Comments Add Comment

गण्डकी प्रदेश सरकारको २ वर्षका ३० उपलब्धी (सूचीसहित)

‘आधार बन्यो अब प्रदेश बन्छ’

२ फागुन, पोखरा । गण्डकी प्रदेश सरकार गठनको आइतबार २ वर्ष पूरा हुँदैछ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २०७४ फागुन ४ गते सपथ लिएकै दिन बसेको मन्त्रिपरिषद बैठकले २ वटा निर्णय गरेको थियो ।

ती थिए –दुई वर्षभित्र उज्यालो प्रदेश बनाउने र सबै घरधुरीमा आधारभूत खानेपानीको पहुँच पु¥याउने । २ वर्षको अवधिमा सरकारले यो लक्ष्य पूरा गर्न सकेन । ४ गते स्थापना दिवस मनाउन लागिरहेको सरकारले शुक्रबार २ वर्षको अवधिमा भएका ३० उपलब्धी सार्वजनिक गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारको उपलब्धी सार्वजनिक गर्दै भने, ‘२ वर्षभित्र आधारभूत खानेपानी पु¥याउने र उज्यालो प्रदेश बनाउने लक्ष्यमै काम गर्‍यौं । केही दिनमा समीक्षा हुन्छ र यथार्थ बाहिर आउँछ ।’

प्रदेश सरकारले प्रदेशको नामाकरण र राजधानी तोक्ने कामलाई पहिलो उपलब्धी मानेको छ । प्रदेशसभाले २०७५ असार १८ गते प्रदेशको राजधानी पोखरा तोकेको थियो । सोही वर्ष असार २२ गते प्रदेशको नाम गण्डकी नामाकरण गरिएको थियो ।

सुरुमा संघीय सरकारले प्रदेशलाई काम गर्ने वातावरण सिर्जना नगरिदिँदा काममा अवरोध भएको मुख्यमन्त्री गुरुङले बताएका थिए । कानुनी बाटो खोलिदिनेदेखि, संरचना, कर्मचारीको व्यवस्थापनसम्मका संघीय सरकारको असहयोग रहेको बताउँदै आएका मुख्यमन्त्री गुरुङले अहिले सहज बन्दै गइरहेको बताउँछन् ।

हाल प्रदेश सरकारका १ सय ५४ वटा निकाय र कार्यालय स्थापना भई सेवा प्रवाह तथा विकास निर्माणका कार्य भइरहेको सरकारले बताएको छ ।

प्रदेश सरकारका दुई वर्षका मुख्य उपलब्धिमा ३२ वटा कानुन निर्माणलाई पनि मानिएको छ । उपलब्धिको दोस्रो बुँदामा प्रदेशले दुई वर्षको अवधिमा ३२ वटा कानुन, ६ वटा नियमावली र २ वटा गठन आदेश स्वीकृत भएको अर्थमन्त्री गुरुङले बताए ।

प्रदेशले खानी तथा खनिज, पर्वतारोहण, विद्युत, वन र जलस्रोत बापत २८ करोड ५८ लाख ८९ हजार रोयल्टी प्राप्त हुनुलाई पनि सरकारे उपलब्धि मानेको छ ।

नवलपुरको धौबादीमा फलाम कम्पनी सञ्चालन गर्न प्रदेशलाई ३ प्रतिशत शेयर बापत १२ करोड लगानी गरेको र संघीय सरकारलाई गण्डकी प्रदेशको शेयर १५ प्रतिशत र्पुयाएर ६० करोड शेयर लगानीका लागि नेपाल सरकारलाई अनुरोध गरेको सरकारले सार्वजनिक गरेको उपलब्धिको अन्तिम बुँदामा उल्लेख छ ।

सरकारले २ वर्षमा ३ वटा बजेट ल्यायो । पहिलो बजेट १ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको सरकारले दोस्रो २४ अर्ब २ करोडको बजेट ल्याएको थियो ।

अहिलेको ३२ अर्ब १३ करोड ४७ लाखको बजेट कार्यन्वयनमा छ । अघिल्लो आर्थिक वर्षमा अपेक्षाकृत बजेट खर्च गर्न नसकेको सरकारले यो आर्थिक वर्षमा सतप्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको छ । विकास निर्माणका निम्ति तर्जुमा भएको बजेट सतप्रतिशत नै खर्च गर्ने अर्थमन्त्री गुरुङको दाबी छ ।

प्रदेश नीति तथा योजना आयोग गठन भई गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र, २०७६/७७ र २०८०/८१ सार्वजनिक गरी सोही अनुसार योजनाको दस्तावेज तर्जुमा कार्य अन्तिम चरणमा रहेको गुरुङले बताए ।

आर्थिक वर्ष २०७६/०७७ मादोस्रो त्रिवर्षीय मध्यमकालीन खर्च संरचना, २०७६/७७ र २०७८/७९ सार्वजनिक गरी कार्यान्वयन भइरहेको गुरुङको भनाइ छ ।

प्रदेश सरकारले गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षालय स्थापना मुख्य प्राथमिकतामा राखेको थियो । स्याङ्जाको फेदीखोलामा प्राविधिक विश्वविद्यालय स्थापना गर्न संघीय सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको र गण्डकी विश्वविद्यालय स्थापना गर्ने कार्य अब छिटै साकार हुन लागेको भन्दै अर्थमन्त्री गुरुङले उपलब्धि सुनाए ।

कानुन र बजेटको व्यवस्था भइसकेको छ । पदाधिकारी तथा कर्मचारी छनोट तथा व्यवस्थापनको प्रक्रिया अगाडि बढिसकेको गुरुङले बताए ।

प्रदेश लोक सेवा आयोगको कानुन तथा बजेट स्वीकृत भइसकेको छ भने पदाधिकारी तथा कर्मचारीको छनौट तथा व्यवस्थापनको प्रक्रिया अगाडि बढेको छ ।
स्वस्थ खाद्यान्न उत्पादन, वितरण र उपभोगको बानी बसाउन स्याङ्जाको राम्दी र तनहुँको दमौलीमा द्रुत विषादी अवशेष परीक्षण केन्द्र स्थापना भएको गुरुङले बताए ।

१० वटा स्थानीय तहहरु (घिरिङ, गलकोट, सुन्दरबजार, बन्दीपुर, लोमान्थाङ, चुमनुब्री, नार्पाभूमि, हुप्सेकोट, विनयी त्रिवेणी र रघुगंगा) मा प्रहरी चौकी तथा कार्यालय निर्माण कार्य भइरहेको भन्दै सरकारले उपलब्धिमा समेटेको छ ।

पुणिटारमा औद्योगक क्षेत्र स्थापना गर्ने कार्य अघि बढिरहेको अर्थमन्त्री गुरुङले बताए । संघीय सरकारको साझेदारीमा एक स्थानीय तह एक उद्योग ग्राम अन्तर्गत ६ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको कार्य अगाडि बढेको उनको भनाइ छ ।

पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालमा सिल्टेसन बाँध र फेवातालको ड्यामसाइडमा माछापुच्छ्रेको छायाँसँगै झण्डाको छायाँसमेत देखिने गरी नेपालको झण्डा निर्माण गर्ने कार्य भइरहेको अर्थमन्त्री गुरुङले बताए ।

यीबाहेक भौतिक पूर्वाधार निर्माणसँग कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा जनताले महसुस गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको अर्थमन्त्री गुरुङको दाबी छ । आर्थिक वृद्धिदर, गरिबी न्यूनिकरण गर्दै ५ वर्षमा केके गर्ने भन्ने निर्धारित लक्ष्यअनुसार सरकारले योजना कार्यान्वयन गरिरहेको अर्थमन्त्री गुरुङको भनाइ थियो ।

स्थापना दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय प्रांगणमा विशेष कार्यक्रम गरेर सरकारको समीक्षा गर्न लागेको अर्थमन्त्री गुरुङले जानकारी दिए । कार्यक्रमलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्दैछन् ।

गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धी

मिति २०७४ फागुन ४ मा गण्डकी प्रदेश सरकार आफ्नो स्थापनाको दुई वर्षे कार्यकाल पुरा गर्दैछ। यस अवधीमा यस गण्डकी प्रदेश सरकारबाट भए गरेका मुख्यमुख्य उपलब्धीहरुलाई यहाँ प्रस्तुत गरिएको छ।

  • यस अवधीमा प्रदेश सभाको बिक्रम सम्वत् २०७५ साल आषाढ १८ गते बसेको बैठकबाट यस प्रदेशको राजधानी पोखरालाई तोकिएको छ । सम्बत् २०७५ साल असार २२ गते बसेको बैठकबाट यस प्रदेश नं. ४ लाई गण्डकी प्रदेश नामकरण गरिएको छ।
  • गण्डकी प्रदेश सरकार स्थापना भएको यस २ वर्षे अवधिमा जम्मा ३२ वटा ऐन पारित भएका छन् भने सोही ऐन बमोजिम 6… वटा नियमावलीहरु र २ वटा गठन आदेश मन्त्रिपरिषदबाट स्वीकृत भई लागू भएका छन्।
  • गण्डकी प्रदेश सरकार स्थापना भएपश्चात सरकारले तीनवटा बजेट सार्वजनिक गरिसकेको छ । जसअनुसार आर्थिक वर्ष २०७४।७५ का लागि पहिलो बजेट रू.१ अरब  २ करोड., आर्थिक वर्ष २०७५।७६ का लागि दोस्रो बजेट रू.२४ अरब २ करोड ३३ लाख र चालु आर्थिक वर्ष २०७६।७७ का लागि रु. ३२ अरब १३ करोड ४७ लाखको बजेट कार्यन्वयनमा रहेको छ।
  • प्रदेश नीति तथा योजना आयोग गठन भई गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र, २०७६/७७-२०८०/८१ सार्वजनिक गरी सोही अनुसार योजनाको दस्तावेज तर्जुमा कार्य अन्तिम चरणमा रहेको छ।
  • आर्थिक वर्ष २०७६।७७ मा दोस्रो त्रिवर्षीय मध्यमकालीन खर्च संरचना, २०७६/७७-२०७८/७९ सार्वजनिक गरी कार्यान्वयनमा रहेको छ।
  • हाल प्रदेश सरकारका १५४ वटा निकाय/कार्यालयहरु स्थापना भई सेवा प्रवाह तथा विकास निर्माणका कार्य सम्पादन गरिरहेका छन् ।
  • प्रदेश सरकारको मुख्य प्राथमिकताका केन्द्रमा रहेका गण्डकी विश्वविद्यालय, र गण्डकी प्राविधिक शिक्षालय (GTI), को स्थापना गर्ने कार्य अब छिटै साकार रू लिदैछ । कानुन र बजेटको व्यवस्था भइसकेको छ । पदाधिकारी तथा कर्मचारी छनौट तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ ।
  • नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रदेश निजामती सेवा लगायतका अन्य सेवामा निश्पक्ष तथा योग्यतामा आधारित प्रणालीबाट कर्मचारी नियुक्तिका लागि छनौट तथा सिफारिसका लागि प्रदेश लोक सेवा आयोगको कानुन तथा बजेट स्वीकृत भइसकेको छ भने पदाधिकारी तथा कर्मचारीको छनौट तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ ।
  • गण्डकी प्रदेश सरकारको गौरबको रूपमा रहेका गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षालय -GTI स्थापनाको लागि संघीय सरकारले जग्गा हस्तान्तरणको निर्णय गरिसकेको हुँदा जग्गा प्राप्ति भैसकेको छ।
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार संघीय सरकारबाट आर्थिक वर्ष २०७५।७६ को वार्षिक रू.२८ करोड ५८ लाख ८९ हजार रोयल्टी (खानी तथा खनिज, पर्वतारोहरण, विद्युत, बन र जलस्रोत ) वापत प्राप्त भएको छ।
  • प्रदेश सरकारबाट गण्डकी प्रदेशभित्रका ८५ स्थानीय तहलाई दिइने चार प्रकारका वित्तीय समानीकरण अनुदान सशर्त अनुदान समपूरक अनुदान र विशेष अनुदानमध्ये वित्तीय समानीकरण अनुदान बाहेक अन्य अनुदानको लागि कार्यविधि बनाई अनुदान हस्तान्तरण (वित्तीय हस्तान्तरण) गरिएको छ। स्थानीय तहलाई आर्थिक वर्ष २०७५/७६ मा रू.१ अरब २० करोड वित्तीय हस्तान्तरण गरिएकोमा र चालु आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहको प्रशासकीय भवन निर्माण, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान गरी कुल रू. २ अरब ४५ करोड ७८ लाख विनियोजन गरी विनियोजन ऐन, २०७६ तथा तत् तत् कार्यविधिमा तोकिएको समय र शर्तको अधीनमा रही स्थानीय तहको सञ्चित कोषमा अनुदान हस्तान्तरण गरिएको छ।
  • प्रदेश र स्थानीय तहका दोहोरो अधिकार सूचीमा रहेका घरजग्गा लगायतका रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, दहत्तर बहत्तर शुल्क, पर्यटन शुल्क दुईटा सरकारका बीचमा ६०/४० को अनुपातमा कर तथा गैरकर राजस्व बाँडफाँटका लागि प्रदेश विभाज्य कोष तथा स्थानीय विभाज्य कोष खाता खोली सोही अनुसार कर तथा गैरकर राजस्व बाँडफाँट गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा भएको एकल कर प्रशासनको अवधारणा अनुसार सवारी साधन कर प्रदेश सरकारले संकलन गरेको छ भने अन्य कर तथा गैरकर स्थानीय तहले संकलन गरेका छन् । यसरी राजस्व संकलनमा प्रदेश तथा स्थानीय तहले सहकार्य गरिरहेका छन् ।
  • प्रदेश सरकारको समग्र आर्थिक अनुशासन तथा वित्तीय सुशासन र प्रशासनिक क्रियाकलाप व्यवस्थित गराउनको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकको” को मस्यौदा तयार गरिसकेको छ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गरिएको प्रदेश समन्वय परिषद व्यवस्था र यसको उद्देश्य अनुरूपका विषयलाई सम्बोधन गर्न समय समयमै बैठक सम्पन्न गरिएको छ।
  • अन्तर सरकारी वित्त परिषदको बैठकमा गण्डकी प्रदेश सरकारका तर्फबाट कर तथा गैर करका क्षेत्र तथा दायराका विषयमा संघीय कानुनमा पुनःपरिभाषित तथा परिमार्जनका लागि पटकपटक विषय उठान गरिएको छ। ( जस्तैः वनजन्य स्रोतको राजस्व, अन्नपूर्ण संरक्षण क्षेत्र, कृषि आयमा कर )
  • स्वस्थ खाद्यान्न उत्पादन, वितरण र उपभोगको बानी बसाउन स्याङ्जाको राम्दी र तनहुँको दमौलीमा द्रुत विषादी अवशेष परिक्षण केन्द्र स्थापना गरिएको छ।
  • नवलपरासीमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आई सवारीसाधन दर्ता तथा नविकरणको कार्य हुँदै आएकोमा अब छिट्टै सवारी चालक अनुमति पत्र जारी गर्ने गरी समेत स्तोन्नति गरिंदैछ।
  • सहकारी संस्थाको दर्ता नवीकरण प्रवर्द्धन र नियमनका लागि सहकारी रजिष्ट्रारको कार्यालय र पर्यटन क्षेत्रको दर्ता नवीकरण र नियमन जस्ता कार्यका लागि पर्यटन कार्यालय स्थापना भई सञ्चालनमा रहेको।
  • मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सूचना प्रविधिमा आधारित एक्सन रुमको स्थापना गरी प्रदेश भित्र सञ्चालनमा रहेका आयोजनाहरुको कार्यालयबाटनै अनुगमन गर्ने व्यवस्था गरिएको छ। हाल उक्त एक्सन रुम परिक्षणको अवस्थामा रहेको।
  • प्रदेश सरकारको कामकाजसँग सम्बन्धित गुनासा तथा सुझाव र सल्लाहहरु सुन्नको लागि मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको छ।
  • १० वटा स्थानीय तहहरु (घिरिङ, गलकोट, सुन्दरबजार, बन्दिपुर, लोमन्थाङ, चुमनुब्री, नार्पाभूमी, हुप्सेकोट, विनयी त्रिवेणी र रघुगंगा) मा प्रहरी चौकी तथा कार्यालय निर्माण कार्य भइरहेको छ।
  • प्रदेश भित्र खानेपानीको पहुँच पुर्याउनको लागि “एक घर एक धारा” अभियान सञ्चालन गरी आधारभूत खानेपानी सबै घरधुरीमा छिटो भन्दा छिटो पुर्‍याउन संघीय सरकारबाट थप अनुदान प्राप्त भएको छ ।
  • प्रदेश सरकारको प्राथमिकतामा रहेको तथा प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको बैठकलै उज्यायालो प्रदेश बनाउने घोषणा गरे अनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा उज्यालो प्रदेश अभियान सञ्चालन एवं कार्यान्वयन गरिएको।
  • काठे पुललाई स्टिल पुलले विस्थापन गर्ने अभियान अन्तर्गत विद्युत प्राधिकारणसँग मेमोरेन्डम अफ अण्डरस्ट्‍याडिङ्ग अनुसार काठेपुल विस्थापित गर्ने कार्यलाई तीब्रता दिइएको छ।
  • पुणीटारमा औद्योगक क्षेत्र स्थापना गर्ने कार्य अघि बढिरहेको छ।
  • संघीय सरकारको साझेदारीमा एक स्थानीय तह एक उद्योग ग्राम अन्तर्गत ६ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको कार्य अगाडि बढेको।
  • साग खेलकुदको क्रममा पोखरामा सञ्चालित भएका खेलकुदको व्यवस्थापन तथा सञ्चालनका लागि वित्तीय तथा प्रशासनिक सहयोग उपलब्ध गराइएको थियो।
  • आन्तरिक पर्यटन वर्ष, २०१९ सम्पन्न भएको र अहिले छिमेकी देशका पर्यटक वर्ष २०२०, अन्तराष्ट्रिय पर्यटक वर्ष २०२२ मनाइँदै। भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालनमा रहेका।
  • पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालमा सिल्टेशन बाँध र फेवातालको ड्यामसाइडमा माछापुच्छ्रेको छायाँसँगै झण्डाको छायाँसमेत देखिने गरी नेपालको झण्डा निर्माण गर्ने कार्य अघि बढेको।
  • नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा रहेको फलाम खानी उत्खननका लागि नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमा धौबादी फलाम कम्पनी स्थापना गरी थप कार्य अगाडि बढाएको छ । उक्त कम्पनीको चुक्ता पुँजी ४ अरब रूपैयाँ रहेकोमा सोको ३ प्रतिशतले हुने १२ करोड रूपैयाँ प्रदेश सरकारलाई शेयरकोरूपमा लगानी गर्न नेपाल सरकारले कम्पनीको प्रबन्धपत्रमा व्यवस्था गरेकोमा प्रदेश सरकारको शेयर लगानी १५ प्रतिशत पुर्याइ ६० करोड शेयर लगानीका लागि नेपाल सरकारसँग अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment