Comments Add Comment

ए डिभिजन लिगमा उपाधि होड : आर्मी र मच्छिन्द्र अन्तिम खेलका लागि तयार

सहिद स्मारक ए डिभिजन लिगको ट्रफिका साथ नेपाल आर्मी क्लबका कप्तान भरत खवास र मच्छिन्द्र क्लबका कप्तान विराज महर्जन । तस्वीर : आर्यन धिमाल

२ फागुन, काठमाडौं । विराज महर्जन र भरत खवास एन्फा एकेडेमीका एउटै ब्याचका खेलाडी हुन् । राष्ट्रिय टिममा पनि एक दशक सँगै खेले । यिनै दुई खेलाडी सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि शनिबार एकअर्काविरुद्ध भिड्दैछन् ।

विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्र क्लब र भरत खवासको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लब लिगको अन्तिम खेलमा खेल्दैछन् । यही खेलबाट उपाधि विजेता टुंगो लाग्नेछ । लिगको अन्तिम खेल शनिबार दिउँसो साढे १ बजे दशरथ रंगशालामा हुनेछ ।

शुक्रबार एन्फाले आयोजना गरेको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले अन्तिम खेलको लागि तयार भएको र उपाधि जित्न खेल्ने बताए ।

हुन त लिगमा फाइनल हुँदैन । तर यसपटक लिगको अन्तिम खेलमा अंक तालिकाको शीर्ष दुई टोली रहेको पनि फाइनल जस्तै हुनेछ ।

१२ खेलबाट २९ अंकसहित आर्मी पहिलो र समान खेलबाट २८ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा छ ।

आर्मीले अन्तिम खेलमा मच्छिन्द्रविरुद्ध बराबरी खेले पनि उपाधि जित्नेछ । मच्छिन्द्रले भने उपाधि जित्न आर्मीलाई हराउनै पर्नेछ ।

विराजले गत सिजन मनाङ मर्स्याङ्दीको कप्तानका रुपमा लिग उपाधि जितेका थिए । यस पटक उपाधि जित्न अन्तिम खेल जित्नैपर्ने उनले बुझेका छन् ।

आर्मी र मच्छिन्द्र दुवैलाई भोलिको खेल महत्वपूर्ण छ । ‘हामी उपाधि जित्ने लक्ष्यकै साथ खेल्छौं,’ विराजले भने । दुवै टिमका कप्तान एउटै ब्याचको र राष्ट्रिय टिममा पनि सँगै खेलिसकेकाले अहिले फरक क्बलबाट खेल्दा छुट्टै उत्साह रहेको विराज र भरतले बताए ।

यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपाने र मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पनि एकै पुस्ताका खेलाडी थिए । यी दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि जित्न चाहन्छन् ।

बराबरीले मात्र लिग जितिने भए पनि अन्तिम खेल जितेरै लिग उपाधि जित्ने लक्ष्य रहेको आर्मीका प्रशिक्षक न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment