Comments Add Comment

भादगाउँले टोपीको ब्राण्डिङ : कसले पुर्‍यायो सिंहदरबारसम्म ?

यो मेरो टोपी …..

मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो

कहिले पनि झुक्न नजान्ने, कहिलै पनि झुक्न नमान्ने

मेरो टोपी…..

नेपाली वीर जस्तो, नेपाली भीर जस्तो

गोपाल योन्जनको यो गीत जतिबेला बजारमा चर्चित बनेर आयो भक्तपुरको चोफलका ४२ वर्षीय मधु श्रेष्ठले आफ्नै लागि गाइदिएको गीत जस्तो धेरै गुन्गुनाए । उनको काम गर्दाको धेरै दिनको सारथि पनि बन्यो त्यो गीत । साँच्चिकै योञ्जनको गीत सुन्दै गर्दा नै उनले टोपीलाई कहिलै नझुक्ने बनाउनको लागि मैदाको मार राख्न सिक्दै थिए ।

श्रेष्ठले अहिले पनि दैनिक कम्तिमा एउटा भएपनि ढाकाको टोपी बनाउँदै आएका छन् । यो पेशाले मात्रै उनलाई परिवार पाल्न त पुगेको छैन । तर, पुख्र्याैली पेशालाई संरक्षण गर्नको लागि हातैले टोपी बुन्ने यो पेशालाई उनले त्याग्न भने सकेका छैनन् ।

उनको परिवारका ६ जना सदस्यले अहिले नियमित यो काम गर्दै आएका छन् । उनले सम्झिए अनुसार उनका हजुरबुबादेखि नै सबैले टोपी बुन्ने काम गर्दै आएका छन् । उनी भन्छन् ‘मैले १६ वर्षको हुँदादेखि टोपी बुन्न थालेको हुँ । मलाई टोपी बेचेर मात्रै खान पुग्दैन । त्यसैले म वागेश्वरी क्याम्पसमा काम पनि गर्छु । तर, पुख्र्यौली पेशा छाड्न पनि सकेको छैन ।’

उनका अनुसार अहिले टोपी बनाउन चाहिने सबै कपडाहरु भारतबाट नै ल्याउने गरिन्छ । कालो पोलिस्टर जस्तो किसिमको कपडा ल्याइन्छ । यसमा बीचमा सेतो या कालो कपडा राख्ने गरिन्छ । यसलाई दह्रो बनाउनको लागि मैदाको मार बनाएर राख्ने गरिन्छ । त्यसको बाहिरपट्टी पातलो चोपेटा कपडाले सिउने गरिन्छ ।

कालो टोपी भक्तपुरबाहेक पनि अन्यत्र समेत पाउने भएपनि हातैले बुनेको र दह्रो किसिमको टोपीको लागि भक्तपुर नै विशेष रहेको उनी बताउँछन् । उनका अनुसार अहिले परिश्रमलाई हिसाब नगर्दा एउटा टोपी बनाउनको लागि करिब ९० रुपैयाँ खर्च हुने गरेको छ भने उनीहरुले १५० रुपैयाँमा होलसेलमा टोपी बेच्ने गरेका छन् ।

भेदभावबिहीन शिरपोस

बौद्ध धर्ममा भगवानलाई लगाउने ‘ल्हायी उस्या’ होस् या तामाङ समुदायमा मृत्युपछि शवलाई लगाइदिने ‘ग्यावा हि्रङ्अ’ किन नहोस् । श्रीपेच लगाउने राजाको शिरदेखि एउटा गरिबको पसिना पुछ्ने सारथि समेत हो शिरपोस वा टोपी ।

विश्वमा यही शिरपोसलाई अनेकानेक शब्दहरुले चिनाउने गरिन्छ । भाषा र भेष अनुसार यसको शैली र स्वरुपमा समेत भिन्नता पाइन्छ । तर, यो जहाँ भएपनि शिरपोस मानिसको व्यक्तित्व झल्काउने पोषाक हो । नेपाली बृहद् शब्दकोशले प्राकृत भाषाको टोपिआ भन्ने शब्दबाट आएको टोपी शब्दले शीर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नको निम्ति चाउलो र घेरा हाली सिइएको वस्त्र वा शिरपोषलाई जनाउने उल्लेख छ । टोपी भन्ने शब्द संस्कृत शब्द ‘टोप’बाट आएको पाइन्छ । टोपको अर्थ संस्कृतमा ‘स्तूप’ भन्ने हुन्छ । त्यसैले धेरै शिरपोसहरु स्तूप शैलीमा रहेको पाइन्छ । कतिपयले यसलाई हिमालयको प्रतिकको रुपमा रहेको व्याख्या समेत गर्ने गरेका छन् ।

यो टोपीको आ-आफ्नै महत्व रहेको पाइन्छ । कतै यही टोपीलाई पवित्र काममा मात्रै प्रयोग गर्ने गरिन्छ भने कतिपयको अन्तिम संस्कार आदिमा समेत यसको अनिवार्य प्रयोग गर्ने गरेको पाइन्छ । विभिन्न जातिहरुको मृत्यु संस्कार (घेवा) मा मृतकको प्रतिक -गूर) को रूपमा पनि टोपी लगाउने गरिन्छ । यही टोपी कसैको अन्तिम संस्कारमा अनिवार्य मानिन्छ भने कसैको अन्तिम संस्कारमा प्रतिबन्धित हुन्छ । घेवामा गूर लगाइन्छ भने ब्राहृमण क्षेत्रीहरुको समुदायमा आफ्ना आफन्तको देहावसानको समाचार सुन्ने बित्तिकै टोपी खोल्ने गरिन्छ । फेरि त्यही शव बोकेर जाने मलामीहरु टोपीमा सजिएर जाने गर्छन् ।

विश्वका विभिन्न देशहरुमा प्रचलनमा रहेका शिरपोसहरुलाई हेर्दा १०० भन्दा धेरै शिरपोसहरुको चर्चा पाइन्छ । तर, ती अधिकांश आफैंमा भिन्न भिन्न छन् । अझ नेपालको जस्तो टोपीको शैलीलाई अरु कतैको पनि पाईंदैन ।

इरान, अफि्रका, बेलायत, कोरिया जस्ता अधिकांश देशहरुमा आ-आफ्नै किसिमका शिरपोसहरु रहेका छन् । तीमध्ये अधिकांश स्तूप शैलीका पाइन्छन् । तर, नेपालको मौलिक ढाकाको टोपी भने हिमालको जस्तो आकृतिको पाइन्छ । यो नै विश्वका अरु शिरपोसभन्दा फरक शैली हो ।

भादगाउँले ढाकाको टोपीको ‘ब्राण्डिङ’

इतिहासकारहरुका अनुसार मल्लकालदेखि नै सुरु भएको भएपनि भादगाउँले कालो टोपी धेरै लामो समयसम्म काठमाडौं उपत्यकामा मात्रै सीमित हुन थाल्यो । त्यसो त इतिहासकारहरु पाल्पाली ढाकाको टोली पनि काठमाडौं उपत्यकाबाट पाल्पा गएका नेवार समुदायका मानिसहरुले नै सुरु गरेको शैली बताउँछन् ।

नेपालमा ब्राण्ड बिस्तार गर्न सफल भएका दुई टोपीहरुको इतिहासलाई हेर्दा यसको स्पष्ट इतिहास भेट्न सकिँदैन । भादगाउँले टोपीको राष्टि्रयकरणको विषयमा इतिहासकार डा. पुरुषोत्तम लोचन श्रेष्ठ पहिले त्रिभुवन र पछि महेन्द्रले लगाएपछि यसको ब्राण्ड चर्चित हुन थालेको बताउँछन् । हिमालहरुबाट प्रभावित भएको यो शैली प्रजातन्त्र स्थापित भएपछि बढी चर्चामा आएको उनले जानकारी दिए । यो टोपी हिमालहरुबाट नै प्रेरित भएको उनको बुझाई छ ।

उनी भन्छन् ‘विवाह ब्रतबन्धको समयमा टोपी बिनाको पोषाक अपूर्ण हुन्छ भन्ने मान्यता पहिलेदेखि नै थियो । टोपी अपसगुनको काममा प्रयोग गरिँदैन । पछि देशको उच्च पदस्थ व्यक्तिहरु समेत यसप्रति आकषिर्त भएपछि यसले चर्चा पाउन थालेको उनी बताउँछन् ।

इतिहासकार ओम दाउवादेलका अनुसार मल्लकालमा जातिव्यवस्थाका पक्षपाती जयस्थिति मल्लले श्रेष्ठ परिवार अन्तर्गत्को चुल्याद्य, शाखकर्मी र देवप्रधानलाई टोपी बनाउने पेशाको लागि चयन गरेका थिए । यसले मल्लकालदेखि नै काठमाडौं उपत्यकामा टोपीको महत्व धेरै रहेको स्पष्ट हुन्छ । ‘प्रजातन्त्र प्राप्तिको समय ताका राजा त्रिभुवनले टोपी सहितको मुद्रा सार्वजनिक गरे । योसँगै आधिकारिक रुपमा यसको राष्ट्रियकरण भयो ।’

उनी भन्छन् ‘पछि राजा महेन्द्रले पनि टोपीलाई राष्टि्रयकरण गराउन महत्वपूर्ण भूमिका खेले । सोही समयताका नेपाल प्रहरी, नेपाली सेना र सरकारी कर्मचारीहरुको लागि टोपी अनिवार्य समेत गरिएको थियो । यसले पनि राष्टि्रय स्तरमा नै ढाका र भादगाउँले टोपी तयारी गर्नेहरुको पेशागत संरक्षण भएको थियो । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समेत मधेशी पोषाकमा ढाकाको टोपी लगाएपछि जस्तोसुकै पोषकमा सिन यो सुहाउँछ भन्ने स्पष्ट भएको जानकारहरु बताउँछन् ।

टोपी लगाउने र खोल्ने परम्परा

टोपी लगाउने र खोल्ने परम्परा ठाउँ अनुसार फरक फरक हुन्छ । विशेषगरी सन्तुलित मौसम पाइने पहाडी भेगमा मानिसहरुले यस्तो शिरपोस लगाउने चलन धेरै पाइन्छ । पहाडी भेगमा समेत ठाउँ अनुसार यसको फरक किसिमले प्रयोग गरिन्छ । कतै यसलाई पवित्र पोषाकको रुपमा लिएर खाना खाने, शौच गर्ने बेलामा र आफन्तहरुको देहावसानको समयमा यसलाई निकाल्ने गरिन्छ ।

टोपीहरुको सामाजिक महत्व पनि धेरै रहेको पाइन्छ । सामान्यतया ब्रतबन्ध गरेपछि सबैभन्दा पहिले मामाले टोपी लगाउने प्रचलन छ । शरीरको सबैभन्दा महत्वपूर्ण अंग शिरको रक्षाको लागि पनि त्यसको प्रयोग गर्ने गरेको इतिहासकार दाउवादेले बताउँछन् । उनी भन्छन् ‘टोपी लगाइसकेपछि ऊ एउटा बालिग भएको ठहरिन्छ । त्यसैले यो एउटा परिपक्वताको संकेत पनि हो ।

यसले तागाधारी र शुद्रको रुपमा भेदभाव गर्दैन । यो सबैको लागि समान किसिमको हुन्छ र सबैको शिरमा उत्तिकै सुहाएर बस्छ । पहिले पहिले काठमाडौं उपत्यकामा विवाहको समयमा टोपी अनिवार्य थियो । यसका साथै गुठीको काम लगायत अरु पवित्र काममा समेत टोपी अनिवार्य थियो ।

दाउवादेलेका अनुसार पहिलेदेखि नै उपत्यकामा ढाकाको टोपी र कालोटोपी दुबै प्रचलनमा थियो । ढाकाको टोपी सामान्यतया दैनिक जीवनयापनको काममा प्रयोग गर्ने गरिन्छ भने कालो टोपी विभिन्न औपचारिक कार्यक्रमहरुमा लगाउने गरिन्छ ।

टोपी बनाउनेलाई नगरपालिकाको ढाडस

पछिल्लो समय भादगाउँले टोपी बनाउनेहरुको पेशा संकटमा पर्न थालेपछि नगरपालिकाले यसलाई ढाडस दिएको छ । झण्डै ६ महिना अघि भक्तपुर नगरपालिकाले भक्तपुरमा भादगाउँले टोपी बनाउने चोफल भोलाच्छें महालक्ष्मीस्थान, कमल विनायक, जेला, पिनाछों आदिका केही स्थानीयहरुलाई बोलाएर उनीहरुलाई पुरस्कृत समेत गरेको नगरपालिकाका ९ नं वडाध्यक्ष रविन्द्र ज्याख्वले जानकारी दिए ।

अब नगरपालिकामा आउने पर्यटकहरुलाई पनि कालोटोपी उपहार दिने, जनप्रतिनिधिको लागि अनिवार्य कालोटोपी लगाउनुपर्ने नियम बनाउने र बिस्तारै नगरपालिकाद्वारा सञ्चालित विद्यालयहरुमा समेत यसलाई अनिवार्य गराउने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment