२९ माघ, काठमाडौं । आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवार टीयू मैदान कीर्तिपुरमा अमेरिकाविरुद्ध सन्दीपले गज्जबको बलिङ गरे ।
लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमा यसअघिका तीन खेलमा सन्दीपले जम्मा २ विकेट मात्र लिएका थिए । ओमानविरुद्ध दुवै खेलमा विकेटविहीन बनेका सन्दीपले बुधवार एकै खेलमा ६ विकेट लिए ।
यसअघि सन्दीपको २ विकेट पनि अमेरिकाविरुद्ध नै थियो । बुधवार पनि सन्दीपले अमेरिकी इनिङ्स धरासायी पार्न एक्लैले ६ विकेट लिए ।
खेलको दोस्रो ओभरमै बलिङ गर्न आएका सन्दीपले अन्तिम बलमा इयान होल्याण्डलाई आउट गर्दै विकेट खाता खोलेका थिए । त्यसपछि १२औं ओभरको अन्तिम बलमा नासथुस केन्जिगेलाई आउट गर्दासम्म उनको नाममा ६ विकेट दर्ता भइसकेको थियो ।
सन्दीपले होल्याण्ड र अक्ष होमलाई समान ४ रनको व्यक्तिगत स्कोरमा पारस खड्काबाट क्याच आउट गराए । मोनांक पटेल, निसर्ग पटेल र केन्जिगेलाई बोल्ड गरेका सन्दीपले तिमिल पटेललाई एलबीडब्लु धरापमा पारे ।
सन्दीपले ६ ओभर बलिङ गर्दा १ मेडन राख्दै १६ रन मात्र खर्चेर ६ विकेट लिए । सन्दीपले ६ विकेट लिएपछि टीयू मैदानलाई ढोगेका थिए ।
सन्दीपलाई गतिलो साथ दिएका सुशन भारीले पनि ४ विकेट लिए । सुशनले ३ ओभरमा १ मेडन राख्दै जम्मा ५ रन खर्चेर ४ विकेट लिए । करण केसीले मेडन ओभर गर्दै शुरुवात गरेको नेपालका लागि सबै १० विकेट स्पीनरले लिएका हुन् ।
यस सिरिजमा अमेरिकाविरुद्ध पहिलो खेल खेलिरहेका अर्का स्पीनर ललित नारायण राजवंशीले भने बलिङको अवसर नै पाएनन् ।
सन्दीप लामिछानेसँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।
प्रतिक्रिया 4