+
+
Shares

युट्युबरले भने- पत्रकार आचारसंहिता मान्छौं

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २४ गते १७:२०

२४ माघ, काठमाडौं । आफूलाई ‘अनलाइन टेलिभिजन सञ्चालक’ बताउने नेपालका युट्युबरहरुले मुख्य गरी तीन प्रकारका गाली खानुपरेको गुनासो सुनाए एक- हामीलाई युट्युबे भनेर हेप्ने गरिएको छ । दुई- युट्युबरहरु पत्रकार होइनन्, पैसाका पछि लागेका मान्छे हुन् भन्ने गरिएको छ । र, तीन- युट्युबरहरुले अश्लील भाषाहरु प्रयोग गरेर जे पायो त्यही सामाग्रीहरु पोष्ट गरेर पत्रकारितालाई नै बदनाम पार्न खोजिरहेका छन् ।

यस्तै गुनासाहरु सुनाउन ‘अनलाइन टेलिभिजन’का सञ्चालकहरुले शुक्रबार काठमाडौंमा एक भेलाको आयोजना गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेतलाई बोलाएर छलफल गरिएको थियो ।

कार्यक्रममा उपस्थित युट्युबरहरुले आफ्ना कमजोरी सच्याउने र व्यवसायिक पत्रकारितामा जोड दिने प्रतिवद्धता जनाउँदै भने, ‘हामी पत्रकार आचारसंहिता पालना गर्ने कुरामा प्रतिवद्ध छौं । अब हामी आन्तरिक आचारसंहिता पनि बनाउने छौं । आचारसंहिता नमान्नेहरु आफ्नै बाटोमा हिँडुन् । तर, हामीचाहिँ पत्रकार आचारसंहिताप्रति प्रतिवद्ध रहनेछौं ।’

कार्यक्रममा भेला भएका युट्युबर एवं अनलाइन टिभीका सञ्चालकहरुले विषयवस्तु र शब्द छनोटमा ध्यान दिने, अश्लील शब्दहरु प्रयोग नगर्ने एवं पेशागत दक्षता वृद्धि गर्नेतर्फ सामूहिक प्रतिवद्धता जनाउँदै एउटा कमिटीसमेत गठन गरेका छन् ।

अनलाइन टीभी सञ्चालक एवं युट्युवरहरुले २५ सदस्यीय तदर्थ समिति गठन गरेका हुन् । साथै आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि भेलाले गरेको छ । भेलामा ९४ जना अनलाइन टेलिभिजन सञ्चालक तथा युट्युवर सहभागी भएको आयोजकले बताए ।

तपाई‌ं-हाम्रो भेट जेलमा हुन सक्छ : शिव गाउँले

नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले अनलाइन टिभी वा युट्युबरहरुले जे पायो त्यही विषयलाई समाचारका रुपमा पस्कन नहुने सुझाव दिए । यदि यस्तो गरिरहने हो भने जेलमा भेट हुने गाउँलेले बताए ।

खोज पत्रकारिता केन्द्रका सम्पादकसमेत रहेका गाउँलेले अगाडि भने, ‘अप्ठ्यारो नमान्नु होला, मैले त धेरैजसो युट्युब एकलखे सुनेर आफ्नो माइन्डसेट बनाइरहेको मान्छे परें । यसलाई अनलाइन टिभी, युट्युव पत्रकारिता के भन्ने ? रत्न खत्रीकी श्रीमतीको हत्या, अब यसमा प्रमोद आचार्य के भन्छन् ? भनियो भने यो जर्नालिज्म भयो कि भएन ? कुनै हालतमा भएन । त्यो होइन पत्रकारिता । सरोकारै नभएको मान्छेको के अर्थ छ ? त्यो कहाँको जर्नालिज्म हो ?’

गाउँलेले थपे, ‘बडो सजिलोसँग प्रविधिको उपहार, पछिल्लो पुस्ता ! अलि बढ्तै गरी यसो गर्दै जाँदा मलाई लाग्छ, खतरा म के देख्छु भने हाम्रो भेट जेलमा हुन्छ । अप्ठ्यारो नमान्नुहोला, म बडो सोचविचार गरेर भन्दैछु, भावनामा भनिरहेको छैन । तपाई‌ंले विवेक प्रयोग नगरिकन जे भेटेको विषयवस्तु पनि मेरो कन्टेन्ट हो भन्न थाल्नुभयो भने मलाई लाग्छ, त्यो दिन टाढा हुँदैन ।’

बरिष्ठ पत्रकार गाउँलेले आफूलाई पत्रकार ठान्नेहरुले पाठक, प्रेस काउन्सिल र अदालतप्रति जवाफदेही हुनुपर्ने बताए । ‘आफ्ना सारा कन्टेन्टप्रति हामी दुई/तीनवटा निकायमा जवाफदेही हुनुपर्छ, पहिलो-जनता, आफ्ना पाठक, दर्शक र स्रोताप्रति तपाईं जिम्मेवार हुनैपर्छ,’ गाउँलेले भने, ‘दोस्रो प्रेस काउन्सिल, जसले हामीलाई पाइला-पाइलामा प्रश्न गर्न सक्छ । र, तेस्रो अदालत । हामी अदालतको जवाफदेहिता भन्दा बाहिर छैनौं ।’

गाउँलेले अगाडि भने, ‘मैले दिएँ, दिने काम हो, बाँकी कुरो चल्दै गर्छ भन्ने साह्रै पुरानो अवधारणा हो, सबै कुरालाई अभिव्यक्ति स्वतन्त्रताको बर्को ओढाउने पक्षमा म छैन । व्यवसायिक पत्रकारिता गरेको हो भने मैले कन्टेन्ट दिएँ, बाँकी कुरो अरुको हो भन्न मिल्दैन । त्यसको जिम्मा हामीले लिनुपर्छ ।’

तारानाथ दाहालको प्रश्न : प्रविधि प्रयोगकर्ता हुने कि पत्रकार ?

फ्रिडम फोरमका अध्यक्षसमेत रहेका पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले युट्युबर एवं अनलाइन टीभी सञ्चालकहरु प्रविधिको प्रयोगकर्ता मात्रै हुने कि पत्रकार हुने भन्ने प्रश्नको यसको छिनोफानो हुनुपर्ने बताए ।

दाहालले भने, ‘म त धेरै युट्युब कन्टेन्टहरुको प्रयोगकर्ता होइन, तर आलोचनाहरु सुनिरहेको हुन्छु । यसमा कुनरुपमा जाने ? इन्टरनेटमा टेक्नोलोजीको प्रयोग गर्ने एउटा मान्छे हुने कि जर्नालिस्ट हुने ? जर्नालिस्ट हुने हो भने त्यसका जुन मूल्यमान्यताहरु विकसित भएका छन्, त्यसको जिम्मेवारी लिने हिसाबले अगाडि बढौं । योे कुराको छिनोफानो हुनुपर्छ ।’

अनलाइन टिभी सञ्चालक एवं युट्युबरहरु व्यवसायिक हुनका लागि संगठित हुनु राम्रो भए पनि सिण्डिकेट बनाउने गरी संगठित हुनु उचित नहुने दाहालले बताए । उनले भने, ‘प्रविधिले दिएको महत्वपूर्ण योगदानलाई आफ्नो स्वार्थमा फाइदा लिने गरी सिण्डिकेट गर्नु हुँदैन ।’

पत्रकारका संघसंस्थाले चिन्नुपर्‍यो : बोर्णबहादुर कार्की

कार्यक्रममा सहभागी नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले राज्यबाट अन्य मिडियालाई जे व्यवहार गरिएको छ, अनलाइन टेलिभिजनहरुलाई पनि त्यही व्यवहार गरिनुपर्ने बताउँदै भने, ‘सूचना प्रविधि विधेयकका नाममा वा साइबर कानूनका नाममा अनलाइन टेलिभिजनलाई विभेद गरिनुहुँदैन । पत्रकारका संघसंस्थाले पनि तपाईंहरुलाई चिन्नुपर्‍यो, त्यहाँ तपाईंहरुले मान्यता पाउनुपर्‍यो ।’

तर, युट्युबरहरुले आफूलाई सच्याउन ध्यान दिनुपर्ने बताउँदै कार्कीले अगाडि भने, ‘आफैंले आफैंलाई छातीमा हात राखेर सोच्नुपर्छ, मैले प्रसारित गरेको समाचारमा म कति इमान्दार भएँ ? अनलाइन टिभीको समस्या के हो भने हरेक बस्तुलाई समाचार बनाउन भएन, सबैभन्दा नकारात्मक कुरालाई युट्युवमा सम्प्रेषण गरेर भ्युज बढाउनतिर लाग्न भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?