Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा ताला लगाउने सांसदको चेतावनी

५ दिनभित्र भुक्तानी विवाद समाधान गर्न अल्टिमेटम

२७ माघ, जनकपुरधाम । गत आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न भएका योजनाको रकम अहिलेसम्म भुक्तानी नभएको विरोधमा प्रदेश २ का सांसदले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

केही सांसदको प्रदेशसभामा बसेको बैठकले भुक्तानीका निम्ति मुख्यमन्त्रीलाई पाँच दिनको अल्टिमेटम दिने र त्यस अवधीभित्र भुक्तानी नगरिए मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ताला लगाउने निर्णय गरेका छन् ।

प्रतिपक्षी नेकपा र कांग्रेसका साथै सत्तारुढ समाजवादी र राजपाका समेत सांसदहरुको सहभागिता रहेको बैठकले सरकारलाई अल्टिमेटम दिने तय गरेको छ । भुक्तानी हुन बाँकी योजनाको रकम उपलब्ध गराइदिन मुख्यमन्त्रीलाई ज्ञापन बुझाउने तयारी गरिएको राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विदेश्वर यादव ‘विक्की’ ले बताए ।

यो पनि पढ्नुहोस प्रदेश २ मा भुक्तानी विवाद : कामै नगरी बिल बनाएको संसदीय समितिको ठहर

ज्ञापन बुझाएको पाँच दिनभित्र भुक्तानी नगरिए मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गरिने उनले बताए ।

प्रदेश २ मा आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न गरिएका ८ सय ४२ वटा योजनाको झण्डै ८३ करोड रुपैयाँ अझै भुक्तानी हुन बाँकी छ ।

सभामुख सरोजकुमार यादव नेतृत्वको समितिले छानबिन गर्दा धेरै योजनाको रकम भुक्तानी हुन बाँकी रहेको भेटिएको थियो । छानबिनपछि भुक्तानी दिन सरकारलाई निर्देशन दिँदा समेत भुक्तानी नभएपछि सांसदहरुले प्रदेशसभाको बैठक समेत बस्न दिएका छैनन् ।

सांसदले मात्र नभई योजना सम्पन्न गरेका उपभोक्ता समितिले पनि प्रदर्शन गर्दै आएको छ ।

उपभोक्ताहरुले मुख्यमन्त्री तथा मन्त्रीहरुको तस्वीर भएको व्यानरमा जुत्ता प्रहार गर्ने कामसमेत गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि प्रदेशसभाको दोस्रो वार्षिक उत्सवमा मन्त्रीहरुले जथाभावी रुपमा मौखिक रुपमै कामको अख्तियारी दिएकाले भुक्तानीको समस्या देखिएकोे बताएका थिए ।

कर्मचारीहरुले भने लिखित अख्तियारी बिना योजना बाँडिएकाले आर्थिक नियमावली अनुसार गत बर्ष काम भएका कतिपय आयोजनाको भुक्तानी दिन नसक्ने बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस भुक्तानी विवादमा रुमल्लियो प्रदेश २, सत्तारुढ सांसदसमेत आन्दोलित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment