Comments Add Comment

त्रिकोणात्मक सिरिज : नेपाल कहाँ चुक्यो ? कहाँ राम्रो भयो ?

२७ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को डेब्यू सिरिज घरेलु मैदानमै खेलेको नेपालले तीन खेल खेल्दा एकमा जीत र दुईमा हार व्यहारेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको नेपालले अमेरिकालाई ३५ रनले हराउँदै लिग २ मा पहिलो जित हात पा‍र्‍यो । तर तेस्रो खेलमा पुनः ओमानसँग नेपाल ८ विकेटले पराजित भयो ।

ओमानलाई १९७ रनमा रकेर पनि जित्न नसकेको नेपालले अमेरिकाविरुद्ध १९० रन डिफेण्ड ग‍र्‍यो । तर ओमानविरुद्ध २४९ रन बनाउँदा पनि नेपाल पराजित भयो ।

अब सिरिजको अन्तिम खेलको रुपमा बुधबार नेपालले अमेरिकासँग खेल्नेछ ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय (ओडीआई) विश्वकपको रोडम्यापको रुपमा रहेको लिगमा नेपालले योबाहेक ८ सिरिज खेल्ने छ । झण्डै साढे दुई वर्ष चल्ने लिग २ साइकलमा नेपालले कुल ३६ एकदिवसीय खेल खेल्न पाउनेछ । ७ राष्ट्र सहभागी लिग २ बाट शीर्ष तीन टोली विश्वकप छनोटको फाइनलमा पुग्नेछ ।

सञ्जम रेग्मी । तस्‍वीर : आईसीसी

नेपालको तीन खेल कस्तो रह्यो ? र, आगामी खेल कस्तो हुनसक्छ, नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी सञ्जम रेग्मीसँग गरिएको कुराकानीमा आधारित विश्लेषणः

पहिलो खेल : नेपाल भर्सेस ओमान

पहिलो खेलमा जब ओमानको ५ विकेट गयो, त्यसपछि हामीले पार्ट टाइमर बलरलाई बल दियौं । त्यहाँ बिग्रियो । त्यो बेला स्पिन फ्रेण्ड्ली कन्डिसन थियो । पार्ट टाइमरभन्दा रेगुलर बलरहरुलाई बल दिएको भए र थप २ विकेट लिन सकेको भए ओमानलाई कम्तीमा १५० सम्म रोक्न सकिन्थ्यो होला । तर पार्टटाइम बलर प्रयोग गर्‍यौं र ओमानले १९७ रन बनाउन सफल भयो ।

हाम्रो स्ट्यान्डर्डअनसार १५० र १९० माथि हुनुमा माइन्डसेट पनि फरक हुन्छ । तैपनि १९८ रनको लक्ष्य चेज हुन्छ जस्तो लागेको थियो । किनकी विकेट सजिलो थियो । तर हाम्रो ब्याट्सम्यानहरुले धेरै डट बल खेल्छन् । १०-१२ वर्षदेखि खेलिरहेका तथा यू–१९ बाट आएका खेलाडीको पनि डट बल धेरै छ । यो घटाउनुपर्छ । हाम्रा अनुभवी खेलाडीहरुमा पनि स्ट्राइक रोटेट गर्ने क्षमतामा पनि कमी देखिएको छ ।

सबैभन्दा मुख्य समस्या भनेको हाम्रो १० देखि २० ओभरमा रन नै बन्दैन, विकेट पनि त्यही बेला जान्छ । १० देखि २० ओभरमा ३-४ विकेट गइहाल्छ । शुरुको १० ओभरमा विकेट गएन भने पनि त्यसपछि १० ओभरमा विकेट जान्छ । शुरुको १० ओभरमा विकेट गयो भने पनि त्यसपछि १० देखि २० मा थप विकेट जान्छ, तर रन बन्दैन । यो हाम्रो अहिलेको होइन, पुरानै समस्या हो ।

सुरुको १० ओभरमा ४०-५० सम्म रन बनाउँछौं । तर त्यसपछिको १० ओभरमा २०/२५ रन मात्र बन्छ । ५० ओभरमा हाम्रो घाटा भनेको त्यही हो । त्यसपछि हामी २० देखि ३० ओभरमा रन जोड्न प्रयास गर्छौं,  तर ब्याट्सम्यानहरु आउट हुन्छ । २/३ विकेट गुमाउछौं । म फेरि पनि भन्छु, हाम्रो मुख्य समस्या १० देखि २० ओभरमा हो । त्यसको प्रेसरले गर्दा २० देखि ३० ओभरसम्ममा पनि विकेट जान्छ । किनभने ब्याट्सम्यानहरुले डट बल खेल्छन् ।

पहिलो खेलमा पनि १० देखि २० ओभरमा नै विकेट गयो ।

दोस्रो खेल : नेपाल भर्सेस अमेरिका

अमेरिकासँग दोस्रो खेलमा १९० रन बनाए पनि नेपालले दोस्रो इनिङ्समा शुरुदेखि नै राम्रो खेल्यो । बलिङमा अमेरिकासँग खेल्दा शुरुदेखि नै मोमेन्टम बनाएको थियो ।

ब्याटिङमा डेब्यूटान कुशल मल्लले राम्रो ब्याटिङ गर्दा नेपालले स्कोर उकास्यो । १९० रन बनाए पनि शुरुमै २-३ विकेट लियो भने सजिलो हुन्छ । नेपालले पनि शुरुमै अमेरिकाको ४ विकेट लिएर शुरुवात गरेको थियो । अन्तिमतिर अमेरिकालाई रनरेट चाहिएको बेला करणले विकेट लिएर नेपाललाई जिताए । अमेरिकाविरुद्ध सन्दीपले पनि राम्रो खेले ।

तेस्रो खेल : नेपाल भर्सेस ओमान

कहिलेकाहीँ टस पनि जीत हारको मुख्य कारक भइदिन्छ । जस्तै बंगलादेशले भारतविरुद्ध यू–१९ विश्वकप जित्यो, उसका लागि टस महत्वपूर्ण नै थियो । हाम्रो लागि पनि ओमानविरुद्ध टस महत्वपूर्ण थियो तर हामीले टस हा‍र्‍यौं । टस जितेर ओमानलाई २२० तिर अलआउट गर्न सकेको भए नेपालले चेज गर्न सकिन्थ्यो कि !

दोस्रो, बसन्त रेग्मी टिममा अनुपस्थित भएपछि उनको स्थानमा आएका ललित राजवंशी हुन् । जुन बलरले बसन्तलाई रिप्लेस ग‍र्‍यो, त्यही बलरले खेल्न नपाउने ? ललित नम्बर वान लेफ्ट आर्म स्पिनर, अनि सुशन भारीलाई खेलाइयो । कम्तीमा हिजो ओमानविरुद्ध एक जना बलर ललित राजवंशी हुनुपर्थ्यो । त्यसैले फ्ल्याट विकेटमा बलिङ नै पुगेन, एउटा बलर कम भयो ।

जब सुशनलाई नै खेलाइयो भने उनलाई करणसँग ओपनिङ गराउनुपर्थ्यो एक एण्डबाट । त्यहाँ गल्ती भयो । किनकी नयाँ बलमा लेफ्ट आर्म स्पिनरको बल हिट गरेर प्याडमा लाग्थ्यो । पछि त्यही विकेट स्पिन फ्रेण्डली हुँदा सुशनको बल टर्न भएन र उसलाई सिधासिधा खेल्यो । उनीहरु स्पिन राम्रो खेल्छन् ।

सन्दीपको पनि बलिङ राम्रो हुन सकेन । ५० ओभरमा कसरी खेल्ने भन्ने माइन्डसेटमा नभएको जस्तो भयो । प्लेअर अट्याकिङ, डिफेन्सिभ र नर्मल हुन्छ । अट्याकिङले रनरेट पनि बढाउँछ र विकेट पनि दिन्छ । डिफेन्सिभले कम विकेट आउँछ । यो खेदमा सन्दीपको बलमा ओमानले नर्मल हिसाबमा खेलेको देखियो ।

ओमानका ब्याट्सम्यानहरुले सन्दीपको भिडियो धेरै हेरेको जस्तो लाग्छ । सन्दीपको बलिङ धेरै जस्तो गुग्ली फाल्ने थियो । बल क्वीक भइरहेको थियो । जुन बल उसले स्लाइड फाल्न खोजिराथ्यो, त्यो बलमाथि उड्ने ब्याट्सम्यानको प्याडमा आइराथ्यो । त्यसले गर्दा पनि उसको नराम्रो भयो ।

अमेरिकाविरुद्ध खेल्दा उसको हाउभाउ बल ठाउँमै फाल्ने थियो । तर हिजो ओमानसँग दोस्रो खेलमा आधा दिमाग ठाउँमा फाल्ने आधा, दिमाग विकेट निकाल्नेमा थियो ।

ओमानले पार्टनरसीप पनि राम्रो ग‍र्‍यो । विकेट गए पनि पार्टनरसीप राम्रो भयो । अकिबहरुको ब्याटिङ र नेपालको ब्याटिङमा फरक छ । उनीहरुले खेल्ने र हाम्रो खेल्ने तरिका फरक छ । हाम्रो ब्याट्सम्यानलाई बल डिफेन्स गर्ने कि हान्ने भन्ने छुट्याउन सकेनन् । त्यो स्तरमा ब्याटिङ जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यो हाम्रो क्रिकेटमा छैन जस्तो लाग्यो । जस्तो कि हिजो ओमानी कप्तान जिसान लेफ्टी थिए, उनले राम्रो खेलिराखे । हाम्रो बलरले गल्ती गरिराखे । हाम्रो बलरले टी–२० शैलीमा लेफ्टीलाई खेल्न खोजिराखेका थिए ।

हिजो धेरै गल्ती भयो बलिङ गराउने बेलामा । कहिलेकाहीँ त जुनियर खेलाडीलाई कहाँ बलिङ गर्ने भनेर सिनियरबाट लिडिङ भएको छैन जस्तो लाग्थ्यो ।

त्रिवि क्रिकेट मैदानमा फास्ट बलरको कामै छैन । फास्ट बलरलाई डेब्यू गराउनुभन्दा स्पिनरलाई खेलाउनुपर्थ्यो जब पिचले बलरलाई फेभर गर्छ तब मात्र नेपालमा फास्ट बलरलाई राम्रो हुने हो । हिजो करणलाई फेभर भएन नि । तै पनि स्पिनरलाई बेञ्चमा राखेर किन फास्ट बलर खेलाएको मैले बुझिनँ ।

नेपालको इनिङमा कप्तान ज्ञानेन्द्र मल्लले छक्का हान्दा लागेको थियो २८० को पिच हो । विकेट पनि फ्ल्याट थियो । तर उसले हान्ने कि नहान्ने भनेर डबल माइन्ड लगायो । पछि हान्यो र आउट भयो । हामीले २५० कटाउन सकेनौं । विकेटका २०-३० रन कम हुनु भनेको धेरै फरक हो ।

कुशल राम्रो ब्याट्सम्यान

नेपालमा मेहबुब आलमपछि अर्को राम्रो लेफ्टी ब्याट्सम्यानका रुपमा कुशल मल्ललाई देखेँ । मेहबुब रन बनाउने खालका ब्याट्सम्यान थिए । कुशलको ब्याटिङ पनि राम्रो छ ।

साँच्चै भन्नुपर्दा मैले नेपालमा पनि यस्तो ब्याट्सम्यान देखेँ, जसले स्पिन पनि राम्रो खेल्छ, फास्ट बलिङ पनि राम्रो खेल्छ । उसको हात र आँखाको संयोजन राम्रो छ । नेपालमा यस्तो खेलाडी कमै छन् ।

जस्तो पारसले फास्ट बलिङभन्दा स्पिन राम्रो खेल्छ । तर कुशलको दुवै राम्रो रहेछ । ब्याटिङमा कुशलको जुन खालको फ्लो छ, त्यस्तो नेपालमा अहिले अरु कसैसँग छैन । सबै जनाले संघर्ष गरिराख्छन् । रोहित शर्माको फ्लो विराट कोहलीको भन्दा राम्रो छ, यसैले धेरै रन हान्छ । त्यसैले कुशलको पनि राम्रो छ । उसको अलिकति कमजोरी अफ स्पिनर हो । यसमा बचेर खेल्नुपर्ने हो । हिजो त्यही गल्ती ग‍र्‍यो । जबरजस्ती अफ स्पिनरलाई टार्गेट बनाइराख्यो ।

यो कुरा सिनियरहरुले बुझाइदिएको भए उसले ओमानविरुद्ध पनि ५० रन हान्न सक्थ्यो होला ।

अन्तिम खेल के होला ?

सिरिजको अन्तिम खेलमा अमेरिकाले गाह्रो बनाउँछ हामीलाई । एम्बुस टाइपले खेल्छ जस्तो लाग्छ । नेपालसँग खेल्नुअघि उसले मंगलबार ओमानसँग खेल्नेछ । तर ओमानको स्टान्डर्ड कस्तो छ भन्ने अमेरिकालाई थाहा छ र उसले हराएको गाह्रो छ । त्यसैले नेपालले अझै एउटा स्पिनर ल्याउनुपर्छ । फास्ट बलरको सट्टा एउटा स्पिनर थप्नुपर्छ । मिडियम पेसको अप्सन धेरै छ ।

ब्याटिङमा हामीले जोसँग अपेक्षा गर्छौँ, त्यसले रन बनाउन सकेको छैन । कम अपेक्षा भएकोले रन बनाइराखेको छ । रन नबनाउनेलाई कसले प्रेसर दिने ? नेपाली क्रिकेटमा अल हायर एण्ड फायर हुनुपर्छ जस्तो मलाई लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment