Comments Add Comment

ओस्कार हाम्रो लागि होइन रहेछ : विनोद पौडेल

जब ‘बुलबुल’लाई ओस्कार अवार्डका लागि चलचित्र विकास बोर्ड नेपालले मनोनयन गर्‍यो, त्यस बखत निर्देशक विनोद पौडेल अमेरिकामा नै थिए ।

उनी भुटानी शरणार्थीको विषयमा चलचित्र बनाउने ध्येयसहित अध्ययन-अवलोकनका लागि त्यहाँ पुगेका थिए । सोही चलचित्रका सम्भावित लगानीकर्ताले विनोदलाई लस एन्जलस बोलाउँदै भने ‘बुलबुल पनि छनोटमा परेको छ भेटघाट नि हुन्छ । आउनुस् यता ।’

विनोद उत्साहसाथ लस एन्जलस हान्निए । उनी त्यहाँ आफ्नो चलचित्र ‘बुलबुल’लाई थप प्रचार–प्रसार गर्न चाहन्थे । यसका लागि उनले केही एजेन्सीको साथ लिनुपर्ने हुन्थ्यो । उनले एजेन्सीसँग कुरा बढाए । तर, उक्त भेट उनको लागि निकै गह्रौं साबित भइदियो । कारण थियो, क्याम्पिङ गर्न लाग्ने खर्च ।

विनोद सम्झिन्छन्, ‘त्यहाँ गएपछि एजेन्सीले क्याम्पेन गर्नुपर्छ भने । भोटर्सहरुलाई चलचित्र देखाउने, पार्टी दिने, ब्रोसर बढ्ने गर्नु पर्ने रहेछ । रिलेसन बनाउनको लागि पनि त्यो सबैले गर्ने रहेछन् । तर, त्यसका लागि आवश्यक बजेट २५ लाख डलर । त्यो सुनेर म त आत्तिएको थिएँ । सात्तो नै गयो ।’

विनोदले ‘बुलबुल’ निर्माणका लागि चानचुन ९० लाख रुपैयाँ खर्च गरेका थिए । नेपाली रुपैयाँ ९० लाखमा बनेको चलचित्रलाई प्रचार गर्नकै लागि २५ लाख डलर ?

चलचित्रको लागतभन्दा झण्डै ३२ गुणा बढी क्यापेनिङको लागि खर्च गर्नुपर्ने देखेपछि नआत्तिउन पनि कसरी ? उनले सोचे, ‘होस, यो मबाट हुनेवाला छैन ।’ विनोदको नयाँ चलचित्रका निर्माताले सम्झाए । भने, ‘तिमीलाई पत्तो रहेनछ । यहाँ त हुन्छ नै यस्तै । क्याम्पेनिङ नगरी त कोही छनोट हुँदैनन् ।’

विनोद अमेरिकाबाट नयाँ चलचित्रको निर्माता खोज्न सिधै कोरिया उँडे । कोरियामा पुगेर उनले ‘लिपस्टिक अन्डर माई बुर्का’ चलचित्रका निर्देशक अलनक्रिता श्रीवास्तव र कलाकार कोंकणा सेनशर्मालाई भेटे । बुलबुल चलचित्रको कन्सेप्ट सुनाए । दुबैले विनोदको तारिफ गरेका थिए ।

त्यही समय निर्देशक अलनक्रिताले बुलबुल चलचित्र ओस्कारको छनोटको लागि पठाइएको पत्तो पाइन् । अनि विनोदलाई सोधिहालिन्, ‘सबै जना ओस्कारको लागि गइसके । तिमी चाहिँ किन नगएको ?’ विनोदले आफू पुगेर आइसकेको सुनाए ।

चलचित्रको क्याम्पेनिङ गर्न ठूलो बजेट चाहिने भएको र त्यो आफूसँग नभएकाले जाने मन नै नभएको विनोदले गुनासो पोखे । अलनक्रिताले सरकारसँग सहयोग माग्न सुझाइन् । अलनक्रिताको कुरा सुनेपछि कनकना बोलिहाले, ‘के कुरा गर्नुहुन्छ । चलचित्रको प्रचारको लागि सरकारले पैसा दिने, त्यो पनि नेपालमा । गाह्रो छ ।’

कनकनाको कुरा सुनेर विनोदको चित्त बुझ्यो । मनमनै सोचेँ, ‘वास्तविकता यही नै हो ।’ चलचित्रमा राखिएको संवादहरुमाथि त प्रश्न गर्ने सरकारले ओस्कारको प्रचारमा पैसा दिने कुरा त सोचेको पनि छैन् भन्ने विनोदले बुझेका छन् ।

सबैले गरिरहेको देखेपछि विनोदलाई अझै आश जाग्यो । कतै कम रकममा पो भइहाल्छ कि भन्ने आश लिएर फेरि एजेन्सीहरुलाई सोधे, ‘सबैभन्दा कम बजेट कतिसम्म हुन्छ ?’

उनीहरुले प्याकेजको लिस्ट पठाए । जहाँ सबैभन्दा कम बजेट नै १० लाख डलर थियो । त्यो देखेपछि विनोदले महसुस गरे, ‘ओस्कार मेरो लागि होइन रहेछ । हामी जस्ताले ओस्कारको सपना पनि नदेखे हुन्छ ।’

विनोद भन्छन्, ‘चलचित्र कहाँ नै पुग्यो भन्ने लागेको थियो । के–के न भयो भन्ने सोचेको थिए । तर, चलचित्रले त अर्कै दिशा पछ्याइरहेको रहेछ ।’ विनोद साह्रो दुःखी भएर नेपाल फर्किएका थिए ।

उनलाई फर्किँदै गर्दा नयाँ निर्माताले भनेका थिए, ‘यहाँ त ५० लाख डलरसम्म खर्च गर्छन् ।’ त्यो पछि उनलाई लाग्यो, ‘नेपाल जिन्दगीभर ओस्कारको नेमिनेशनमा पर्ने छैन् ।’

ओस्कार जित्नेप्यारासाइट’ !

जब विनोद अमेरिकामा थिए, त्यही समय नै चलचित्र प्यारासाइटको निकै चर्चा–परिचर्चा भइरहेको थियो । धेरैले चलचित्रलाई तारिफ गरिरहेका थिए । विनोदले पनि उक्त चलचित्र हेरे । उनलाई पनि चलचित्र राम्रो लागेको थियो ।

तर, चलचित्र हेर्दा विनोदले केही नयाँ कुरा केही भेटेका थिएनन् । विनोद भन्छन्, ‘चलचित्रलाई कमर्सियल्ली बनाइएको छ । यस चलचित्रले पूरा न्यारेटिभ नै परिवर्तन गरेको पनि छैन् । तर, हेरुन्जेल चलचित्रले मनोरञ्जन नै दिन्छ ।’

अहिले विदेशी चलचित्रहरुमा धेरै जना निर्माताहरु व्यापारिक विचारधाराबाट सञ्चालित भइरहेको विनोदले महसुस गरेका छन् । उनले भने, ‘म जति पनि ठाउँमा गए । प्रायः निर्माताहरुले चलचित्रलाई व्यापारिक पक्षबाट मात्र हेर्नु भएको पाए । चलचित्रलाई जुन किसिमले हेर्नु पर्ने हो त्यो चाहिँ छैन् कि भन्ने लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment