+
+

सांसदको व्यङ्ग्य कविता : सफलतै सफलता प्राप्त गर्‍यौं, सुदूरलाई समृद्ध गरायौं !

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ फागुन ४ गते १७:१०

४ फागुन, धनगढी ।

चुरेको जङ्गल फडानी गर्ने गरी राजधानी बनाउने निर्णय गरायौं
यातायातको सुविधा दिने गरी प्रदेश बस सञ्चालनमा ल्यायौं
सफलतै सफलता प्राप्त गर्‍यौं, सुदूरलाई समृद्ध गरायौं
दुई वर्ष नपुग्दै शान्ति सुशासन र विकासको चाङ लगायौं !

यो आइतबारको प्रदेशसभा बैठकमा विपक्षी राष्ट्रिय जनता पार्टीका सांसद कृष्ण चौधरीले प्रदेश सरकारलाई व्यङ्ग्य गर्दै सुनाएको कविता हो । सांसद चौधरीले प्रदेश सरकारलाले केही गर्न नसकेको भन्दै व्यङ्ग्य स्वरूप कविता सुनाएका थिए ।

सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्सबारे पनि उनले कवितामार्फत नै व्यंग्य गरे ।

कुनै पनि प्रदेशमा नभएको अग्लो लामो सुविधा सम्पन्न एम्बुलेन्स सुदूरमा भित्रायौं
बिरामी बोक्ने सवारी साधनमा जङ्गली जनावर ओसार्न मद्दत पुर्‍यायौं
सफलतै सफलता प्राप्त गर्‍यौं, सुदूरलाई समृद्ध गरायौँ
दुई वर्ष नपुग्दै शान्ति, सुशासन र विकासको चाङ लगायौं !!

विपक्षी सांसदहरूले मात्रै होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदहरूले पनि सरकारले तीव्र गतिमा काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

नेकपा सांसद लिलाधर भट्टले सरकारले काममा सुस्तता देखाएको भन्दै चर्को आलोचना गरे । उनले बजेट बिनयोजन गरेर पनि काम नभइरहेको भन्दै आफ्नै सरकारप्रति आक्रोश पोखे । ‘रोजगार सृजना गर्न भन्दै १ अर्व पैसा गत वर्ष छुट्टायौँ । यो आर्थिक वर्षको सात महिना भइसक्यो । अहिले सम्म पनि पहल अगाडि बढेको हामी देख्दैनौं’ उनले भने, ‘हामीले गत वर्ष पनि प्रदेश बस सञ्चालन गर्ने भन्दै २० करोड पैसा छुट्टायौँ । त्यो पनि अझै हुन सकेको छैन ।’

नेकपाका अर्का सांसद महेशदत्त जोशीले पनि प्रदेश सरकारले गति लिन नसकेको टिप्पणी गरे ।

उनले सङ्घीय सरकारबाट छुटेका योजना कार्यान्वयन गर्ने विषयमा पनि प्रदेश सरकार कमजोर देखिएको बताए । ‘कार्यान्वयनमा छुटेका सङ्घीय सरकारका योजनाहरू प्रदेश सरकारले कार्यान्वयन गर्न सकिरहेको छैन’ उनले भने, ‘त्यसै कारण करोडौँका खानेपानी योजनाहरू अहिले पनि अलपत्र छन् ।’

सांसद नेपालु चौधरीले पनि सरकार निकै सुस्त रहेको तथा योजना छनोट गर्दा पनि समस्या हुने गरेको बताइन् । ‘कसैका बढी योजना हुन्छन्, कसैका कम’ उनले भने, ‘प्रदेश योजना आयोग बनाउने भनेका थियौं । त्यो केहि भइरहेको छैन ।’

सत्तारुढ दलकै सांसदहरूले सरकारको आलोचना गरिरहेका बेला प्रतिपक्षी दलका सांसदहरूले पनि सरकार आफ्नो काममा पूर्ण जिम्मेवार नभएको आरोप लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकार सुशासन कायम गराउन पनि असफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?