Comments Add Comment

भूकम्पमा क्षतिग्रस्त ४ सय सम्पदा पुनर्निर्माण सकियो, साढे २ अर्ब खर्च

२६ माघ, काठमाडौं । भूकम्पले भत्काएका ९२० सम्पदामध्ये ४ सय सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १२ वैशाख २०७२ को भूकम्पबाट भत्किएका सम्पदामध्ये ४ सय वटाको पुनर्निर्माण सकिएको हो, १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम चालु आर्थिक वर्षं भित्र सक्ने लक्ष्य रहेको  विभागले जनाएको छ ।

चालु आर्थिक वर्षभित्र तोकिएको लक्ष्यअनुसार काम भए आगामी असार मसान्तसम्म कूल ६० प्रतिशत सम्पदा पुनर्निर्माण सकिने छ ।

विभागका अनुसार ४ सय सम्पदा पुनर्निर्माणमा अहिलेसम्म २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको छ । यो रकम पुरातत्व विभागले गरेको पुनर्निर्माणको काममा मात्र खर्च भएको हो । यसबाहेक राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अन्य स्वदेशी तथा विदेशी संघसंस्थाबाट समेत सम्पदा पुनर्निर्माणको काम जारी रहेको छ ।

भूकम्पले देशका ३१ जिल्लामा ९२० वटा सम्पदा भत्काएको थियो । त्यसमा धराहरा र रानीपोखरी, बसन्तपुर, भक्तपुर र पाटन दरवार स्क्वायरलगायत क्षेत्रमा रहेका सम्पदासमेत परेका छन् । विभागका अनुसार चालु आवमा पुनर्निर्माण गरिसक्ने लक्ष्य तोकिएका १ सय ५० सम्पदाका लागि मात्र ३ अर्ब १७ करोड रुपैयाँ विनियोजन भएको छ ।

सम्पदा पुनर्निर्माणमा खर्च हुँदैछ सवा ९ अर्ब

भूकम्पले भत्काएका सम्पदाको पुनर्निर्माणमा कूल लागत ९ अर्ब १८ करोड ७८ लाख रुपैयाँ हो । यसमध्ये आर्थिक वर्ष २०७५/७६ सम्म २ अर्ब ३९ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आव २०७६/७७ मा ३ अर्ब १७ करोड रुपैयाँ खर्च हुँदैछ ।

त्यसपछिको दुई आवमा सम्पदा पुनर्निर्माण सक्ने लक्ष्य लिइएको पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार आगामी आव २०७७/७८ मा १ अर्ब ८१ करोड २ लाख र आव २०७८/७९ मा १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने भएको छ ।

पुननिर्माणमा नेपाल सरकारबाहेक भारतीय अनुदान सहयोग, भारतीय एक्जिम बैंक र जापान सरकार, एसियाली विकास बैंक, चीन सरकार, यूनेस्कोलगायतको लगानी रहेको छ ।

विभागको जिम्मामा ७३७ सम्पदा पुनर्निर्माण

पुरातत्व विभागका अनुसार ९२० सम्पदामध्ये विभागको जिम्मामा ७३७ वटा सम्पदा पुनर्निर्माण भइरहेका छन् । १ सय ८३ सम्पदा भने अन्य निकायबाट पुनर्निर्माण हुने गरी जिम्मा दिइएको छ ।

विश्व सम्पदा क्षेत्रका अधिकांश संरचना ठडिए

पुरातत्व विभागका अनुसार विभागले जिम्मा लिएका सम्पदामध्ये विश्व सम्पदा क्षेत्र भित्र भत्किएका सम्पदा मध्ये अधिकांश पुनर्निर्माण भइसकेका छन् । कूल १७० सम्पदा विश्व सम्पदा सूचि भित्र भत्किएका थिए । त्यसमध्ये १ सय १ संरचना पुनर्निर्माण सकिएको छ । ५४ वटा सम्पदा पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । १५ वटा संरचनाको भने पुनर्निर्माण शुरु नै हुन सकेको छैन ।

सम्पदा पुनर्निर्माण तोकिएकै समयमा पुरा हुन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्पदा पुनर्निर्माणको काम निर्धारित समयमै पुरा हुने बताएका छन् । आइतबार विभागले सम्पदा पुनर्निर्माणको प्रगतिबारे जानकार गराउन राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले दुई वर्ष पछि नेपालका सम्पदा जस्ताको तस्तै तयार भए भनी विश्व समूदायसामु घोषणा गरिने उनले बताए ।

नेपालका विश्व सम्पदा सूचिलाई यूनेस्कोले खतराको सूचिमा नराख्ने भन्दै उनले यी सम्पदालाई पर्यटक आकर्षित गर्ने मूख्य माध्यम बनाइने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment