामो समय देखि चलचित्र हल सुनसान छन् । नेपाली चलचित्रको उपस्थिती दयानिय थियो । विदेशी चलचित्रहरुले दर्शक पाइरहदाँ नेपाली चलचित्र हेर्ने दर्शक भने शुन्य थिए । त्यो अवस्थालाई शुक्रबार रिलिज भएका यी दुई चलचित्रले चिर्ने आश गरिएको छ ।

विपिन अहिलेको पुस्तामा रुचाइएका अभिनेता हुन् । आफूलाई जहिल्यै फरक भूमिकामा प्रस्तुत गर्न सक्ने विपिनले ‘सेल्फी किङ्ग’मा पनि आफूलाई फरक अवतारमा प्रस्तुत गरेका छन् । यस चलचित्रमा विपिन हाँस्यकलाकारको भूमिकामा प्रस्तुत छन् ।

दिनेश राउत र सुभाष थापाले निर्माण गरेको यस चलचित्रलाई विशाल सापकोटाले निर्देशक गरेका छन् । सफल चलचित्र ‘प्रसाद’ टीमले नै सहकार्य गरेर यस चलचित्र तयार गरेको भएर पनि यस चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुरालको पनि अभिनय रहेको छ ।

त्यस्तै, कुनै समय एक्सन स्टारको रुपमा चिनिएका नायक विराज भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘साङ्लो’ले पनि आजैबाट आफ्नो प्रदर्शन सुरु गरेको छ ।

कुनै समय विराज भट्टको पोस्टर हेरेर हलमा दर्शक उर्लिन्थे । तर, आफ्नो स्टारडम चलिरहेकै समय विराज भोजपूरी चलचित्रमा हाम फाले । केही वर्ष भोजपूरी चलचित्रमा नै काम गरेका विराज केही वर्ष पहिले चलचित्र ‘जय पर्शुराम’बाट नेपाली चलचित्र क्षेत्रमा फर्किए । उक्त चलचित्रले भने विराजलाई सफलता दिएन ।

अहिले विराज आफ्नै निर्देशकमा चलचित्र तयार गरेर कमब्याक गरिरहेका छन् । चलचित्रको ट्रेलर र गीतलाई दर्शकले खुबै रुचाएका छन् । धेरै दर्शकले ‘बाघ जंगल फर्किएको’ भन्दै कमेन्ट गरिरहेका छन् । त्यसैले विराजले यस चलचित्रमा दर्शक पाउने आश गर्न सकिन्छ ।

एक्सन तथा कमेडी जनरामा निर्माण भएको यस चलचित्रमा विराजसँगै निकिता चण्डक, प्रकाश शाह, कमेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको छ । मिस नेपाल निकिताले यसै चलचित्रबाट डेब्यु गर्न लागेकी हुन् ।

यहीँ मितिमा बलिउडको प्रतिक्षित चलचित्र ‘मलंग’ पनि रिलिज भएको छ । मल्टिप्लेक्स हलहरुमा भने यस चलचित्रको असर राम्रै देखिन्छ । यस चलचित्रकै कारण दुई नेपाली चलचित्रको शो घटेको छ । व्यापारिक हिसाबमा पनि यस चलचित्रले असर गर्ने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment