Comments Add Comment

प्रारम्भिक टोलीमा किन परेनन् किरण र रोहित ?

४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०२२ को विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा हुने अष्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध खेल्ने नेपाली टोलीको प्रारम्भिक सूची घोषणा गर्दा कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाम अटाएन । डिफेण्डर रोहित चन्दको नाम पनि परेन ।

पछिल्लो पटक विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेतविरुद्ध खेल्दा दुवै खेलाडीले पहिलो रोजाइमै खेलेका थिए । यस्तै विराज महर्जन टिममा पर्न छाडेपछि गोलकिपर किरणले नै नेपालको कप्तानी आर्मब्याण्ड लगाउँदै आएका छन् ।

त्यसैले किरण टिममा नपर्दा सबैको चासो हुनु स्वाभाविक हो ।

के उनीहरु फिट नभएर टिममा नपरेका हुन् त ? त्यो पनि पनि होइन ।

रोहित गत सिजन इन्डोनेसियाको लिग सकेर बिदा मनाउन नेपाल आएका थिए । त्यसबेला जाकार्तासंग उनको अनुबन्ध सकिएको थियो । तर इन्डोनेसियामा नयाँ सिजन चाँडै शुरु हुने र रोहित पनि सम्झौता नवीकरणको प्रकियामा रहेकोले नेपालको कुनै क्लबमा खेलेनन् ।

दुवै खेलाडी अहिले विदेशमा खेलिरहेका छन् । किरण भारतीय लिग आई लिगमा मिनेर्भा पञ्जाबबाट खेलिरहेका छन् । उनले मिनेर्भाबाट आई लिगसमेत जितिसकेका छन् । उनी दोस्रो पटक पञ्जावी क्लबमा अनुबन्ध भएर खेलिरहेका छन् । अनि रोहितले इन्डोनेसियामा पर्सिजा जाकार्ताबाट इस्ट जाभा कप खेलिरहेका छन् र क्लबले हालै मात्र थप दुई वर्षका लागि अनुबन्ध गरेको छ ।

विदेशमा व्यवसायिक फुटबल खेलिरहेका कारण दुबैले शनिबार सकिएको नेपालको घरेलु लिग भने खेल्न पाएनन् । त्यसैले अहिले नेपालमै लिग खेलेका खेलाडीलाई मात्र समेटेर प्रारम्भिक टोली घोषणा गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

‘उनीहरु अहिले विदेशी लिग खेलिरहेका छन् । अहिले यहाँ उपलब्ध खेलाडीलाई मात्र क्याम्पका लागि छनोट गरिएको हो’ राईले अनलाइनखबरसँग भने, ‘पछि उनीहरुलाई क्याम्पमा समावेश गरिनेछ ।’

रोहित गत सिजन इन्डोनेसियाको लिग सकेर बिदा मनाउन नेपाल आएका थिए । त्यसबेला जाकार्तासंग उनको अनुबन्ध सकिएको थियो । तर इन्डोनेसियामा नयाँ सिजन चाँडै शुरु हुने र रोहित पनि सम्झौता नवीकरणको प्रकियामा रहेकोले नेपालको कुनै क्लबमा खेलेनन् ।

किरण भने भुटानबाट फर्किएलगत्तै आई लिग खेल्न भारत गएका थिए । यस्तै कुवेतविरुद्ध पहिलो रोजाईमा खेलेका फरवार्ड अभिषेक रिजाल पनि हाल माल्दिभ्समा खेलिरहेकाले प्रारम्भिक सूचीमा परेका छैनन् । उनलाई पनि पछि क्याम्पमा सहभागी गराउन सकिने एन्फा प्रवक्ता राईले जानकारी दिए ।

अहिले प्रारम्भिक चरणमा ३१ खेलाडीलाई छनोट गरिएको छ । शहीद स्मारक ए डिभिजन लिग २०७६ मा गरेको प्रदर्शनको आधारमा मुख्य प्रशिक्षक योहान कलिनले ३१ खेलाडीलाई क्याम्पमा बोलाएको एन्फाले जनाएको छ ।

शनिबार लिगको अन्तिम खेलमा मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो पटक लिग उपाधि जितेको थियो । अभिषेकले ८ खेल मछिन्द्रबाट खेलेका थिए । तर प्रदर्शन सोचेअनुरुप हुन सकेन । त्यसपछि उनी माल्दिभ्सको बी डिभिजन लिग खेल्ने गरी जेजे स्पोर्ट्स क्लबमा अनुबन्ध भएका हुन् । त्यही क्लबबाट नेपालकै गोलकिपर अर्पण कार्कीले समेत खेलिरहेका छन् ।

विदेशमा खेलिरहेका किरण, रोहित र अभिषेकबाहेक अन्य खेलाडीको हकमा भने प्रशिक्षकले चाहेमा अझै पनि क्याम्पमा बोलाउन सक्ने प्रवक्ता राईले जानकारी दिए । ९० दिन लामो प्रतिबन्ध सकेर लिगको अन्तिम खेल मछिन्द्रबाट खेलेका विमल घर्ती मगरका साथै सन्तोष तामाङलगायतका खेलाडी प्रारम्भिक सूचीमा परेका छैनन् । भुटान जानुअघि नाइट क्लब गएर कारबाहीमा परेका विमल र सन्तोषसहित अन्जन विष्ट र दिनेश राजवंशीले कुवेतविरुद्धको खेल खेल्न जानै पाएनन् ।

यस्तै नेपाल यू–२३ टिमले घरेलु मैदानमै १३ औं सागमा स्वर्ण जित्दा विमल, अन्जन र दिनेशले खेल्न पाएनन् । साग खेल्ने टिममा उनीहरुलाई तीन खेलाडीले रिप्लेस गरेका थिए । सन्तोषत भने २३ वर्ष माथिको भएकाले साग टिममा थिएनन् ।

एन्फाको अनुशासन समितिले अन्जन र सन्तोषलाई ४५ दिन र विमल र दिनेशलाई ९० दिनको निलम्बन गरेको थियो । अन्जन र सन्तोषले निलम्बन फुकुवापछि आधा लिग खेले । अन्जनले पुनरागमनपछि उत्कृष्ट प्रदर्शन गर्दै लिगमा ६ गोल गरे । त्यही प्रदर्शनका कारण उनले राष्ट्रिय टिममा पनि पुनरागमन गरे ।

सन्तोषले आर्मीका लागि ४ गोल गरे । तर सबै खेलमा उनको प्रदर्शन एकनास थिएन । विमल र दिनेशले निलम्बन फुकुवापछि लिगमा अन्तिम एक खेल मात्र खेल्न पाए । विमलले मछिन्द्रबाट खेल्द लिग उपाधि जिते भने दिनेशले च्यासल युथ क्लबबाट खेले ।

फागुन १८ बाट बन्द प्रशिक्षण

विश्वकप छनोटका लागि नेपाली खेलाडीहरुको बन्द प्रशिक्षण फागुन १८ देखि सुरु हुनेछ ।

खेलाडीहरु मोफसलको प्रतियोगितामा व्यस्त रहने भएकाले क्याम्प फागुन तेस्रो साताबाट शुरु गर्ने एन्फाले जनाएको छ । यद्यपि फागुन र चैतमा नकआउट प्रतियोगिताहरु पनि छन्, जसको क्यालेण्डर एन्फाकै सहमतिमा आएको हो ।

नेपालले विश्वकप छनोट अन्तर्गत दुई होम म्याच मार्च २६ र ३१ मा दशरथ रंगशालमा खेल्दैछ । मार्च २६ चाइनिज ताइपेईसँग र मार्च ३१ मा अष्ट्रेलियासँग नेपालले खेल्दैछ ।

विश्वकप छनोटको समूह बी मा रहेको नेपालले चार टिमसँग अवे म्याच खेलिसकेको छ । यस्तै कुवेतसँग घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि दशरथ रंगशाला तयार नभएका कारण भुटानमा भएको थियो । अब नेपालले घरेलु मैदानमा खेल्नुपर्ने तीनवटा खेल बाँकी छ ।

अहिलेसम्म ५ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ । नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० ले पारजित गरेको थियो । दुवै गोल अन्जन विष्टले गरेका थिए । त्यसबाहेक नेपाल कुवेतसँग दुबै खेलमा हार व्यहोर्‍यो भने अवे म्याचमा अष्ट्रेलिया र जोर्डनसँग पनि पराजित भएको छ ।

नेपालले २ गोल गर्दा १६ गोल खाएको छ । र, ५ टोली सहभागी समूहमा नेपाल ३ अंकसहित चौथो स्थानमा छ । ४ खेल खेलेको अष्ट्रेलिया शतप्रतिशत जितसहित १२ अंक जोडेर शीर्ष स्थानमा छ । समूहको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटमा अगाडि बढ्नेछन् भने सन् २०२३ मा चीनमा हुने एसिया कप खेल्नेछ । दोस्रो हुने टोलीमध्ये उत्कृष्ट ४ टोली सिधै एसिया कपमा छनोट हुनेछन् भने बाँकी टिमले एसिया कप छनोट खेल्ने मौका पाउनेछ ।

एसियाबाट अहिले ४० टोलीले विश्वकप छनोट खेलिरहेका छन्, जसमध्ये अन्तिम हुने चार टिम भने एसिया कप छनोटबाट पनि बाहिरिनेछ ।

प्रारम्भिक टोली

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेण्डर : रन्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लिक्तान

मिडफिल्डर : विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अन्जन बिष्ट

फरवार्ड : जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment