Comments Add Comment

एनएनआईपीए स्पोर्ट्स अवार्डमा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोद्वारा दुई पुरस्कार प्रायोजन

२ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ मा दुई प्रतिभावान खेलाडीलाई नगद ५० हजार रुपैयाँले सम्मान गरिने भएको छ ।

एक महिला र एक पुरुष युवा खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिने एनएनआईपीएले शुक्रबार जनाएको छ । त्यसका लागि एनएनआईपीएले अमेरिकाको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको साथ पाएको छ ।

यही फागुन ६ गते बसन्त डबलीमा आयोजना हुने अवार्डका शुक्रबार एनएनआईपीएले एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोसंग पाँच वर्षको सम्झौता गरेको छ । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट तेक्वान्दोका प्रतिनिधि बलराम कार्कीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एभरेष्ट तेक्वान्दोले थप गरिएको दुई नयाँ अवार्ड विधा प्रतिभावान खेलाडी अवार्डका लागि प्रायोजन गरेको हो । ‘हामीले अहिले वार्षिक १ लाख दिने गरी पाँच वर्षको सम्झदता गरेका छौं । त्यसबाट दुई प्रतिभावान खेलाडीलाई ५०-५० हजार रुपैयाँ प्रदान गर्नेछौँ’ एनएनआईपीए अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापछि भने, ‘यसले नयाँ खेलाडीलाई अझै प्रेरित गर्ने विश्वास छ ।’

यस्तै एभरेष्ट तेक्वान्दोका प्रतिनिधि बलराम कार्कीले नेपाली खेलकुदमा जोडिन पाउँदा खुशी लागेको बताए ।

एनएनआईपीए स्पोर्ट्स अवार्डको १४ औं संस्करणमा विभिन्न २८ खेलका उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिनेछ । गत वर्ष इन्डोनेसियामा आयोजना भएको १८ औं एसियन गेम्समा सहभागिता जनाएको खेल र प्रदर्शनको आधारमा खेलाडीलाई सम्मान गर्ने जनाएको छ ।

यस वर्ष २८ खेलका एक-एक उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ । उत्कृष्ट खेलाडीले नगद १०-१० हजार रुपैयाँ पाउनेछन् । त्यही २८ खेलमा उत्कृष्ट भएकाहरुमध्ये एक-एक महिला र पुरुष खेलाडी छनोट गरेर प्रतिभावान पुरस्कार दिइने एनएनआईपीएका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै २८ खेलका उत्कृष्ट त्यसमध्येबाट उत्कृष्ट एक महिला र एक पुरुष खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा गरिनेछ । उत्कृष्ट पुरुष र महिला खेलाडीले नगद १-१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस पटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, प्याराग्लाइडिङ, भारोत्तोलन, लन टेनिस, कबड्डी, फेन्सिङ, स्क्वास, सेपाकताक्रो, साइक्लिङ, स्पोर्ट्स क्लाईम्बिङ, पेन्कक सिलात, कुराँस, रोलर स्पोर्ट्स, बास्केटबल, तेक्वान्दो,  ब्याडमिन्टन,  ट्रायथलन, कराते, जुडो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्तीका उत्कृष्ट खेलाडीलाई सम्मानित गरिनेछ । सम्बन्धित संघको सिफारिसको आधारमा खेलाडीलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी नेपालको पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ सम्मानबाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले ३५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

एकजना खेल पत्रकारलाई नगद २५ हजारसहित एनएनआईपीए पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment