Comments Add Comment

प्रेम सम्बन्धमा खटपटपछि सम्झनाको हत्या

२६ माघ, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–६ कालीमन्दिर चोककी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या उनकै प्रेमीले गरेको खुलेको छ ।

शुक्रबार विहान विराटनगर महानगरपालिका– १२ मलहनवास्थित उखुबारीमा घाँटी रेटेर सलले बेरेको अवस्थामा परियार मृत भेटिएकी थिइन् ।

प्रहरी अनुसन्धानमा परियारको हत्या सप्तरीको कृष्णश्रवण गाउँपालिका– ३ स्थायी घर भई बुढी‌ग‌ंगा गाउँपालिका– ३ पोठियामा बस्दै आएका २५ वर्षीय सुरेन्द्रप्रसाद साहले गरेको खुलेको हो । साह बुढीगंगा गाउँपालिकामा रहेको क्लालिटी नुडल्स प्रालिमा स्टोर इञ्चार्जका रुपमा काम गर्दै आइरहेका थिए ।

मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘मंगलबार दुबै जनाबीच सामान्य विवाद भएको रहेछ । रिसको झोकमा साहले उखुबारीमा लगेर परियारको हत्या गरेको स्वीकार गरिसकेका छन् ।’

गत शुक्रबार बेलुका नै प्रहरीले साहलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा साहले मंगलबार साँझ रिसको झोकमा हत्या गरेको स्वीकार गरेको अधिकारीले बताए ।

मोरङ प्रहरी प्रमुख अधिकारीका अनुसार क्वालिटी नुडल्समा काम गर्दा सम्झना र सुरेन्द्रबीच प्रेमसम्बन्ध सुरु भएको थियो । तर पछिल्लो समय भने सम्झनाले काम गर्न छाडेकी थिइन् । तीन वर्षयता प्रेम सम्बन्धमा रहेका उनीहरुबीच शारीरिक सम्बन्धसमेत हुँदै आएको थियो ।

मंगलबार बिहान सुरेन्द्रले फोन गर्दा सम्झनाले उठाइनन् । बिहान करिब १० बजे फोन गर्दा सम्झनाको मोबाइल स्वीच अफ भएको रहेछ । साह अफिसबाट समय मिलाएर दिउँसो सम्झनाको घर पुगे । सम्झनाका दुई छोरी स्कुल गएका थिए । सम्झना भने घरमा ताल्चा लगाएर बाहिर गएकी थिइन् ।

यो पनि पढ्नुहोस मंगलबारबाट बेपत्ता सम्झनाको शव उखुबारीमा 

सुरेन्द्रले गाउँमा सम्झनाका बारेमा सोधीखोजी गर्दा बिहानै हिँडेको जानकारी पाए । प्रेमिकालाई नभेटेपछि सुरेन्द्र काममा फर्किए । बेलुका ४ बजे उनलाई फोन गर्दा मोबाइल अफ नै थियो । सधैं फोन उठाउने प्रेमिकाले मोबाइल अफ गरेपछि उनी रिसाए ।

आफूलाई छाडेर अरु कोहीसँग प्रेम सम्बन्धमा रहेको हुनसक्ने आशंका साहले गरे । अफिस छुट्टी भएपछि सम्झनालाई खोज्दै उनी निस्किए । खोज्ने क्रममा उनले सम्झनालाई बाँसबारी चोकमा भेटे ।

भेट हुँदा पनि उनको मोबाइल स्वीच अफ नै थियो । भेट्नसाथ साहले कसलाई भेट्न गएको भनेर सम्झनाप्रति प्रश्न तेर्साए । सम्झनाले कुनै जवाफ दिइनन् । आफूमाथि शंका गरेपछि सम्झना पनि साहसँग रिसाइन् । यही विषयमा दुबै जनाबीच बिवाद भएपछि सुरेन्द्रले सम्झनालाई मोटरसाइकलमा राखेर निमुवा हुँदै रिङरोड तर्फ लागे ।

मोरङ प्रहरी प्रमुख विश्व अधिकारीका अनुसार मोटरसाइकलमा यात्रा गर्दा उनीहरुबीच भनाभन भइरहेको थियो । कहाँ हिँडेको भन्दा भन्दै सुरेन्द्रले विराटनगर महानगरपालिका– १२ मलहनवास्थित उखुबारी नजिकै लगेर मोटरसाइकल रोके ।  मोटरसाइकलबाट उत्रिएपछि पनि उनीहरुबीच भनाभन भइरहेको स्थानीयले पनि देखेका थिए ।

त्यसपछि सुरेन्द्रले सम्झनाकै सल खोसेर घाँटी कसेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

सम्झना बेपत्ता भएको जानकारी पाएपछि इलाममा सिलाइको काम गर्दै आएका श्रीमान बसन्त घर फर्किए । सोधीखोजी गर्दा नभेटेपछि इलाका प्रहरी कार्यालय निमुवामा बसन्तले श्रीमती बेपत्ता भएको भन्दै उजुरी दिए ।

दुहबी घर भएका बसन्तले श्रीमतीको प्रेम सम्बन्ध सुरेन्द्रसँग भएको थाहा पाएपछि बुढीगंगामा रहेको प्रहरी कार्यालयमा श्रीमती हराएको निवेदन दिएका हुन् । प्रहरीले सोधी खोजी गर्ने क्रममा सुरेन्द्रलाई बोलाएर केरकार गरेको थियो । तर उनले आफूले नभेटेको बताए ।

शुक्रबार बिहान पहिचान नुखुलेको महिलाको शव भेटिएको जानकारी पाएपछि आएका बसन्तले श्रीमतीको पहिचान गरे । बसन्तले सनाखत गरेलगत्तै प्रहरीले सुरेन्द्रलाई पक्राउ गर्‍यो । पक्राउ परेपछि भने उनले आफूले हत्या गरेको स्वीकार गरे ।

बसन्तले किटानी जाहेरी दिएपछि प्रहरीले सुरेन्द्रलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment