Comments Add Comment

बर्दीमा उभिने मात्र होइन, परिणाम दिने प्रहरी बन्नुस्ः उपत्यका प्रहरी प्रमुख

४ फागुन, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले आमसर्वसाधारणले परिवर्तनको महसुस गर्ने गरी कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा मातहतका सबै प्रहरी इकाइका अधिकृतहरुलाई निर्देशन दिँदै उनले परिणाममुखी प्रहरी चाहिएको बताए ।

पोखरेलले भने, ‘बर्दी लगाएर बाटो मात्र उभिने र उपस्थिति जनाउने मात्र प्रहरी हामीलाई चाहिएको होइन । प्रहरी सेवामा परिवर्तनको अनुभूति दिलाउने प्रहरी चाहिएको हो ।’

उनले ड्यूटी परिचालनमा कमजोरी देखिए ठाउँको ठाउँ कारबाही गर्ने पनि बताए । ‘तपाईको विकल्पमा अरू कोही छैन भन्ने अहम कहिल्यै नपाल्नु होला’, आक्रोशित हुँदै पोखरेलले भने, ‘तपाईँ विशेष हो/होइन भन्ने कुरा तपाईको कार्यसम्पादनले, शान्ति सुरक्षामा ल्याएको परिवर्तनले निर्धारण गर्दछ ।’

उनले उपत्यकाको प्रहरीलाई वाह ! भन्ने बताउन कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिएका छन् ।

‘सरकारको पहिलो तस्विर नेपाल प्रहरी हो । त्यसैले सुधारको अगुवाई पनि नेपाल प्रहरीले नै गर्नुपर्छ’, उनले भनेका छन् ।

पोखरेलले १० वर्षअघिको पुलिसिङलाई अहिलेसँग तुलना गरेर कमजोर पुलिसिङमा नरमाउन पनि भनेका छन् ।

उनले भनेका छन्, ‘बरु म कसरी छुट्टै पहिचान हुने गरी पुलिसिङ गर्ने भनेर चिन्ता गर्नुस् ।’

‘राजधानी जस्तो संवेदनशील क्षेत्रको कमाण्डरका रूपमा उल्लेख्य परिवर्तन पनि ल्याउन नसक्ने र परिणाम दिन नसक्ने तर सरूवा बढुवाको समयमा अवसरको खोजी गर्ने प्रवृत्ति मान्य हुन सक्दैन’, उनले भने, ‘संगठनले तपाईँको नेतृत्व क्षमता र व्यवसायिकताको मुल्याङ्कन गरिनै रहने छ ।’

उनले नेतृत्व परिवर्तन पश्चात माथिल्लो दर्जामा भएको अवकाशको समयमा जनतामा एक प्रकारको कौतुहलता सृजना भएको बताउँदै भने, ‘यस्तो अवस्थामा सरकारले हामीलाई पूर्ण विश्वास गरेको छ । सरकारको विश्वासमा हामीले आफ्नो व्यवसायिकता, रचनात्मकता र परिणाममुखी कार्यसम्पादनको माध्यमद्वारा आफूलाई प्रमाणित गर्नु जरूरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment