Comments Add Comment

लगानीको प्रतिवद्धता ‘फलोअप’ गर्न संयन्त्र बन्ने

२६ माघ, काठमाडौं । एक वर्ष अगाडि आयोजित गानी सम्मेलनका दौरान लगानीकर्ताले प्रतिवद्धता गरेको ठूलो रकम कार्यान्वयनमा आउन नसकेपछि सरकारले त्यसको ‘फलोअप’का लागि अब संयन्त्र बनाउने भएको छ ।

लगानी सम्मेलनमा आएको लगानी प्रतिवद्धता समेतलाई ‘फलोअप’ गर्न र वैदेशिक लगानी आकर्षण गर्न अन्तर मन्त्रालय संयन्त्र नहुँदा कार्यान्वयन प्रभावकारी नभएको भन्दै संयन्त्र बनाउन लागिएको हो ।

आइतबार ४७औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा योजना आयोगले संयन्त्र गठनको प्रस्ताव गरेको हो । आयोगमा आर्थिक क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सरोकारवाला निकायका पदाधिकारीसमेत सम्मिलित संयन्त्र गठनको प्रस्ताव गरिएको हो । यस संयन्त्रले वैदेशिक लगानी बढाउन भूमिका खेल्ने भएको छ ।

गतवर्ष फागुनमा आयोजना गरिएको लगानी सम्मेलनबाट साढे १२ खर्ब रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको थियो । २ सय ५० भन्दा बढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानीको प्रतिवद्धता जनाएका थिए ।

सरकारले ७० भन्दा बढी आयोजनालाई सोकेसमा राखेर लगानीका लागि खुला गरेको थियो । आयोजनामा प्रतिवद्धता भएको रकमसमेत भित्राउन सरोकारवाला निकाय तत्पर नदेखिएपछि आयोजना आयोगले यस सम्बन्धमा ‘फलोअप’ गर्ने निर्णय गरेको हो ।

यसअघि लगानी बोर्डले कूल लगानी प्रतिवद्धतामध्ये ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरका १४ आयोजनाको पूर्वयोग्यता मूल्यांकन गरी गत पुसमा लगानीकर्ताको संक्षिप्त सूची तयार गरेको थियो । बोर्डका अनुसार यसमध्ये ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्न परियोजना नै छनोट भइसकेको छ ।

१०.५४ अर्ब रुपैयाँ अनुमानित लागत भएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्बल प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रेक्स कम्पनीसँग परियोजना लगानी सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

दमकमा निर्माण हुने चाइना-नेपाल फ्रेन्डसीप पार्क निर्माणका लागि समझदारी भएको छ । विराटनगर, विरगन्ज र भैरहवामा निर्माण हुने करीव १३ अर्ब रुपैयाँ कूल लागतको मल्टीमोडेल लजिस्टिक पार्कको विस्तृत सम्भाब्यता अध्ययन गर्न दुई छुट्टाछुट्टै कम्पनीसँग समझदारी भएको छ ।

निजगढ विमानस्थलका लागि बोर्डले स्विट्जरल्याण्डको जुरिच एयरपोर्ट इन्टरनेशनलसँग लगानीको प्रस्ताव मागेको छ । लगानी सम्मेलनकै दौरान यस कम्पनीले निजगढ विमानस्थलका लागि प्रस्ताव गरेको थियो । विमानस्थलको विकास र संचालनका लागि यो कम्पनी इच्छुक देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment