Comments Add Comment

उपहार गोलमा मछिन्द्र च्याम्पियन, आर्मी अभागी

३ फागुन, काठमाडौं । सायदै कसैले सोचेको थियो होला यस्तो होला भनेर तर फुटबलमा नसोचेकै हुन्छ । मछिन्द्र क्लबले शनिबार पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्दा फाइनलमा विभागीय टोली त्रिभुवन आर्मीलाई हरायो । स्कोर थियो १-० ।

तर मछिन्द्रका खेलाडीले गोल गरेका थिएनन् । आर्मीकै खेलाडीले गोल गरे आफ्नै पोष्टमा । अनि मछिन्द्र भाग्यमानी बन्यो ।

दशरथ रंगशालमा करिब १० हजार दर्शकको अगाडि खेलको ३३औं मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरे । मछिन्द्रका रन्जित धिमालले हानेको फ्रिकिकमा तामाङले हेडर गरेको बल आफ्नै पोष्टमा गोल हुन पुग्यो ।’दुर्भाग्यवश गोल भयो, खेलपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने ।

रेफ्री नविन्द्र महर्जनले निर्धारित ९० मिनेट  र थप गरिएको ५ मिनेटको समय सकिएपछि खेल सकिएको जनाउ दिने ह्विसल के बजाएका थिए आर्मीका खेलाडीहरु मैदानमा घोप्टे मुन्टो लगाएर ढल्न थाले । हुन त आर्मीहरु कहिल्यै थाक्दैनन् हार्दैनन भनिन्छ । तर शनिबार भने दशरथ रंगशालमा उनीहरु हारे फुटबल खेलमा ।

यो हार कति महंगो बन्यो भने पहिलो पटक लिगको उपाधि नजिक पुगेर पनि आर्मी त्यसबाट धेरै टाढा रह्यो । आर्मीले गोल मात्र रोकेको भएपनि उपाधि उठाउने मौका थियो । तर गोल खायो आफ्नै खेलाडीको गल्तीका कारण, अनि नजिकै आएको उपाधि गुम्यो ।

लिगको अन्तिम खेल नै यस्तो थियो कि जसबाट उपाधि विजेताको टुङ्गो हुँदै थियो । साविक विजेता मनाङ मर्स्याङ्दीसहित अन्य क्लब उपाधि होडबाट १२औं चरणपछि नै बाहिरिसकेका थिए । त्यसैले अन्तिम खेलले उपाधिको छिनोफानो गर्दै थियो ।

१४ क्लब सहभागी लिगमा १२ खेलपछि आर्मी २९ अंकसहित शीर्ष स्थानमा थियो । मछिन्द्र एक अंक पछि रहँदै दोस्रोमा थियो । आर्मीले मछिन्द्रसँग बराबरी मात्र खेलेको भएपनि उपाधि जित्यो तर मछिन्द्रलाई जित नै आवश्यक थियो । यस्तोमा आर्मीका खेलाडीले आफ्नै पोष्टमा गोल गरिदिँदा मछिन्द्र गोल नै नगरी उपाधि जित्न सफल भयो ।

जितपछि मछिन्द्रले १३ खेलबाट ३१ अंक जोड्दै पहिलो भएर उपाधि उचाल्यो । आर्मीले समान खेलबाट २९ अंक जोड्यो । यस सिजन मछिन्द्रको प्रदर्शन रह्यो १० जित २ बराबरी र १ हार । आर्मीको नतिजा ९ जित २ बराबरी र २ हार ।

गत वर्ष नन रेलिगेसन लिगमा मछिन्द्रले १४ क्लब मध्ये १३औं भएको थियो । न्यूरोड टिम १४औं भएको थियो । लिगको नियमअनुसार दुई क्लब बी डिभिजनमा घटुवा हुनुपर्ने थियो । तर एन्फाले घटुवा प्रणाली लागु नगर्दा मछिन्द्र र एनआरटीले ए डिभिजनमै रहने अवसर पाए । त्यसवापत उनीहरुले यस सिजन क्रमश: १ र २ अंक गुमाएर ।

ए डिभिजनमै रहनुको फाइदा उठाउँदै मछिन्द्रले १ अंकको ऋण तिरेर पनि उपाधि उचाल्यो ।   कसरी जित्यो त मछिन्द्रले ? मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालको भनाइ मान्ने हो भने आर्मीलाई दबाव थियो तर मछिन्द्रले दबावरहित भएर खेल्यो ।

‘आर्मीलाई बराबरी पनि पर्याप्त थियो तर जितेर नै उपाधि जित्न चाहन्थ्यो । त्यसैले दबाज भयो जस्तो लाग्यो’ कटवालले भने, ‘हामीलाई दबाव थिएन ।’

पहिलो पटक प्रशिक्षकको रुपमा उपाधि जितेपछि आफू सफल भएको उनको प्रतिक्रिया थियो । स्टार खेलाडी जम्मा पारेपनि आफूले उनीहरुसँग राम्रो समन्वय गरेर खेलाएकाले सफलता हात पारेको उनको भनाइ थियो । ३९ वर्षीय कटवालले यसअघि खेलाडीको रुपमा ५९ सालमा थ्री स्टारबाट लिग उपाधि जितेका थिए ।

कटवालले लिगको उत्कृष्ट प्रशिक्षकको अवार्ड समेत जिते ।

यस्तै खेलाडीको रुपमा चार पटक उपाधि जितेका आर्मीका प्रशिक्षक नवीन न्यौपानेको प्रशिक्षकको रुपमा उपाधि जित्ने चाहना भने अधुरै रह्यो । अन्तिम खेलमा पराजित भएपछि निकै निराश देखिएका न्यौपानेले राम्रो खेल्न नसकेको स्वीकार गरे । ‘हामीले एउटा अवसर गुमायौँ । आज राम्रो खेल्न सकेनौँ । मछिन्द्रले राम्रो खेल्यो’ न्यौपानेले भने, खेलाडीको रुपमा ४ पटक लिग जितेको थिएँ । प्रशिक्षकको रुपमा पनि जित्ने अवसर थियो, तर पूरा भएन ।’

आर्मीका कप्तान भरत खवासले पनि उपाधि जित्न नसकेकोमा निराशा व्यक्त गरे । ‘मलाई जुन जिम्मेवारी दिइएको थियो । त्यो पूरा गर्न नसक्दा दु:खी छु’ उनले भने, ‘आज खेलाडीहरुले पछि दबाव लिएको जस्तो लाग्यो ।’

यसअघि पनि २०६३ सालमा आर्मी उपाधि नजिक पुगेर पछि परेको थियो । यस्तै अवस्था थियो । अन्तिम खेलमा पुलिसँग खेल्नुअघि बर्मी अंकतालिकामा अगाडि थियो । तर पुलिससँग पराजित भएपछि आर्मी उपाधिबाट बन्चित भयो । त्यही पुलिसले पहिलो पटक लिग उपाधि जित्यो । त्यसपछि लगातार दुई पटक उपाधि जित्दै पुलिसले ह्याट्रिक नै गर्‍यो । आर्मीले भने १३ वर्षपछि त्यस्तै अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन ।

मछिन्द्रलाई च्याम्पियन बनाउन सफल कप्तान विराज महर्जनले लगातार कप्तानको रुपमा दुई फरक क्लबलाई उपाधि दिलाएपछि खुशी व्यक्त गरे ।

उनले लिगभरी नै टिमले राम्रो खेलेकोले सफल भएको बताए । ‘मछिन्द्रकF लागि यो एकदमै खुशीको क्षण हो । लिगभरी सबैले राम्रो खेले । सबैलाई धन्यवाद’ उनले भने ।

प्रशिक्षक कटवाल बाहेक मछिन्द्रका खेलाडी विशाल राई उत्कृष्ट मिडफिल्डर चुनिए । उनले खेलाडीहरुले क्लबले खर्च गरे अनुसारको नतिजा दिन सफल भएको बताए । व्यक्तिगत रुपमा अवार्ड जित्दा र क्लबले पनि उपाधि जित्दा एकदमै खुशी भएको अनुभव सुनाए । यस्तै एक खेल मात्र खेलेर च्याम्पियन बनेका विमल घर्ती मगरले पनि आफ्नो लागि यो खुशीको क्षण भएको सुनाए । ‘मेरो लागि यो पहिलो लिग उपाधि हो ।  एकदमै खुशी छु’ विमलले भने ।

गत कात्तिकमा नाइट क्लब काण्डका कारण कुवेत विरुद्धको विश्वकप छनोट खेल गुमाउँदै ९० दिन निलम्बनमा परेका विमलले यसै खेलबाट फुटबलमा पुनरागमन गरेका छन् । निलम्बनकै कारण उनले लिगमा १२ खेल खेल्न पाएनन् । तर अन्तिम खेलअघि मछिन्द्रमा अनुबन्ध हुँदै विमलले पहिलो पटक लिगको उपाधि जित्ने मौका पाए ।

उनले मछिन्द्र क्लबबाट अब नकआउट प्रतियोगिताहरु समेत खेल्ने बताए । विमल मछिन्द्रसँग २ महिनाका लागि अनुबन्ध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment