Comments Add Comment

ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै एपीएफ लिगको १२औं स्थानमा 

आशिष लामाको नवौं गोल

काठमाडौं । आशिष लामाले यस सिजनको नवौं गोल गर्दा विभागीय टोली एपीएफले ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै १२औं स्थानमा लिग सकाएको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ अन्तर्गत बिहीबार भएको खेलमा एपीएफले अन्तिम सममया गोल खाँदा ब्रिगेडसँग १-१ को बराबरी खेलेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलको ४४औं मिनेटमा आशिषले नविन लामाको पासमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । निर्धारित ९० मिनेटसम्म एपीएफले अग्रता कायम राखेको थियो । तर इन्जुरी टाइमको तेस्रो मिनेटमा ब्रिगेडका विजय गुरुङले एकल प्रयासमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि एपीएफले ब्रिगेड भन्दा अगाडि रहेर १२औं स्थानमा लिग सकायो । १४ क्लब सहभागी लिगमा एपीएफले १३ खेलबाट ९ अंक जोड्यो। एपीएफले २ खेल जित्दा ३ खेल बराबरी गरेको थियो । ८ खेलमा भने एपीएफ पराजित भयो ।

उस्तै नतिजा प्राप्त गरेको ब्रिगेड १३औं भयो । समान अंक भएपनि एपीएफल ब्रिगेडलाई गोल अन्तरमा पछि पारेको हो । एपीएफले १५ गोल गर्दा २१ गोल खाएको थियो भने ब्रिगेडले जम्मा ५ गोल गर्दा १५ गोल खायो ।

यस सिजन रेलिगेसनमा परिसकेको सरस्वती युथ क्लब ४ अंकसहित अन्तिम स्थानमा छ । सरस्वतीले अन्तिम खेल जितेपनि एपीएफ र ब्रिगेडलाई भेट्टाउने छैन । त्यसैले यस लिगमा एपीएफ १२ र ब्रिगेड १३औं हुने पक्का भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment