काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लब महिलातर्फ र नेपाल पुलिस क्लब पुरुषतर्फ २०७५ बर्षको उत्कृष्ट भलिबल टिमको सम्मानबाट सम्मानित भएको छ । शनिबार तेश्रो एनभीए अवार्ड कार्यक्रमको आयोजना गर्दै नेपाल भलिबल संघले टिमलाई नगद १ लाख सहित सम्मान गरेको हो ।
नेपाल भलिबल संघद्वारा सम्वन्धन प्राप्त प्रतियोगिताहरुमा एपीएफले महिला तर्फ १० मा ९ प्रतियोगितामा विजयी हुँदै उत्कृष्टता हासिल गरेको हो । यस्तै पुलिसले पुरुषतर्फ ९ खेल मध्ये ६ खेलमा विजयी हुँदै नेपाल पुलिस उत्कृष्ट टिम घोषित भएको हो ।
कुलबहादुर र सरस्वती वर्ष खेलाडी
यस्तै खेलाडीतर्फ महिलामा एपिएफ क्लबकी सरस्वती चौधरी र पुरुषमा नेपाल पुलिसका कुलबहादुर थापा बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् । भलिबलका उदियमान खेलाडीहरुमा महिलातर्फ उषा भण्डारी (पुलिस क्लब) र सरण सामरी क्षेत्री (टीएसी) घोषित भएका छन् । यसैगरी महिलातर्फ एपीएफका ज्ञानेन्द्र बिष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुले नगद २५ हजारसहित सम्मान पत्र प्राप्त गरे ।
कोपिलाको सन्यास
यसैगरी भलिबल खेलमा लामो समय सम्म आवद्ध रही भलिबल अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएकी कोपिला उप्रेतीलाई संघले सम्मान स्वरुप नगद ५० हजार सहित सम्मान पत्रले सम्मान गर्यो । उप्रेतीले ६१ साल देखि अनवरत रुपमा भलिबल खेलको खेलाडीको रुपमा आफुलाई उभ्याएकी थिईन् । कोपिलाले शनिवारै अन्तर्राष्ट्रिय स्तरबाट सन्यास घोषणा गरेकी हुन् ।
राई र पिटर पनि सम्मानित
नेपालमा भलिबल खेलको विकास र विस्तारमा अनवरत लागि पर्ने न्यू डायमण्ड एकेडेमीका संस्थापक एवं प्रशिक्षक तथा नेपाल भलिबल संघ बिद्यालय कमिसनका उपाध्यक्ष कुमार राईलाई पनि सम्मानित भए । राईलाई नगद २५ हजार सहित अभिनन्दन पत्रले सम्मान गरिएको हो ।
यस्तै नेपालमा भलिबल खेलको विकासमा सहयोग पुर्याउनु हुने नेदरल्याण्ड भलिबल संघका बिकास निर्देशक मि. पिटर भान तरेललाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाल भलिबल संघले आफ्ना खेलाडी, प्रशिक्षक तथा टिमलाई विभिन्न खेलमा देखाएको उत्कृष्ट नतिजाका आधारमा मूल्यांकन गर्दै विगत तीन वर्षदेखि सम्मान गर्ने कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।
शनिबार एक कार्यक्रमबीच संघीय प्रतिनिधिसभा सांसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा टिमलाई संघद्वारा प्रदान गरिएको नगद रकम सहित सम्मान पत्रद्वारा सम्मान गरे ।
कार्यक्रममा बंगलादेशको राजधानी ढाकामा आयोजना भएको प्रथम एभिसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप २०१९ मा विजय हासिल गर्दै राष्ट्रको नाम उच्च राख्न सफल नेपाली महिला भलिबल टिमका प्रत्येक सदस्यहरुलाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया 4